बनेपा/दशै तिहारजस्ता चाडपर्वमा रगतको अभाव हुने गर्दछ । रगतको अभावलाई पुर्ती गर्ने उदेश्यले जिल्ला सहकारी संघ काभ्रेले खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
समुदायसँगको सम्बन्धलाई थप मजबुत बनाउँदै जिल्ला सहकारी संघ लि., काभ्रेले रक्तदान र स्वास्थ्य सचेतनालाई एउटै अभियानमा जोडेको उल्लेख गरेको छ ।
संघको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत धुलिखेल नगरपालिका–५, श्रीखण्डपुर चोकमा आयोजित बृहत् रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविरमा ६२ जनाले रक्तदान गरेका छन् भने करिब ९० जनाले स्वास्थ्य परीक्षण सेवा लिएको संघले जनाएको छ ।
सामाजिक सेवाप्रति समुदायको सहभागिता बढाउने र सर्वसाधारणलाई सहज रूपमा आधारभूत स्वास्थ्य परीक्षणको अवसर उपलब्ध गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो । शिविरमा सुगर, प्रेसरलगायतका स्वास्थ्य परीक्षण गर्नुका साथै छालासम्बन्धी समस्याका लागि निःशुल्क स्किन टेस्ट तथा स्वास्थ्य परामर्श प्रदान गरिएको थियो ।
जिल्ला सहकारी संघ लि., काभ्रेको सामुदायिक विकास तथा अतिरिक्त क्रियाकलाप उपसमितिको आयोजनामा सम्पन्न कार्यक्रममा रक्तदानतर्फ पनि सहभागीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । रक्तदान गर्ने रक्तदाताहरूलाई मायाको चिनो तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखा र बनेपा हेल्थ केयरको प्राविधिक सहयोग रहेको थियो । लायन्स क्लब अफ श्रीखण्डपुरले संयोजन गरेको कार्यक्रममा रोटरी क्लब अफ पनौती विशेष सहयोगीका रूपमा सहभागी भएको थियो ।
कार्यक्रमलाई सफल बनाउन ब्लोदान काभ्रे, काभ्रे महिला उद्यमी मञ्च, सौन्दर्य कला व्यवसायी संघ काभ्रे, कस्मेटिक व्यवसाय संघ काभ्रे, बृहत् बहुउद्देश्यीय सहकारी संस्था लि., लक्ष्मी महिला साकोस, सनलाइट साकोस, रोटरी क्लब अफ धुलिखेल, लायन्स क्लब अफ काठमाडौं पूर्व क्षितिज काभ्रे, लायन्स क्लब अफ काभ्रे बनेपा, लायन्स क्लब अफ पनौती, लायन्स क्लब अफ बनेपा सिटी, लायन्स क्लब अफ बनेपा भ्याली, काभ्रे लेडिज जेसिज, हलि नेवा गुठी काभ्रे मिसा कचा लगायतका विभिन्न संघसंस्था तथा सामाजिक क्षेत्रका संस्थाहरूको सहकार्य रहेको थियो ।
कार्यक्रममा सहभागी हुँदै जिल्ला सहकारी संघ लि., काभ्रेका का.मु. प्रमुख कार्यकारी अधिकृत सुजित श्रेष्ठले संघले सामाजिक उत्तरदायित्वलाई आफ्नो संस्थागत गतिविधिको महत्वपूर्ण पाटोका रूपमा अघि बढाउँदै आएको बताउनुभयो ।
उहाँले समुदायको आवश्यकता र सरोकारलाई केन्द्रमा राखेर सञ्चालन गरिने कार्यक्रमले संघको सामाजिक भूमिका थप प्रभावकारी बनाउने उल्लेख गर्नुभयो ।
श्रेष्ठका अनुसार रक्तदानजस्तो मानवीय सेवाका कार्यक्रम र स्वास्थ्य सचेतनामूलक गतिविधिले समुदायमा प्रत्यक्ष प्रभाव पार्छन् । उहाँले कार्यक्रमलाई सफल बनाउन विभिन्न संघसंस्था र समुदायबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो ।
जिल्ला सहकारी संघ लि., काभ्रेका अध्यक्ष अमन पोटे श्रेष्ठले कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्णमा विशेष धन्यवाद व्यक्त गर्नुभयो। उहाँले रक्तदान गर्ने रक्तदाता, स्वास्थ्य परीक्षणका लागि सहभागी सर्वसाधारण, स्वास्थ्यकर्मी, प्राविधिक टोली, स्वयंसेवक तथा सहकार्य गर्ने सम्पूर्ण संघसंस्थाको योगदानको प्रशंसा गर्नुभयो ।
अध्यक्ष श्रेष्ठले सामाजिक उत्तरदायित्व कुनै एक दिनको गतिविधिमा सीमित नराखी निरन्तर सामाजिक सेवाका रूपमा अघि बढाउनुपर्ने बताउनुभयो। संघले आगामी दिनमा पनि समुदायको हित र आवश्यकतालाई ध्यानमा राखी सेवामूलक कार्यक्रम सञ्चालन गर्दै जाने उहाँले बताउनुभयो ।
कार्यक्रमका संयोजक पूर्ण सागर रञ्जितले संघले आगामी दिनमा सामाजिक उत्तरदायित्वअन्तर्गत थप विविध कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो। उहाँले स्थानीय
समुदायको आवश्यकता पहिचान गरी स्वास्थ्य, शिक्षा, वातावरण, मानवीय सेवा तथा जनचेतनाका क्षेत्रमा कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो ।
रञ्जितले श्रीखण्डपुरमा भएको कार्यक्रम विभिन्न क्षेत्रका संस्थाबीचको सहकार्यको उदाहरण भएको बताउँदै आगामी दिनमा पनि यस्ता साझेदारीलाई निरन्तरता दिइने उल्लेख गर्नुभयो ।
उहाँका अनुसार सामाजिक अभियानलाई प्रभावकारी बनाउन संघसँगै सहकारी क्षेत्र, सामाजिक संस्था, क्लब, व्यवसायिक क्षेत्र र स्थानीय समुदायलाई एउटै उद्देश्यमा जोडेर अघि बढ्ने प्रयास गरिनेछ ।
कार्यक्रममा देखिएको सहभागिताले सामाजिक सेवाका गतिविधिप्रति समुदायको चासो र सहयोगको भावना बढ्दै गएको देखाएको आयोजकको भनाइ छ ।
रक्तदानमार्फत मानवीय सेवामा योगदान र निःशुल्क स्वास्थ्य परीक्षणमार्फत स्वास्थ्य सचेतना फैलाउने उद्देश्यले सम्पन्न शिविरले जिल्ला सहकारी संघ लि., काभ्रेको सामाजिक उत्तरदायित्वप्रतिको सक्रियतालाई थप स्थापित गरेको छ ।
सामाजिक उत्तरदायित्व बहन गर्दै जिल्ला सहकारी संघ
2026-10-08T20:04:12+05:45

तपाईको प्रतिक्रिया