“पुष्पलालको सपना : लोकतन्त्र, समाजवाद र आत्मनिर्भर नेपालको मार्गचित्र


नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव तथा निरङ्कुशताविरोधी आन्दोलनका नायक पुष्पलाल श्रेष्ठको स्मृति दिवस । लोकतन्त्र, समाजवाद, आत्मनिर्भर, अर्थतन्त्र निर्माणका विचारक, निरङ्कुशता, बेथिति, भ्रष्टाचार, अन्याय, अत्याचारविरोधी सिद्धान्तकार तथा कार्यनीति निर्माणका असल अध्येता पुष्पलाल बितेको ४८ वर्ष पूरा भएर ४९ वर्ष लागेछ । २०८३ साउन ७ गते पुष्पलालको ४८ औँ स्मृति दिवस स्वदेश तथा विदेशमा नेपालीले मनाउँदै छन् । पुष्पलालको जन्म १९८१ असार १५ गते रामेछापको भँगेरीगाउँमा भएको थियो । उहाँका पिता त्यसबेला मालअड्डाका खरिदार हुनुहुन्थ्यो । पुष्पलालको बाल्यकाल ओखलढुङ्गा र सिन्धुपाल्चोक जिल्लामा बितेको थियो । पिताजी जहाँ सरुवा भएर जानुहुन्थ्योे, उहाँलाई पनि सँगसँगै लगिन्थ्यो । पुष्पलालको प्रारम्भिक शिक्षा शान्ति निकेतन मावि हनुमानढोकापछाडि भगवतीबारीमा भएको थियो । उहाँले ८, ९, १० र एसएलसीसम्मको शिक्षा पाटन हाइस्कुलबाट लिनुभएको थियो ।

विसं १९८३ मा रामेछाप कठजोरकै कृष्णलाल अधिकारी मकैपर्व उपन्यास लेखेबापत पक्राउ पर्नुभयो । उहाँ राणाविरोधी आन्दोलनका पहिलो साहित्यिक सहिद हुनुभयो । उहाँलाई कठोर यातना दिइयो र जेलमा उहाँको निधन भयो । यसअघि राणाविरोधी आन्दोलनका सुरुवातकर्ता नेपालका प्रथम सहिद लखन थापा हुनुहुन्थ्ग्यो । मकैपर्व वास्तवमा निबन्ध हो, भन्न त उपन्यास पनि भनिन्छ । यही उपन्यास लेखेबापत सजाय पाएका कृष्णलाल अधिकारीको छाप पुष्पलाल र गङ्गालालको बालमस्तिष्कमा परेको थियो ।

यता विसं १९८८ मा खड्गमान मल्ललगायतले राणाविरोधी आन्दोलन सुरु गरी ‘प्रचण्ड गोर्खा’ नामक दल स्थापना गरे । त्यसबेला चीन, भारतलगायत एसियाका देश अफ्रिका, ल्याटिन अमेरिकासमेतमा उपनिवेशवाद र एकाधिकार पुँजीवादका विरुद्ध आन्दोलनको ज्वारभाटा उठिसकेको थियो । अझ सन् १९१७ को रुसको अक्टोबर क्रान्तिले विश्व साम्राज्यवादविरोधी चेतनामा ठुलो लहर ल्याएको थियो । त्यसबेला खड्गमान मल्ललाई राणाले पक्रेर राणा प्रधानमन्त्री भीमशमशेरको अगाडि लगेर राखे । उहाँलाई राणा प्रधानमन्त्रीको आदेशमा कोर्रा हानियो । कोर्रा हान्दा खड्गमान मल्लले नडराई भन्नुभयो, “रुसमा जार शासन लेनिनले ढालिसके अब तपाईंहरूको शासन पनि ढल्छ ।” त्यसपछि भीमशमशेरले बुट बजारेका थिए भनेर पुष्पलालले ‘नोट्स अन कम्युनिस्ट मुभमेन्ट इन नेपाल’ मा लेख्नुभएको छ । यसपछि टङ्कप्रसाद आचार्यको नेतृत्वमा प्रजा परिषद् गठन भयो, जसले राणा शासनको विरोधमा जेहाद छेड्यो ।

विसं १९९७ को पर्चाकाण्डमा ठुलो धरपकड भयो, पुष्पलालका दाजु गङ्गालालसहित, धर्मभक्त, शुक्रराज शास्त्री, दशरथ चन्दलाई राणाले फाँसी दिए । स्वयम् टङ्कप्रसाद, रामहरि शर्मा, चुडाप्रसादलाई बाहुन भएकाले आजीवन काराबास तोकियो । यी सबैको प्रभाव पुष्पलालमा प¥यो । विसं १९९८ मा शान्ति निकेतन मावि भगवतीबारीको प्राङ्गणमा उहाँकै नेतृत्वमा प्रजातान्त्रिक महासभा नामक दल गठन भयो । राणाहरूले वारेन्ट गरेकाले पुष्पलाल भागेर पढ्ने निहुँमा कोलकाता जानुभयो । २००३ सालमा भारतमा रहेका बिपी कोइराला र डिल्लीरमण रेग्मीसँग उहाँको भेट भयो । २० वर्ष सजाय पाएका गणेशमान सिंह पनि जेल फोरेर भागेपछि भारत पुग्नुभएको थियो । यी सबैको मिलनपछि नेपाली राष्ट्रिय कांग्रेस नामक राणाविरोधी दल खुल्यो, जसको संयोजकद्वय बिपी कोइराला र डा. डिल्लीरमण रेग्मी हुनुहुन्थ्यो तथा अध्यक्ष भने आजीवन जेलमा रहेका टङ्कप्रसादलाई बनाइयो । पुष्पलाल यसको केन्द्रीय सदस्य र कार्यालय सचिव हुनुभयो । बिपी कोइराला पक्राउ पर्नुभयो । महात्मा गान्धीको दबाबपछि राणाले बिपीलाई छोडे । बिपी छुटेपछि को नेता भन्ने झगडा भयो । बिपी र डिल्लीरमणलाई मिलाउन पुष्पलाल केही दिन अनशन पनि बस्नुभयो तर उहाँहरू मिल्नुभएन ।

यसैबिच पुष्पलालले दार्जिलिङका रत्नलाल ब्राह्मण र त्रिपुराका नृपेन्द्र चक्रवर्तीलाई कोलकातामा भेट्नुभयो । यी दुवै भारतीय कम्युनिस्ट पार्टीका नेता थिए । उहाँहरूले पुष्पलाललाई कम्युनिस्ट पार्टी गठन गर्ने सुझाव दिनुभयो । त्यसपछि पुष्पलालले माक्र्स र एङ्गेल्सद्वारा लिखित कम्युनिस्ट पार्टीको घोषणापत्र पढ्न थाल्नुभयो । विसं २००५ मा उक्त घोषणापत्र नेपालीमा उल्था गरियो । पुष्पलालले २००६ साल वैशाख १२ गते नेपाल कम्युनिस्ट पार्टीको पहिलो पर्चा प्रकाशित गर्नुभयो । उहाँले पाँच सदस्यीय केन्द्रीय सङ्गठन समिति बनाउनुभयो । उहाँले त्यसै वर्ष १५ सेप्टेम्बर अर्थात् भदौ ३० गते नेकपाको घोषणापत्र जारी गर्नुभयो । उहाँ नेपाली माटोमा माक्र्सवादी साहित्य बीजारोपण गर्ने पहिलो नेपाली पनि बन्नुभयो ।

पहिलो गणतान्त्रिक नेता

पुष्पलालले रुस र चीनको जस्तो एकदलीय मोडेलको जनवादी क्रान्तिको वकालत गर्नुभएन । नेकपाको पहिलो घोषणापत्रमा– प्रतिस्पर्धात्मक जनवाद र संसद्मा क्रान्तिकारीको कब्जा जस्ता शब्द उल्लेख गर्नाले कम्युनस्टि आन्दोलनलाई लोकतान्त्रिक आन्दोलनसँग जोडेर लैजाने विषय पनि उल्लेख छ । पुष्पलालले २०१७ सालको राजा महेन्द्रको निरङ्कुशताविरुद्ध नेपाली कांग्रेस, प्रजापरिषद्लगायत र अन्य कम्युनिस्ट घटकसमेत दलहरूसँग मिलेर संयुक्त जनआन्दोलन गर्न अपिल गर्नुभयो । २०१८ सालमा उहाँले मसौदा गरेको नेकपाको पर्चामा समेत यही अपिल गरिएको छ । कम्युनिस्ट पार्टीको तेस्रो र चौथो सम्मेलनले संयुक्त जनआन्दोलन निर्माणको वकालत गरेका छन् । सशस्त्र आन्दोलनको कार्यनीति लिएका नेपाली कांग्रेस र केही कम्युनिस्ट घटक पनि पुष्पलालले वकालत गर्नुभएको सशक्त तथा संयुक्त जनआन्दोलन कार्यनीतिमा आए । यसैको प्रतिफल थियो– २०४६ सालको संयुक्त जनआन्दोलनको सफलता तथा बहुदलीय लोकतान्त्रिक व्यवस्थाको स्थापना । राजाको निरङ्कुशता हट्यो र राजा संवैधानिक भए । संवैधानिक राजाले निरङ्कुशता लाद्न खोज्दा पुनः संयुक्त जनआन्दोलन भयो, राजा फालिए ।

मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बनेको छ, यो पुष्पलालकै सोच हो । अब संविधानका आधारभूत विषय सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशितालाई कायम राख्दै खर्चिलो निर्वाचन प्रणालीलाई सरल बनाउन सबै दल लाग्नु पर्छ । पुष्पलाल र बिपी जस्ता स्रष्टालाई सम्झी संसद्मा र संसद्बाहिर रहेका साना तथा ठुला सबै दलबिच राष्ट्रिय सहमति हुनै पर्छ । त्यही सहमतिका आधारमा आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि कृषि, ऊर्जा र पर्यटनमा विशेष बजेट राखेर देशभित्रै रोजगार सिर्जना गरी रेमिट्यान्समा आधारित अर्थतन्त्रलाई विस्थापित गरेर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न जरुरी छ ।

२०७२ सालमा संविधान सभाले बनाएको संविधान समाजवादउन्मुख छ । यसलाई अक्षरशः कार्यान्वयनमा ल्याउनु पर्दथ्यो । त्यो संविधान जारी भएपछिका दलले कार्यान्वयन गर्न सकेनन् । गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगार राज्यले नागिरकलाई निःसन्देह उपलब्ध गराउनुपर्ने विषय संविधानमा राखिएका छन् । पुष्पलाल, बिपी, गणेशमान, मनमोहन, कृष्णप्रसाद भट्टराई तथा मदन भण्डारी र निर्मल लामाले पनि यही सोच्नुभएको थियो । त्यो कार्यान्वयन गर्न नसक्दा ठुला भनिएका कांग्रेस, एमाले र नेकपा नागरिक तहबाटै निकै पछि पारिए । गणतन्त्रमा पनि ग्रामीण सामन्तले मिटरब्याजका रूपमा अत्याचार गर्दा पनि देख्न नसक्नु राज्यसत्ताको कमजोरी थियो । संविधान अनुसार भ्रष्टाचार अन्त्य तथा बेथिति नियन्त्रण गरी जनताका मौलिक अधिकारका रूपमा रहेका गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगार दिने कार्यक्रम ल्याउन नसक्दाको परिणाम थियो जेनजी विद्रोह ।

सरकार संसद्मा रहेका सबै दलसँग राष्ट्रिय सहमति गरी संविधानको समाजवादउन्मुख चरित्रलाई कार्यान्वयन गर्ने बाटोमा हिँड्नु पर्छ । अहिले एकलव्य भएर अघि बढेको आभास हुन्छ । देश र जनतालाई केन्द्रमा राखेर कांग्रेस र कम्युनिस्ट पार्टीबिच सहकार्य आवश्यक छ, जसले मात्र यो देश बचाउन सक्छ । राष्ट्रियता, प्रजातन्त्र र जनतन्त्रको रक्षा गर्न रेमिट्यान्सले चल्ने होइन, आत्मनिर्भर अर्थतन्त्रको पक्षमा आवाज बुलन्द पार्नु पर्छ । आत्मनिर्भर अर्थतन्त्र निर्माणमा कृषि, ऊर्जा र पर्यटनमा विशेष जोड दिन आवश्यक छ । बिपी र पुष्पलालको सपना पनि यही थियो ।

तपाईको प्रतिक्रिया