वर्षाले किसान उत्साहित, यातायात व्यवसायी भने निराश


प्रतीक्षापछि देशभर मनसुनी वर्षा सुरु भएसँगै ग्रामीण तथा पहाडी क्षेत्रको जनजीवनमा मिश्रित प्रभाव परेको छ। केही दिनयता कालीकोटमा भइरहेको वर्षाका कारण एकातिर किसानहरूमा खुसीयाली छाएको छ भने अर्कोतिर ग्रामीण सडकको दुरावस्थाले यातायात व्यवसायी र यात्रुहरू चिन्तित बनेका छन्।

किसानहरू उत्साहित भएर खेतबारीमा व्यस्त हुन थालेका छन्। ढिलै भए पनि पानी परेपछि चारैतिर हरियाली फैलिन थालेको छ भने खेतीपातीका लागि अनुकूल वातावरण बनेकाले किसानहरू खुसी भएका छन्। यातायात व्यवसायी भने वर्षायाम सुरु भएसँगै थप चुनौती बढेको भन्दै चिन्तित देखिएका छन्।

किसानमा उत्साह
वर्षा सुरु भएसँगै पहाडी तथा हिमाली क्षेत्रका किसानहरू धान रोपाइँ र अन्य बर्खे बाली लगाउन व्यस्त भएका छन्। आकाशे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता रहेका यी क्षेत्रका किसानका लागि यो वर्षा ‘अमृत’ सरह बनेको छ। भिरालो जमिन र खोँचमा रहेका खेतबारीमा पानीको उपलब्धता बढेसँगै किसानहरू बिहानैदेखि खेतमा व्यस्त देखिन थालेका छन्।

समयमै पानी नपरे पनि यस वर्ष बाली उत्पादन राम्रो हुने आशा किसानमा बढेको छ। कालीकोटको खाँडाचक्र नगरपालिका–५ का विनोद चौलागाईंले समयमै पानी नपरे पनि अब निरन्तर वर्षा भए उत्पादनमा ठूलो असर नपर्ने बताउनुभयो। उहाँले वर्षासँगै चारैतिर हरियाली देखिन थालेको र किसानमा नयाँ आशा पलाएको उल्लेख गर्नुभयो।

यातायात व्यवसायी र यात्रु निराश
किसानका लागि वरदान बनेको यही वर्षा यातायात व्यवसायीका लागि भने टाउको दुखाइको विषय बनेको छ। पहाडी क्षेत्रका कच्ची तथा भिराला सडकहरू वर्षासँगै हिलाम्मे र जोखिमपूर्ण बनेका छन्। यातायात व्यवसायी मदननाथ योगीले कर्णाली राजमार्गको समस्या त छँदैछ, करिडोर क्षेत्रमा यात्रा थप जोखिमपूर्ण बनेको बताउनुभयो। उहाँका अनुसार करिडोरमा जाम लाग्ने समस्या देखिन्छ भने रास्कोटका ग्रामीण सडक हिलाम्मे हुँदा चारपांग्रे सवारी चलाउन समेत कठिन भएको छ।

वर्षा सुरु भएसँगै धेरै ग्रामीण सडकमा पहिरो जाने र सडक हिलाम्मे हुने भएकाले सवारी सञ्चालन कठिन बनेको व्यवसायीहरूको गुनासो छ। आर्थिक क्षति, गाडीबिच बाटोमै फस्ने, पार्टपुर्जा बिग्रिने तथा यात्रु संख्या घट्ने कारण व्यवसायीहरू ठुलो घाटा व्यहोर्न बाध्य हुने उनीहरूको भनाइ छ।

हिलाम्मे सडकका कारण चालक र यात्रु दुवै जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। प्रकृतिको यो दोहोरो प्रभावले नेपालको भौगोलिक यथार्थ झल्काएको छ—किसानका लागि अवसर, यातायात क्षेत्रका लागि चुनौती।

ग्रामीण सडकलाई वर्षभरि सञ्चालनयोग्य बनाउन स्तरोन्नति नगरेसम्म प्रत्येक वर्ष वर्षायाममा यस्तै समस्या दोहोरिने स्थानीयको भनाइ छ।

तपाईको प्रतिक्रिया