आज घटस्थापना, बिहान ११:४७ बजे उत्तम साइत

असोज २५ गते । नेपालीहरूको महान् पर्व बडादशैँ आजदेखि सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदाका दिन आज घरघरमा वैदिक विधिअनुसार घटस्थापना गरी जमरा राखिँदै छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज घटस्थापनाको उत्तम साइत बिहान ११ बजेर ४७ मिनेटमा रहेको जनाएको छ । समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार आज दिनभर चित्रा नक्षत्र पर्ने भएकाले शास्त्रीय मान्यताअनुसार मध्याह्नकालको अभिजित् मुहूर्तमा घटस्थापनाको साइत निर्धारण गरिएको हो ।

सूर्योदयकालमा प्रतिपदा परेको दिन घटस्थापना गर्नुपर्ने शास्त्रीय मान्यताअनुसार आजकै दिन घटस्थापना गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो । सामाजिक सञ्जालमा घटस्थापना सोमबार गर्नुपर्ने भन्दै फैलाइएको भ्रम शास्त्रसम्मत नभएको उहाँको भनाइ छ ।

बडादशैँको पहिलो दिन आज घरघरमा दियो, कलश र गणेश स्थापना गरी दुर्गा भवानीको पूजा आराधना गरिन्छ । पूजा कोठा वा दशैँघरमा विधिपूर्वक जौ छरेर जमरा राख्ने परम्परा छ । जौको अङ्कुर दुर्गा भवानीको प्रिय वस्तु मानिने भएकाले विजया दशमीका दिन टीका र प्रसादसँगै पहेँलो जमरा ग्रहण गरिन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष रामचन्द्र गौतमका अनुसार शास्त्रीय विधिअनुसार जौकै जमरा राख्नुपर्छ । कतिपयले गहुँ र मकैको जमरा राख्ने गरे पनि जौबाहेक अन्य अन्नको जमरा राख्ने शास्त्रीय विधि नरहेको उहाँ बताउनुहुन्छ ।

घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र भनिन्छ । नवरात्रका नौ दिन दुर्गा भवानीका नौ स्वरूप शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको क्रमशः पूजा आराधना गरिन्छ ।

बडादशैँको सातौँ दिन फूलपाती भित्र्याउने परम्परा छ । महाअष्टमी र महानवमीका दिन दशैँघर, कोत तथा शक्तिपीठमा विशेष पूजा गरिन्छ । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवतलगायत धार्मिक ग्रन्थ र स्तोत्र पाठ गर्ने चलन छ ।

यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवती, भद्रकाली र मैतीदेवीसहित देशभरका शक्तिपीठमा दर्शन तथा पूजाआराधना गर्ने भक्तजनको भीड लाग्ने गर्छ ।

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने बडादशैँलाई धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको पर्वका रूपमा लिइन्छ । धर्मशास्त्रका जानकारहरूका अनुसार दशैँलाई मानव कल्याण र सकारात्मक शक्तिको प्रतीकका रूपमा समेत व्याख्या गरिन्छ ।

यस वर्षको विजया दशमीको टीका कात्तिक ४ गते परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले टीका लगाउने उत्तम साइत बिहान १० बजेर २६ मिनेट निर्धारण गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया