जन्मदिनको केक होइन, असहायको अनुहारमा मुस्कान खोज्छन् नवराज बजगाई

जन्मदिन भन्नेबित्तिकै केक, शुभकामना र रमाइलो भेटघाटको चित्र मानसपटलमा आउँछ । तर काभ्रेका अग्रज पत्रकार तथा सामाजिक अभियान्ता नवराज बजगाईका लागि जन्मदिनको अर्थ केही फरक छ । उनका लागि जन्मदिन आफन्त र साथीभाइसँग मात्र खुसी साट्ने दिन होइन, समाजका असहाय र बेसहारा नागरिकको अनुहारमा मुस्कान ल्याउने अवसर पनि हो ।

यस वर्ष पनि उनले आफ्नो जन्मदिन धुलिखेल–१२ स्थित मानव कल्याण समाजद्वारा सञ्चालित ‘सेवा घर’मा रहेका वृद्धवृद्धा तथा असहाय नागरिकसँग बिताए । त्यहाँ पुगेर उनले ६० भन्दा बढी आश्रितलाई भोजन गराए, आवश्यक खाद्यान्न तथा लत्ताकपडा सहयोग गरे र उनीहरूसँग आत्मीय संवाद गरे ।

बजगाईका अनुसार जन्मदिनमा हुने अनावश्यक खर्चलाई समाजसेवामा लगाउँदा आफूले फरक प्रकारको सन्तुष्टि प्राप्त गर्ने गरेका छन् । “यहाँ आउँदा उहाँहरूको अनुहारमा देखिने खुसी नै मेरो जन्मदिनको सबैभन्दा ठूलो उपहार हो,” उनले भने, “मानिसले आफ्नो खुसी अरूसँग बाँड्न सिक्नुपर्छ ।”

यो पहिलो पटक भने होइन । विगतका वर्षहरूमा पनि उनले आफ्नो जन्मदिन तथा अन्य विशेष अवसरहरू विभिन्न आश्रम र सेवा केन्द्रमा पुगेर मनाउँदै आएका छन् । उनका अनुसार समाजमा देखिने सकारात्मक परिवर्तन व्यक्तिगत व्यवहारबाटै सुरु हुन्छ । आफूले थालेको अभ्यासले अरूलाई पनि प्रेरित गरिरहेको देख्दा झन् उत्साहित हुने गरेको उनी बताउँछन् ।

यसपटक उनले चामल, आटा, दाल, तेल, नुन, चिनी, चियापत्ती, गेडागुडी, चिउरा, फलफूल, सरसफाइ सामग्री तथा लत्ताकपडा सेवा घरलाई हस्तान्तरण गरेका छन् । सहयोग सामग्री ग्रहण गर्दै सेवा घरका अभियान्ता सुरेश हुमागाईले यस्ता सहयोगी हातहरूकै कारण असहाय नागरिकको जीवन सहज बन्दै गएको बताए ।

धुलिखेल–१२ का वडा अध्यक्ष मोहनप्रसाद लामिछानेका अनुसार सेवा घरजस्ता संस्थाहरू सरकारी प्रयासले मात्र नभई समाजका संवेदनशील नागरिकको सहयोगबाट पनि चलिरहेका छन् । “समाजमा अरूका दुःखलाई आफ्नै दुःख ठान्ने व्यक्तिहरू रहेसम्म मानवताको ज्योति निभ्दैन,” उनले भने ।

मानव कल्याण समाजले देशका विभिन्न स्थानमा सातवटा सेवा केन्द्र सञ्चालन गरिरहेको छ । ती केन्द्रहरूमा करिब ३०० जना आश्रित छन् भने धुलिखेलस्थित सेवा घरमा मात्रै ६० जना वृद्धवृद्धा, असहाय तथा बेवारिसे नागरिकले आश्रय पाइरहेका छन् । संस्थाकी अध्यक्ष सुमित्रा चौलागाईंका अनुसार सडक तथा सार्वजनिक स्थलमा कष्टकर जीवन बिताउन बाध्य व्यक्तिहरूको उद्धार, संरक्षण र पुनःस्थापनाको काम विगत नौ वर्षदेखि निरन्तर भइरहेको छ ।

समाजमा जन्मदिन मनाउने शैली बदलिँदै गएको चर्चा भइरहेका बेला बजगाईको अभ्यासले एउटा फरक सन्देश दिएको छ । व्यक्तिगत उत्सवलाई सामाजिक उत्तरदायित्वसँग जोड्दा त्यसले केवल एक दिनको खुसी मात्र होइन, कसैको जीवनमा आशाको किरण पनि थप्न सक्छ ।

सायद त्यसैले नवराज बजगाईका लागि जन्मदिनको सबैभन्दा मीठो केक सेवा घरका वृद्धवृद्धाको मुस्कान हो, र सबैभन्दा ठूलो उपहार उनीहरूको आशीर्वाद ।

तपाईको प्रतिक्रिया