
– (दिनेश लामा काभ्रेली राजनितिमा नयाँ नाम होइन । लामो समय पत्रकारितामा सक्रिया हुदै काभ्रेली राजनितिमा सक्रिया लामा नेपाली कांग्रेसको पुर्व जिल्ला सचिब समेत हुन । लामा नेपाली कांग्रेस १४ औ माधिवेशन बाट काभ्रे प्रतिनिधि सभा १ को सभापतिमा निर्वाचित भएका थिए । जिल्लामा नेपाली कांग्रेस पार्टी भित्र पार्टीको बिभिन्न कार्यक्रमहरुमा उच्च योदगान दिदै आएका लामा राजनितिको अलवा सामाजिक क्षेत्रमा समेत सक्रिया रहदैआएकाछन् । जिल्लामा सामाजिक कार्यहरु जोडिदै लामाले बिद्यालय, समुदाय क्षेत्रमा लामो काम गरेको अनुभाव समेत छन् । उनै लामालाई नेपाली कांग्रेस काभ्रेले जिल्लाको रोशी गाउँ पालिका अध्यक्षको लागि उम्मेदवार बनाएर निर्वाचानको लागि अघि सारेकाछन् । रोशी गाउँपालिका गठबन्धनको तर्फ बाट अध्यक्ष उम्मेदवार रहेका लामा संग काभ्रे हेडलाईनले गरिएको कुराकानी ।)
घरदैलो अभियान कसरी सञ्चालन भइरहेको छ ?
बैशाख १८ गतेदेखि रोशी गाउँपालिकाको वडा नं १ बाट शुरु गरेका हौँ घरदैलो अभियान सबै वडाहरुमा पुगेर सकिएको छ । केहि छुटेका वडाका बस्तीहरुमा संयुक्तरुपमा भेटघाट घरदैलो चलिरहेको छ । घर दैलो वडा नं १ देखि वडा नं १२ सम्म पुगेर घेटघाट गर्ने छलफल गर्ने अभियान चलिरहेको छ ।
घरदैलो अभियानमा जनताको प्रतिकृया कस्तो पाउनुभएको छ ?
मतदाताको घरदैलोमा पुग्दै गर्दा मतदाताहरूको भावना हामीले के देख्यौँ भने, यो समाजलाई विकास गर्नु छ भने सवै मिलेर नै विकास गर्न सकिन्छ । हामी पार्टी(पार्टी बिचको सधै टकराव, एक खालको प्रतिस्पर्धामा जानु भन्दा पनि सवै दलहरू मिलेर, सहकार्य गरेर, एकता र सहमतिमा नै अगाडी बढ्यौँ भने शान्ति, बिकास, स्थिरता र यो हाम्रो समाजको रुपान्तरण हुन्छ भन्ने मतदाताहरूबाट हामीले पायाँै ।
अघिल्लो निर्वाचनमा पनि रोशी गाउँपालिका नेपाली कांग्रेसले नै जितेको स्थानी तह हो । अहिले गठबन्धनसहित चुनावमा होमिदा जित्नेमा कतिको विश्वस्त हुनुहुन्छ ?
वास्तवमा, निर्वाचन एउटा प्रकृया हो । स्थानीय सरकार कसले सञ्चालन गर्ने भनेर छनोट गर्ने एउटा माध्यम हो । हामी हाम्रो जितको लागि मात्र हिडीरहेका छैनौँ, मतदाताहरूको टाउको गन्ने र मतको हिसाब गर्ने हो भने हामी धेरै नै अगाडी हुन्छांै । हाम्रो अभियान हामीले जित्नु मात्र हैन, रोशी गाउँपालिकालाई अहिलेको जनताले कसरी हेर्ने चाहेको छ त रु २१ औँ शताव्दीको गाउँ कस्तो हुनु पर्छ र त्यहा“को बासिन्दाले कस्तो खालको सेवा सुविधा पाउनु पर्छ भनेर त्यो खालको अभियानमा हामी हिडेका छौँ । र आम रोशीबासी जनताहरूलाई कसरी समृद्धि तर्फ लाने र रोशी गाउँपालिकालाई कसरी विकासतर्फ अगाडी लाने भन्ने बिषयमा बढी केन्द्रित छौँ ।
गठबन्धनका साझा एजेण्डा के छन् ?
मुलुकमा अहिले राजनीतिक रुपमा दुई वटा धार देखिन्छ । एउटा राजनीति धार हेर्यौ भने २००७ सालको २०४६ सालको र त्यसपछिको १० बर्षे जनयुद्ध र वलीदानीपूर्ण १९ दिने आन्दोलन २०६२र०६३ को आन्दोलन छ । र त्यो आन्दोलनबाट प्राप्त जुन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था छ, त्यो व्यस्वस्थालाई सुनिश्चित गरेको २०७२ को संविधान छ । त्यो संविधानलाई बचाएर अगाडी जाने एउटा धार छ भने र त्यो संविधानलाई मिचेर जाने अर्को धार छ । र हाम्रो पाँचदलीय गठबन्धनको एउटा साझा एजेण्डा, संविधानलाई र त्यो उपलब्धिलाई रक्षा गर्दै अग्रगमन, विकास तर्फ र समृद्धि तर्फ जानेकुरा हो र त्यसमा हामी सवै गठबन्धनका दलहरू एकताबद्ध भएर अगाडी बढीरहेका छौँ । हाम्रो अहिलेको मूल उद्देश्य भनेकै ७५ बर्षकै संघर्षको उपलब्धी हाशिल गरेका छौँ, त्यो उपलब्धीलाई हामीले मिचेर कुल्चेर अगाडी बढ्ने खालको केपी ओली शैली छ नी, त्यो शैलीलाई परास्त गर्ने हाम्रो साझा एजेण्डा हो । गाउँपालिकालाई कसरी समृद्ध बनाउन सक्छौँ र २१ औँ शताव्दीको समाज कस्तो हुन्छ र २१ औँ शताव्दीको जनताले चाहेको स्थानीय सरकार कस्तो हुन्छ, त्यो सरकार हामीले कसरी निर्माण गर्न सक्छौँ भन्नेमा हामी बढी केन्द्रित छौँ । त्यसमा सवै खाले कुराहरू जोडिएर आउँछ । पूर्वाधार बिकास, जनचेतना, शिक्षा, स्वास्थ्य, खानेपानीका धेरै कुराहरू आउन सक्छन् । र हाम्रो अहिलेको मूलतः साझा एजेण्डा भनेको यहाँका विकास निर्माणका कुराहरू नै हुन् । अघिल्लो स्थानीय सरकारले नै प्रारम्भ गरिसकेको चौकी डाँडा(साधीखोला( शिखर हुदै फलामेसाँघु जोड्ने सडकलाई कालोपत्रे गर्ने हाम्रो पहिलो अजेण्डा छ । प्रत्येक वडाका वस्तीहरू जोड्ने सडकलाई हामीले बाह्रै महिना मोटर चल्ने गरी स्तरोन्नती गर्ने र क्रमशः कालोपत्रे गर्दै लैजाने हाम्रो अजेण्डा छ । गाउँपालिकाका सबै घरधुरीमा स्वस्थ खानेपानी उपलब्ध होस भनेर एक घर एक धाराको योजना अघि सार्नेछांै । गाउँपालिका भित्रका पर्यटकीय स्थानहरु जुन छन्, यो पर्यटकीय क्षेत्र पनि यहाँका जनताको आम्दानीको स्रोत हुन सक्छ । यहाँका तीनधारे झरना, ताराखसे लेक, भूमीचुली डाँडा र चैतेपानी लेक लगायत सम्भावित पर्यटकीय क्षेत्र छन् । त्यसलाई हामीले संरक्षण गरेर अगाडी बढाउने हो भने गाउँपालिका भित्र पर्यटकीय रुपमा नमुना गाउँपालिका बनाउने हाम्रो उद्देश्य छ । विपी राजमार्ग वरीपरि पनि हामीले डम्फू पार्क, बुद्ध पार्क बनाई रहेका छौँ । तीे योजना सम्पन्न भएपछि गाउँपालिका भित्र अधिकतम पर्यटकहरू भित्राउने हाम्रो लक्ष्य छ । २१ औँ शताव्दीको शिक्षा प्रविधिमैत्री हुनुपर्छ र शिक्षा हासिल गरीसकेपछि कम्तीमा शिक्षा हासिल गरेका व्यक्ति खाडी मुलुकमा गएर ५० डिग्रीको तातोमा पसिना चुहाएर दुख गर्नु नपरोस्, हाम्रै ठाउँमा त्यो शिक्षा लिई सकेपछि हाम्रै गाउँठाउँमा रोजगार लिन सकोस भन्ने लक्ष्य छ । शिखरआम्बोटेमा सञ्चालित कृषि विद्यालयको रुपमा विकास गर्ने हाम्रो योजना छ । मंगलटार हुन सक्छ अथवा कालढुंगा क्षेत्रमा हुनसक्छ या अन्य विभिन्न क्षेत्रमा हुन सक्छ, प्राविधिक शिक्षा प्रदान गरेर यहाँका मान्छेहरूलाई सिपमुलक शिक्षाको व्यवस्था गर्ने हाम्रो अर्को एउटा साझा संकल्प छ ।
त्यस्तै, परम्परागत अवस्थामा सञ्चालन भइरहेको कृषि प्रणालीलाई हामीले आधुनिक प्रणालीको रुपमा परिणत गरेर यहाँको किसानहरूको आयआर्जन मा सूधार गर्ने योजना बनाएका छा । कुन प्रविधि अथवा कुन खालको सिप दिदाखेरी किसानहरूले गाउँको जग्गाबाट पर्याप्त आम्दानी, उत्पादन गर्न सकिन्छ, त्यसको लागि हामीले कृषीमा परिर्वतन गर्न जरुरी छ । कषि क्षेत्रको विकास हामीले साझा एजेण्डाको रुपमा लिएका छौँ । यहाँका आम गर्भवती, जेष्ठ नागरिक, अपांगता भएकाहरुको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी गर्नको लागि गाउँ घरमै सुविधासम्पन्न सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने हाम्रो प्रयास हुनेछ । रोशीको माथील्लो भेगको लागि फलामेसाँघुमा १५ शैयाको अस्पताल निर्माण हुदै छ । त्यो अस्पताललाई सम्पन्न गरेर त्यो क्षेत्रलाई सर्वसुलभ स्वास्थ्य सेवा पुर्याउने लक्ष्य छ । तल्लो क्षेत्रका लागि मंगलटार अथवा चार सय कहाँ हुन्छ, त्यहाँ पनि हामीले स्वास्थ्य इकाईहरू सञ्चालन गरेर त्यहाँका जनतालाई स्वास्थ्य सेवाको पहुच पुर्याउने हाम्रो लक्ष्य छ । साथै जेष्ठ नागरिक, अपांगता भएका, गर्भवती महिलाहरूको स्वास्थ्य उपचार सकेसम्म निःशुल्क गर्न हामी लागि परेका छांै । एउटा परिवारले एक बर्षमा ३५ सय रुपैया तिरेर एक लाखसम्मको उपचार खर्च पाउने स्वास्थ्य विमा कार्यक्रमलाई टोल(टोलमा विकास गर्ने हाम्रो लक्ष्य छ । आम्दानी कम भएका एकल महिला, अन्य मानिसहरुको पहिचान गरेर उनीहरूलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने हाम्रो लक्ष्य छ ।
मतदाताको अपेक्षा चाँही कस्तो पाउनुभयो ?
जनतासँग हामीले बुझ्दा उहाँहरुको प्राथमिकता पूर्वाधारमा देखिन्छ । पूर्वाधार विकासको लागि सडक, खानेपानी, विद्युतको कुराहरू हामीले प्राथमिकतामै राख्ने छौँ । सरकारहरु शासक भन्दा सेवक बनुन् भन्ने उहाँहरुको अपेक्षा छ । अव बन्ने स्थानीय सरकार सुशासनयुक्त, भ्रष्टाचारहित स्थानीय सरकार बनाउनु पर्नेछ, सोही अपेक्षा उहाँहरूले गरेको हामीले पाएका छौं ।
अन्त्यमा, मतदाताहरूलाई के भन्न चाहनुहुन्छ ?
हाम्रो समाज र गाउँपालिकालाई यो भन्दा पनि विकसित र समृद्ध बनाउनका लागि, नमूना बनाउनको लागि गठबन्धनको उम्मेदवारहरूलाई उहाँहरूले सहयोग गर्नुहुन्छ भन्ने विश्वास छ । आगामी बैशाख ३० गते हुने निर्वाचनमा अध्यक्षमा रुख चिन्हमा र उपाध्यक्षमा गोलाकार भित्र हसिया हथौडामा मतदान गरेर यो गठबन्धनको अध्यक्ष, उपाध्यक्षलाई विजय गराउनको लागि अपिल गर्दछु । वडा तहमा मित्रवत प्रतिस्पर्धा गरेर अगाडी बढ्नको लागि अपिल गर्दछु ।

तपाईको प्रतिक्रिया