काठमाडौं, साउन ४ — निबन्धकार मदनराज ताम्राकारको संस्मरणसङ्ग्रह ‘अतीतको झझल्को’ माथि राजधानीमा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ।
नेपाल स्रष्टा समाज बागमती प्रदेशको आयोजनामा आइतबार आयोजित कार्यक्रममा वक्ताहरूले कृतिलाई इमान्दारितापूर्वक लेखिएको प्रेरणादायी संस्मरणका रूपमा मूल्याङ्कन गरेका छन्।
कार्यक्रममा समालोचक डा. तुलसी भट्टराईले कृतिमा लेखकका जीवनका अनुभवहरू नढाँटी प्रस्तुत गरिएको बताउनुभयो। ताम्राकारको बालसुलभ मनोविज्ञानलाई समेत रोचक ढङ्गले प्रस्तुत गरिएको उल्लेख गर्दै उहाँले कृतिले लेखकको सिर्जनात्मक क्षमता पुष्टि गरेको धारणा राख्नुभयो।
समालोचक प्रमोद प्रधानले आत्मप्रशंसाले मात्र साहित्यमा योगदान नहुने बताउँदै आत्मकथा र संस्मरण लेखनमा इमान्दारिता तथा आचारसंहिताको पालना आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। उहाँले ताम्राकारका संस्मरणहरू आत्मप्रशंसाभन्दा अनुभव र यथार्थमा आधारित रहेको टिप्पणी गर्नुभयो।
साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले नेपाली साहित्यिक क्षेत्रमा आत्मप्रशंसा र असत्यको प्रवृत्ति बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै ताम्राकारले भने इमान्दारिताका साथ आफ्नो अनुभवलाई प्रस्तुत गरेको बताउनुभयो।
कृतिमाथि चर्चा गर्दै प्रा.डा. कुमारप्रसाद कोइरालाले सङ्ग्रहमा जीवनका विभिन्न चरणसँग सम्बन्धित १४ वटा संस्मरण समेटिएको जानकारी दिनुभयो। बाल्यकालीन स्मृति, पारिवारिक आर्थिक अवस्था तथा जीवनका विविध आयामलाई कृतिमा समेटिएको उल्लेख गर्दै उहाँले पुस्तक पाठकलाई आफ्नै जीवनकथाजस्तो अनुभूति गराउने बताउनुभयो।
कार्यक्रममा लेखक ताम्राकारले कृतिको रचनागर्भबारे प्रकाश पार्नुभएको थियो।
नेपाल स्रष्टा समाज बागमती प्रदेशका संयोजक शंकर भारतीको सभापतित्वमा सम्पन्न कार्यक्रममा पवन आलोक, राधेश्याम लेकाली, बद्रीप्रसाद ढकाललगायतले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन शुष्मा आचार्य अंशुले गर्नुभएको थियो भने स्वागत मन्तव्य सत्या अधिकारीले राख्नुभएको थियो।

तपाईको प्रतिक्रिया