अपराध नियन्त्रणसँगै समुदायमा भक्तपुर प्रहरीको सक्रियता


जिल्ला प्रहरी परिसर भक्तपुरले जेठ २०८३ महिनामा अपराध अनुसन्धान, शान्ति सुरक्षा र समुदायमा आधारित कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गरेको जनाएको छ। सार्वजनिक गरिएको मासिक प्रगति विवरणअनुसार प्रहरी प्रशासनले अपराध नियन्त्रणका साथै नागरिकसँगको सम्बन्धलाई थप सुदृढ बनाउन विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ।

प्रहरी तथ्यांक अनुसार जेठ महिनामा १९४ वटा मुद्दा दर्ता भएका छन्, जुन अघिल्लो महिनाको तुलनामा बढी हो। साथै, चालु मुद्दाका ११४ जना प्रतिवादी पक्राउ परेका छन्। प्रतिवादीमध्ये महिला र पुरुष दुवै रहेका छन्।

गम्भीर अपराधतर्फ लागूऔषध, जबरजस्ती करणी, कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योगका गरी १६ वटा मुद्दा दर्ता भएका छन्। आर्थिक अपराधतर्फ भने बैंकिङ कसुरका ८१ र ठगीका १८ गरी ९९ वटा मुद्दा दर्ता भएका छन्।

लागूऔषध नियन्त्रणमा प्रहरीले उल्लेखनीय सफलता हासिल गरेको छ। जेठ महिनामा लागूऔषध सम्बन्धी ७ वटा मुद्दा दर्ता गरी १४ जनालाई पक्राउ गरिएको छ। साथै, खैरो हेरोइन, ट्रामाडोल, ट्यापेन्टाडोललगायतका प्रतिबन्धित औषधिहरू बरामद गरिएको छ।

यता, सवारी दुर्घटना पनि जिल्लाको चुनौतीका रूपमा देखिएको छ। प्रहरीका अनुसार ९९ वटा सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने १४० जना घाइते भएका छन्। दुर्घटनाको मुख्य कारणमा मादक पदार्थ सेवन, तीव्र गति, चालकको लापरवाही तथा सडकमा ध्यान नदिनु रहेको उल्लेख गरिएको छ।

अपराध न्यूनीकरणका लागि प्रहरीले नियमित रूपमा मोबाइल गस्ती, पैदल गस्ती, चेकपोस्ट सञ्चालन तथा आकस्मिक जाँच अभियान चलाएको जनाएको छ। बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसल र आर्थिक कारोबार हुने क्षेत्रहरूमा विशेष निगरानी बढाइएको छ।

समुदाय–प्रहरी साझेदारीलाई बलियो बनाउन १४४ वटा समुदाय तथा विद्यालय केन्द्रित कार्यक्रम सञ्चालन गरिएको छ, जसमा ७ हजार ८२४ जना सहभागी भएका थिए। यस्तै, २४ वटा विद्यालयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरी १ हजार ६४७ विद्यार्थीलाई सहभागी गराइएको थियो।

नागरिकका गुनासा र सुझाव सुन्नका लागि ६ वटा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा सडक सुरक्षा, चोरी–डकैती, लागूऔषध दुव्र्यसन तथा सडक पूर्वाधार जस्ता विषय उठाइएको प्रहरीले जनाएको छ।

भक्तपुर प्रहरीले सार्वजनिक सुरक्षासँगै समुदायसँगको सहकार्यलाई प्राथमिकतामा राख्दै काम गरिरहेको देखिन्छ। अपराध नियन्त्रण, जनचेतना अभिवृद्धि र नागरिकमैत्री सेवाले सुरक्षित समाज निर्माणमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया