
काठमाडौँ, साउन १३ गते। अग्रज साहित्यिक पत्रकार तथा साहित्यकार नगेन्द्रराज शर्माले स्थापना गरेको साहित्यिक पत्रिका ‘अभिव्यक्ति’ को निरन्तरतामै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने वक्ताहरूले बताएका छन्।
नेपाल स्रष्टा समाज, अभिव्यक्ति परिवार र नगेन्द्रराज शर्मा (नराश) साहित्यिक पत्रकारिता पुरस्कार कोषको संयुक्त आयोजनामा मंगलबार राजधानीमा सम्पन्न शोकसभामा सहभागीहरूले शर्माको स्मरण गर्दै उहाँले जीवनभर जोगाएको साहित्यिक पत्रकारिताको परम्परालाई अघि बढाउनु नै उहाँप्रतिको सम्मान हुने धारणा राखे।
अग्रज साहित्यिक पत्रकार तथा रचना का प्रधान सम्पादक रोचक घिमिरेले शर्मासँगको दशकौँ लामो सहकार्य स्मरण गर्दै राजनीतिक परिवर्तनका कारण आफूले रचना पत्रिका बन्द गर्नुपरे पनि शर्माले अभिव्यक्ति लाई निरन्तरता दिएको बताए। उनले अभिव्यक्ति को प्रकाशनलाई निरन्तर राख्नु नै शर्माप्रतिको सच्चा श्रद्धाञ्जली हुने उल्लेख गर्दै त्यसका लागि सबैको सहयोग आवश्यक रहेको बताए।
नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले पनि शर्मालाई सम्झने सबैभन्दा प्रभावकारी उपाय उहाँले गरेका सिर्जनात्मक र सामाजिक कार्यहरूको अनुकरण गर्नु भएको बताए। उनले अभिव्यक्ति को निरन्तरताका लागि साहित्यिक समुदाय एकजुट हुनुपर्नेमा जोड दिए।
शोकसभामा दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त, नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष मोहन दुवाल, साहित्यिक पत्रकार राधेश्याम लेकाली, कवि विधान आचार्यलगायतले शर्माको योगदानको चर्चा गर्दै नेपाली साहित्यिक पत्रकारितामा उहाँले पुर्याएको योगदान दीर्घकालसम्म स्मरणीय रहने बताए।
वक्ताहरूले शर्मालाई उदार, सहृदयी, सरल र साहित्यिक पत्रकारिताप्रति समर्पित व्यक्तित्वका रूपमा स्मरण गरे। उनीहरूले उहाँले भाषा, साहित्य र साहित्यिक पत्रकारिताको विकासमा खेलेको भूमिकाले नयाँ पुस्तालाई प्रेरित गरिरहने विश्वास व्यक्त गरे।
कार्यक्रमको प्रारम्भमा शर्माको तस्वीरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो। कार्यक्रममा साहित्यकार किशोर पहाडी, ज्ञानुवाकर पौडेल, डा. नवराज रिजाल, प्रणयराज शर्मा, त्रिभुवनचन्द्र वाग्ले, शुकदेव उपाध्याय, तारा सुवेदीलगायतले शर्मासँगका आफ्ना अनुभव र सम्झना साझा गरेका थिए।
‘अभिव्यक्ति’ का प्रधान सम्पादक तथा नराश साहित्यिक पत्रकारिता पुरस्कार कोषका अध्यक्ष पवन आलोकको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सदस्य सचिव देविका तिमिल्सिनाले गरेकी थिइन् भने धन्यवाद ज्ञापन कोषाध्यक्ष शंकर भारतीले गरेका थिए।
अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको गत असार ३१ गते ८९ वर्षको उमेरमा निधन भएको थियो। उहाँ नेपाली साहित्यिक पत्रकारिताका एक विशिष्ट हस्ताक्षरका रूपमा परिचित हुनुहुन्थ्यो।

तपाईको प्रतिक्रिया