चोरी तथा डाँका घटनामा पाँचखालका पाँच जना पक्राउ

भक्तपुरको चाँगुनारायण नगरपालिका–२, दुवाकोटमा भएको चोरी तथा डाँका घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार असोज २० गते त्रिपुरा सुन्दरी खाद्य स्टोरका सञ्चालक तीर्थबहादुर काकीले पसल बन्द गरेर घर फर्किने क्रममा मोटरसाइकलमा आएका व्यक्तिहरूले कुटपिट गरी उनले लगाएको सुनको सिक्री लुटेर फरार भएका थिए।

घटनाबारे प्राप्त सूचनाका आधारमा प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले असोज २१ गते चाँगुनारायण नगरपालिका–२ दुवाकोटबाट पाँच जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकामाथि चोरी तथा डाँका सम्बन्धी कसुरमा भक्तपुर जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–१ निवासी २५ वर्षीय सुमन लामा, ३२ वर्षीय कर्णबहादुर तामाङ, २१ वर्षीय कुमार तामाङ, १९ वर्षीय विजय तामाङ र ३२ वर्षीय केनाम सिंह तामाङ रहेका छन्।

प्रहरीले घटनामा प्रयोग भएको आशंकामा बा ९१ प १२०७ नम्बरको २०० एनएस पल्सर र प्रदेश ३–०२–००१ प ४६९२ नम्बरको २२० पल्सर मोटरसाइकलसमेत बरामद गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया