“बिपी : दलभन्दा माथि उठेका राष्ट्रिय नेता”

नेपालको आधुनिक राजनीतिक इतिहासमा विश्वेश्वरप्रसाद कोइराला (बिपी) केवल एउटा राजनीतिक दलका नेता वा पूर्वप्रधानमन्त्रीका रूपमा मात्र सीमित हुनुहुन्न । उहाँ राष्ट्रिय जागरणका प्रणेता, प्रजातन्त्रका पर्याय तथा सिद्धान्तनिष्ठ दूरदर्शी राजनीतिज्ञ हुनुहुन्थ्यो । बिपीलाई कुनै पनि नेपालीले नेपाली कांग्रेसको नेताका रूपमा मात्र हेर्नु हुँदैन । धेरै व्यक्ति पार्टीको आधारमा नेता हुन्छन् तर उहाँ दल विशेषको मात्र नेता हुनुहुन्न । बिपी एउटा प्रजातन्त्रवादी, एउटा राष्ट्रवादी नेता हुनुहुन्थ्यो । नेपालको जनचेतना र राष्ट्रिय जनजागरण २००७ सालको क्रान्तिबाट आयो, त्यसका प्रणेताका रूपमा मैले बिपीलाई हेरेको छु । मुलुकको प्रजातान्त्रिक आन्दोलन, राष्ट्रियताको संवर्धन र जनचेतना अभिवृद्धिमा पु¥याउनुभएको योगदानका कारण बिपी सर्वमान्य राष्ट्रिय नेताका रूपमा स्थापित हुनुभयो ।

विसं २००७ को क्रान्तिदेखि जीवनको अन्तिम क्षणसम्म उहाँले देखाउनुभएको निष्ठा, साहस र विचारले नेपाली राजनीतिलाई निरन्तर दिशानिर्देश गरिरहेको छ । बिपीको स्मृति दिवसका अवसरमा उहाँसँगका ऐतिहासिक प्रसङ्ग, उहाँको जनपक्षीय अडान र सङ्घर्षशील व्यक्तित्वको स्मरण गर्नु प्रत्येक प्रजातन्त्रप्रेमी नेपालीका लागि गौरवको विषय हो ।

बाल्यकालको पहिलो झलक

बिपीसँगको पहिलो प्रत्यक्ष स्मृति मेरो जन्मथलो सिन्धुलीको दुम्जा (हाल सुनकोशी गाउँपालिका) सँग जोडिएको छ । कोइरालाहरूको जन्मथलो तथा बिपीका बुवा कृष्णप्रसाद कोइरालाको जन्मस्थान दुम्जा हो र त्यो मेरो पनि जन्मभूमि हो । विसं २०१० मा म १० वर्षको छँदा दुम्जाको भन्ज्याङस्थित पाटीमा बिपी कोइराला, रामनारायण मिश्र, सूर्यप्रसाद उपाध्यायलगायतका नेता कांग्रेसको सङ्गठन विस्तारका क्रममा पुग्नुभएको थियो ।

त्यतिबेला दुम्जामा खानेपानीको घोर सङ्कट थियो । गाउँलेले कोइरालालाई प्रतीकात्मक असन्तोष जनाउँदै नेतालाई खाना खाएपछि हातमुख चुठ्न पानी दिएनछन् । म त केटाकेटी थिएँ । मातृकाप्रसाद कोइराला प्रधानमन्त्री हुनुभयो, के भयो र बिपी गृहमन्त्री हुनुभयो तर यो गाउँका लागि के भयो ? आफ्नै जन्मथलोमा खानेपानीको समस्या समाधान हुन नसकेको भन्दै गाउँलेले देखाएको त्यो लाक्षणिक विरोध थियो । त्यो मैले बिपीलाई पहिलो पटक नजिकबाट देखेको क्षण थियो ।

बिपीसँग दोस्रो भेट विसं २०१६ मा भयो । म काठमाडौँमा कक्षा ७ मा पढ्दा कवि धरणीधर कोइरालाले सिंहदरबारमा लानुभयो । उहाँ मेरो काका हुनुहुन्थ्यो । दुम्जामा हाइस्कुल स्थापनाको माग गर्दै उहाँले तत्कालीन प्रधानमन्त्री बिपीसँग भेट गर्न सिंहदरबार लानुभएको रहेछ । त्यो निवेदनमा उहाँले मलाई पनि सही गर्न लगाउनुभएको थियो । उक्त निवेदनमा सिन्धुलीको दुम्जामा स्कुल बनाउन पहल गर्न माग गरिएको थियो । प्रधानमन्त्री बिपीसमक्ष निवेदन पेस गर्दा उहाँले शिक्षा र गाउँको विकासप्रति देखाउनुभएको चासो विशेष थियो ।

सुन्दरीजलको कालो सुट

विसं २०१४ मा राजा महेन्द्रले संविधान सभाको चुनावको साटो आमचुनावमा बल्लबल्ल सहमति जनाउनुभयो । कसैको बहुमत आउँदैन भन्ने रिपोर्ट कसैले दिएकाले राजा चुनावमा जान तयार भएका थिए । त्योबेला १०९ क्षेत्र थिए । ७४ सिट कांग्रेसले पायो । राष्ट्रिय गोरखा परिषद् १९, कम्युनिस्ट चार, प्रजापरिषद् टङ्कप्रसाद र भद्रकाली दुई/दुई केआईसिंहको राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच सिट जितेका थिए । बिपी संसदीय दलको नेता भएको तीन महिनापछि मात्र प्रधानमन्त्री बन्नुभएको हो । राजाले सुवर्ण शमशेरलाई प्रधानमन्त्री बनाउन गरेको प्रस्ताव अस्वीकार गर्दै सुवर्ण शमशेरले बिपीको नाम लिएपछि उहाँ प्रधानमन्त्री बन्नुभएको हो । बिपी २०१५ सालको आमनिर्वाचनबाट नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको हो । नेतृत्व गरेको १८ महिनामै विसं २०१७ पुस १ गते राजा महेन्द्रबाट प्रजातन्त्रमाथि प्रहार गर्दै पञ्चायतको घोषणा भयो । जननिर्वाचित सरकार विघटन गरेपछि बिपीलाई सुन्दरीजल बन्दीगृहमा राखियो । विसं २०२० पछि हामी काठमाडौँमा विद्यार्थी आन्दोलनमा सक्रिय भयौँ । त्योबेला सरकारी नियन्त्रित विद्यार्थी सङ्गठन थियो । त्यसविरुद्ध हामीले आन्दोलन गरेका थियौँ । हामीमाथि लाठी चार्ज भयो । धरपकड भयो ।

विसं २०२३ वैशाख ३ गते बिपीको परिवारलाई सुन्दरीजल जेलमा भेट्न जाँदाको दृश्य मेरो मानसपटलमा अझै ताजा छ । बिपीकी आमा दिव्या कोइराला र भाइहरूसँगै म पनि त्यहाँ पुगेको थिएँ । हामी विद्यार्थी पनि पटक पटक जेल परिसकेका थियौँ तर बिपीलाई भेट्ने व्यवस्था अर्कै र फरक थियो । बिपीकी आमालाई जेलभित्र जान ढोका खोलिदिएको थियो । सुन्दरीजलको कठोर जेलभित्र पनि बिपी कालो सुटमा अत्यन्त सुगठित र दृढ देखिनुहुन्थ्यो । कपाल एउटा पनि नफुलेको, मुहारमा अद्भुत आत्मविश्वास बोक्नुभएका बिपीलाई देख्दा जेलभित्र बन्दी बनाइएको व्यक्ति होइन, सिङ्गो पञ्चायती व्यवस्थालाई नै चुनौती दिइरहेको एउटा महानायक उभिए जस्तो भान हुन्थ्यो ।

राष्ट्रिय मेलमिलापको सन्देश

विसं २०२७ मा नेपाली कांग्रेस निकट विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को स्थापना भयो । सुवर्णशमशेर राणाको मार्गदर्शन तथा विद्यार्थीको सक्रियतामा म संस्थापक सभापति चुनिएँ । त्यसपछि बिपीसँगको राजनीतिक सामीप्यता अझ बढ्दै गयो । विसं २०२७ मा नेविसङ्घको १२ जनाको प्रतिनिधिमण्डल लिएर भारत भ्रमणमा जाँदा भारतको बनारसमा बिपीसँग विशेष छलफल भएको थियो ।

लामो समय भारत प्रवासमा बसेपछि विसं २०३३ साउनमा बिपीले स्वदेश फर्कने विचार राख्नुभएको थियो । बिपीको सोच अनुसार उहाँलाई स्वदेश फिर्ता ल्याउने कि उतै बस्न सुझाव दिने भनेर नेपालका तत्कालीन शीर्ष नेतासँग परामर्श गर्ने जिम्मेवारी मैले पाएको थिएँ । टङ्कप्रसाद आचार्य, डा. डिल्लीरमण रेग्मी, केशरजङ्ग रायमाझी, सूर्यबहादुर थापा, सूर्यप्रसाद उपाध्याय, डा. केआई सिंह, परशुनारायण चौधरी जस्ता नेतालाई भेटेर बिपीको सम्भावित स्वदेश फिर्तीबारे राय बुझ्ने काम गरेँ । राय लिएँ । सबै कुरा सुनँे तर केही टिपोट गरिनँ । सुनेपछि मलाई याद भयो । बिपी आउनु हुँदैन भनेर किसुनजीले भन्नुभयो । त्योबेला वरिष्ठ अधिवक्ता गणेशराज शर्माले बिपी आउनु पर्छ भन्नुभयो । डा. केआई सिंहले “बिपी राष्ट्रवादी नेता हो, आउनु पर्छ” भन्नुभयो भने डिल्लीरमण रेग्मीले पञ्चायतको विकृति पखाल्न सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । सूर्यबहादुर थापा र सूर्यप्रसाद उपाध्यायले भने तत्काल आउनु जोखिमपूर्ण हुने सुझाव दिनुभयो । परशुनारायण चौधरीले “दुई धारको कांग्रेस छ, बिपी आएपछि एकै धार हुन्छ” भन्नुभयो । केशरजङ्ग रायमाझीले नेपाल फर्किंदा राम्रो हुन्छ भन्ने सुझाव दिनुभयो ।

विसं २०३३ भदौ २७ गते बनारसनजिकै बिपी बसेको सारनाथमा पुगेँ । इन्दिरा गान्धीले बिपीलाई सुरक्षा घेरामा राख्नुभएको रहेछ । सिधै मलाई भित्र जान दिइएन । बिपीले भित्रबाट मलाई देखिसक्नु भएछ । बिपीले गार्डलाई इसारा गरेपछि मलाई प्रवेश दिइयो । उहाँलाई मैले ती सम्पूर्ण ब्रिफिङ सुनाएँ । सुशीला भाउजू, गिरिजाबाबु र गणेशमानजीले स्वदेश फर्कनु आत्महत्या सरह हुने भन्दै चिन्ता व्यक्त गर्नुभयो । बिपी आउनु हुँदैन भन्ने हाम्रो भावनात्मक कुरा थियो । बिपी भारतमा हुँदा पञ्चायतविरुद्ध विरोधका लागि तागत हुन्छ भन्ने थियो तर बिपीको तर्क र अठोट फरक थियो । त्यो तर्क अगाडि मेरो के लाग्छ र ? उहाँले भन्नुभयो, “राष्ट्रियता खतरामा परेका बेला देश बाहिर बसेर गरिने राजनीतिभन्दा स्वदेशमै गएर जोखिम मोल्नु श्रेयस्कर हुन्छ ।” सबै कुरा सुनाएपछि उहाँले यत्ति जवाफ दिनुभयो । हामी फर्कियौँ । म र कृष्णप्रसाद भट्टराईलाई विमानस्थलबाटै पक्राउ ग¥यो । विसं २०३३ पुस १६ गते बिपी राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्किनुभयो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरियो । बिपीको स्वागतका लागि विमानस्थल पुगेबापत मेरी धर्मपत्नी बिनाको साझा प्रकाशनको स्थायी जागिरसमेत खोसिएको थियो ।

उपचारमा राजाको साथ

जेलमा बिपीको स्वास्थ्य गम्भीर बनेपछि राजा वीरेन्द्रले उपचारका लागि अमेरिका पठाउने निर्णय गर्नुभयो । बिपीले पहिले देशको स्वास्थ्य सुधार्ने कुरा गर्दा राजाले “पहिला तपाईंको स्वास्थ्य महìवपूर्ण छ” भन्दै कहाँ जाने उपचार गर्न भनेर सोध्नुभएको थियो । बिपीले सधैँ भारत र मुम्बई गएकाले त्यहीँ जाने बताउनुभयो । त्यहाँ साथीभाइ र खर्च सजिलो हुन्छ भन्दा राजाले भन्नुभएछ, “होइन तपाईं उपचारका लागि अमेरिका जानुहोस् तर तपाईंसँग सुशीला कोइराला मात्र जानुहुन्छ ।” रातारात पासपोर्ट बनाएर राजाले दिएको पाँच लाख रुपियाँ लिएर उहाँ उपचारका लागि अमेरिका जानुभएको हो ।

उपचारपछि बिपी पटना फर्कनुभयो । विसं २०३४ कात्तिकमा हामी सयौँ युवा तथा कार्यकर्ता पटना पुग्यौँ । एमएलए सरयु मिश्रको निवासमा बस्नुभएका बिपीले बिहानै म, शेरबहादुर देउवा, रामचन्द्र पौडेल, शिवबहादुर खड्का र मच्चिन्द्र पाठकलाई बोलाउनुभयो । “म त फेरि जेल परिहाल्छु, कांग्रेसको नेतृत्व कसरी अगाडि बढाउने ?” भनेर उहाँले परामर्श गर्नुभयो । हामीले कृष्णप्रसाद भट्टराईलाई कार्यवाहक सभापति र गिरिजाप्रसाद कोइरालालाई महामन्त्री बनाउन सुझाव दियौँ । बिपीले सुवर्णजी नजिक भएका कांग्रेसलाई समेट्नुपर्ने उदारता देखाउँदै परशुनारायण चौधरीलाई समेत महामन्त्रीको जिम्मेवारी दिने गरी नेतृत्वको समायोजन गर्नुभयो ।

त्यतिबेला भारतका नेता जयप्रकाश नारायण र विहारका मुख्यमन्त्री कर्पुरी ठाकुरले बिपीको सम्मानमा नागरिक अभिनन्दन गर्नुभएको थियो । कर्पुरी ठाकुरले “नेपालमा बिपी कोइराला बन्दी हुनुहुन्न, त्यहाँको प्रजातन्त्र बन्दी छ,” भन्नुभएको प्रसङ्ग ऐतिहासिक छ । बिपीले प्रत्युत्तरमा भन्नुभयो, “तपाईंहरूले हामीलाई नैतिक समर्थन दिनुस्, अरू सहयोग चाहिँदैन । म राजासँग वचनबद्ध छु, फाँसीको सजाय भए पनि स्वदेश नै जान्छु ।” बिपीको यो अद्भुत साहस र निष्ठा देखेर जयप्रकाश नारायणसमेत भावुक हुनुभएको थियो ।

जनमतसङ्ग्रह र बिपी

विसं २०३६ को जनमतसङ्ग्रहमा बिपीले बहुदलका पक्षमा देशव्यापी अभियान चलाउनुभयो । वामपन्थीसँग संयुक्त आन्दोलन नगर्ने उहाँको स्पष्ट अडान थियो । उहाँ भन्नुहुन्थ्यो, “कम्युनिस्टलाई मञ्च दिनु हुँदैन । उनीहरूसँग विचार मिल्दैन, उनीहरू बहुदलीय प्रजातन्त्रप्रति पूर्ण निष्ठावान् हुँदैनन् ।” जनमतसङ्ग्रहको परिणाम घोषणा हुँदा बहुदल पराजित भयो र सुधारिएको पञ्चायत विजयी भयो । सारा मानिस र कार्यकर्ता परिणामप्रति सशङ्कित र आन्दोलित थिए तर बिपीले “जनताको अभिमतलाई स्वीकार गर्नु पर्छ” भन्दै नतिजालाई सहज रूपमा लिनुभयो । उहाँको यही निर्णयका कारण मुलुक ठुलो सम्भावित हिंसा र रक्तपातबाट जोगियो । प्रजातन्त्रप्रतिको उहाँको यो निष्ठा र लोकतान्त्रिक आचरण विश्व राजनीतिमै विरलै पाइन्छ ।

बिपी कोइराला केवल एउटा युगका नेता मात्र हुनुहुन्न, उहाँ राजनीतिक दर्शन र सिद्धान्तका जीवन्त पुञ्ज हुनुहुन्छ । विसं २००७ को क्रान्ति, २०१५ को पहिलो जननिर्वाचित सरकारको नेतृत्व, २०१७ सालपछिको निरन्तर सङ्घर्ष र २०३३ को राष्ट्रिय मेलमिलापको नीति यी सबै घटनाक्रमले बिपीको दूरदर्शिता र अद्भुत नेतृत्व क्षमतालाई प्रमाणित गर्छन् । उहाँको सिद्धान्त, विचार र राष्ट्रियताप्रतिको समर्पण आजको नेपालको नेतृत्वका लागि उदाहरण बन्न सक्छ ।

विसं २०४६ पछि कांग्रेस र कम्युनिस्ट राजनीतिक विषयमा मिलेपछि अवस्था बदलियो । २०६२–६३ मा गणतन्त्रमा जाने निर्णय गिरिजाप्रसादले गरेपछि कांग्रेसले फरक बाटो लियो । बिपीको लाइन छोड्नु, गणतन्त्रमा जानु र कम्युनिस्टसँग गठबन्धन गर्नुले अहिले कांग्रेस सङ्कटमा परेको हो । बिपीबाट कांग्रेसले सत्ता ठुलो होइन सिद्धान्त ठुलो हो भन्ने कुरा सिक्नु पर्छ । अपवित्र गठबन्ध गर्नु हुँदैन । भूराजनीतिक संवेदनशीलतालाई ध्यानमा राखेर राष्ट्रिय एकतामा जोड दिनु पर्छ ।

अहिलेको कांग्रेसको युवा नेतृत्वले हिम्मत गरेर कांग्रेसलाई बिपीको बाटोमा लानु पर्छ । यसरी अगाडि बढेमा कांग्रेसको स्वास्थ्य र मुलुकको स्वास्थ्य पनि राम्रो हुन्छ । प्रजातन्त्रमा पार्टीको महìव हुन्छ । देश बनाउने बाटोमा जाने भए पार्टीले नै निर्णय लिनु पर्छ । जनताको जीवन सुधारमा सक्रिय हुनु पर्छ । त्यसको पहल कदमी कांग्रेसले लिन सके बिपीको सम्मान हुन्छ । कांग्रेसका संस्थापक नेता बिपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, कृष्णप्रसाद भट्टराई, रुद्रप्रसाद गिरी, मातृकाप्रसाद कोइराला हुनुहुन्छ । संस्थापक नेताको बाटोबाट कांग्रेस टाढा जानु हुँदैन । अहिले बिपीलाई नचिन्ने कांग्रेस छन्, त्यसरी पार्टी बन्दैन ।

कांग्रेसले बिपीबाट राष्ट्रवाद र समाजवाद सिक्नु पर्छ । सिद्धान्त र निष्ठा सिक्नु पर्छ । अहिले कांग्रेसमा गगन थापा सभापति भएर आएपछि गठबन्धनको संस्कार तोडिएको छ । चुनाव एक्लै लड्नु पर्छ । यो नै कांग्रेसको मूलबाटो हो । यो बाटोले बिपीको सम्मान हुन्छ । बिपी ठुलो खुला पुस्तक हो । नेपाल जस्तो मुलुक चलाउन बिपीका साना साना विचारधारालाई अनुसरण गरेर बाँधिएमा शान्त नेपाल बन्न सक्छ ।

तपाईको प्रतिक्रिया