जिल्ला सहकारी संघ काभ्रेबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ लाख ५९ हजार ५ सयको योगदान

बनेपा/ रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले देशभर पीडा र चिन्ता फैलाइरहेका बेला सहकारी क्षेत्रले पनि मानवीय उत्तरदायित्व निर्वाहमा अग्रसरता देखाएको छ ।
जिल्ला सहकारी संघ लिमिटेड -डिस्कोफ) काभ्रेपलाञ्चोकले बाढी प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ लाख ५९ हजार ५ सय सहयोग गरेको छ ।
संघले जारी गरेको अपिल अनुसार भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण ठूलो मानवीय क्षति, भौतिक संरचनामा विनाश तथा जनजीवनमा गम्भीर असर परेकोप्रति गहिरो दुःख व्यक्त गरेको छ । प्राकृतिक विपत्तिको यस घडीमा प्रभावित समुदायको साथमा उभिनु सामाजिक उत्तरदायित्व भएको भन्दै संघले सहयोग रकम संकलन गरी कोषमा जम्मा गरेको जनाएको छ ।

संघका अध्यक्ष अमन पोटे श्रेष्ठद्वारा हस्ताक्षरित अपिलमा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, कर्मचारी तथा संघको संयुक्त योगदानबाट उक्त रकम संकलन गरिएको उल्लेख छ । सहकारी अभियानको मूल मर्म आपसी सहयोग, सहकार्य र सामाजिक उत्तरदायित्व भएको भन्दै विपद्को समयमा नागरिकको दुःखमा साथ दिनु प्रत्येक सहकारी संस्थाको दायित्व भएको संघको धारणा छ ।
जिल्ला सहकारी संघ काभ्रेका कामु प्रमुख कार्यकारी अधिकृत सुजित श्रेष्ठका अनुसार संघले सामाजिक उत्तरदायित्व वहन गर्दै सो रकम सरकारको कोषमा जम्मा गरेको उल्लेख गर्नुभयो ।
भोटेकोशी क्षेत्रमा आएको बाढीले सडक, पुल, जलविद्युत् आयोजना, सार्वजनिक संरचना तथा स्थानीय बासिन्दाको जीवनयापनमा गम्भीर क्षति पु¥याएको छ । धेरै परिवार विस्थापित भएका छन् भने कतिपय अझै राहत र पुनःस्थापनाको प्रतीक्षामा छन् । यस्तो अवस्थामा विभिन्न क्षेत्रबाट जुटिरहेको सहयोगले पीडित परिवारलाई केही राहत पुग्ने विश्वास गरिएको छ ।
जिल्ला सहकारी संघले काभ्रेपलाञ्चोकका सम्पूर्ण सहकारी संस्था तथा सहकारीकर्मीलाई आफ्नो आर्थिक क्षमता र सामथ्र्यअनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न आग्रह गरेको छ । साथै विपद् प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका अभियानमा प्रत्यक्ष सहभागी हुन समेत आह्वान गरेको छ ।

सहकारी क्षेत्रले केवल वित्तीय कारोबारमा सीमित नभई सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्दै आएको उदाहरणका रूपमा यस सहयोगलाई हेरिएको छ । विपत्तिको घडीमा सहकारी संस्थाहरूको एकता, सद्भाव र सहकार्यले पीडित समुदायमा आशा जगाउने विश्वास संघले गरेको कामु प्रमुख श्रेष्ठले जनाउनुभयो ।

तपाईको प्रतिक्रिया