रसुवाको उत्तरगया गाउँपालिकाका एक दुग्ध किसान बिहानै दूध बोकेर संकलन केन्द्र पुग्छन्। तर यसपटक उनको चिन्ता दूध उत्पादन कम हुनु होइन, संकलन भएको दूध बजारसम्म पुग्छ कि पुग्दैन भन्ने हो। बाढीले सडक अवरुद्ध भएपछि काठमाडौं जाने बाटो रोकिएको छ। दूध संकलन केन्द्रमा थुप्रिएको छ, तर बजारसम्म पुग्ने सुनिश्चितता छैन। किसानको आँखामा एउटै प्रश्न छ– “यति दुःख गरेर उत्पादन गरेको दूध खेर जाने त होइन ?”
भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीपछि रसुवाका धेरै किसान यस्तै अन्योलमा छन्। मानवीय क्षति र उद्धारको पीडा त छँदैछ, त्यसको छायाँमा पशुपालन व्यवसाय पनि संकटमा परेको छ। बाढीले गोठ बगाएको वा पशुचौपाया मारेको विवरण अझै पूर्ण रूपमा संकलन भइसकेको छैन। तर पशुपालनको आधार मानिने दाना, दूध र बजारको चक्र भने बाढीले नराम्ररी प्रभावित बनाएको छ।
पशु सेवा विभागको निर्देशनमा खाद्य तथा कृषि संगठन (एफएओ) को सहयोगसहित परिचालित प्राविधिक टोलीले भदौ ११ र १२ गते रसुवाका उत्तरगया, कालिका र नौकुण्ड गाउँपालिकामा स्थलगत निरीक्षण गर्दा किसानका यिनै चिन्ता प्रत्यक्ष सुन्ने अवसर पायो।
किसानका समस्या केवल खेत वा गोठमा सीमित छैनन्। सडक अवरुद्ध हुँदा कुखुरापालक किसान दानाको अभाव झेलिरहेका छन्। व्यवसायिक फार्ममा हजारौं कुखुरा छन्, तर दाना पुर्याउने गाडी आउन सकेका छैनन्। कतिपय किसानका कुखुरा बिक्रीका लागि तयार भइसकेका छन्, तर बजारसम्म लैजान नसक्दा फार्ममै रोकिएका छन्।
एक कुखुरापालक किसानले भने, “बाढीले फार्म बगाएन, तर बाटो बन्द हुँदा व्यवसाय नै रोकियो। दाना आउँदैन, कुखुरा बेच्न पाइँदैन। अब कसरी धान्ने भन्ने चिन्ता छ।”
दुग्ध किसानको अवस्था पनि फरक छैन। दैनिक उत्पादन हुने दूध समयमै संकलन र ढुवानी हुन नसक्दा आर्थिक क्षति बढ्दै गएको छ। दूध जस्तो छिट्टै बिग्रने वस्तुमा केही दिनको अवरोधले नै किसानको महिनौँको मेहनत खेर जान सक्छ।
स्थलगत भ्रमणका क्रममा किसानहरूले राहतभन्दा पनि उत्पादनलाई बजारसँग जोड्ने व्यवस्था मिलाउन आग्रह गरेका थिए। “हामीलाई अनुदानभन्दा पहिले दूध बेच्ने बाटो चाहिएको छ,” एक किसानले टोलीसँग भनेका थिए।
प्राविधिक टोलीले तत्कालका लागि भोर्ले–पर्च्याङ–शरमथली–बाहुनबेशी–चौघडा–छहरे सडकमार्गलाई वैकल्पिक रूपमा प्रयोग गरी दाना, तयारी कुखुरा र दूध ढुवानी गर्न सकिने सुझाव दिएको छ। यो मार्ग पूर्ण समाधान नभए पनि किसानलाई केही राहत दिन सक्ने अपेक्षा गरिएको छ।
बाढीपछिको अवस्थाले अर्को महत्वपूर्ण पाठ पनि सिकाएको छ। विपद्को समयमा मानव उद्धार नै पहिलो प्राथमिकता हुन्छ, हुनुपर्छ पनि। अहिले राज्यका सबै संयन्त्र मानिसको खोज, उद्धार, राहत र पुनःस्थापनामा केन्द्रित छन्। तर गाउँघरको अर्थतन्त्रको मेरुदण्ड मानिने पशुपालन क्षेत्रलाई पनि सँगसँगै ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ।
ग्रामीण परिवारका लागि एउटा गाई, भैंसी, बाख्रा वा कुखुराको फार्म केवल सम्पत्ति मात्र होइन, परिवार चलाउने आधार हो। त्यसैले विपद्को असर कम गर्न पशुपन्छीको उद्धार, उपचार, जैविक सुरक्षा तथा पुनःस्थापनाका कार्यक्रमलाई पनि सँगसँगै अगाडि बढाउनुपर्ने देखिएको छ।
अहिले रसुवाका किसानहरू ठूलो राहतको प्रतीक्षामा छैनन्। उनीहरूको अपेक्षा यति मात्रै छ—दूध बजार पुग्न सकोस्, कुखुराले दाना पाओस्, र बाढीपछि जीवन फेरि सामान्य लयमा फर्कियोस्। विपद्ले बगाएको सडकभन्दा ठूलो क्षति किसानको मनमा पलाएको अनिश्चितता हो, जसलाई पुनःस्थापनाको यात्राले मात्र मेट्न सक्छ।

तपाईको प्रतिक्रिया