गाउँभित्र लुकेको हिरा : बुद्ध हिमालय माविको एसईईमा सतप्रतिशत सफलता, विद्यार्थीलाई नगदसहित सम्मान

 


काभ्रेपलाञ्चोकको विकट क्षेत्र माझीफेदा स्थित बुद्ध हिमालय माध्यमिक विद्यालयले एसईई परीक्षा २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्दै सामुदायिक विद्यालयहरूका लागि उदाहरणीय सफलता प्राप्त गरेको छ। तर सहरका ठूला विद्यालयझैं प्रचारप्रसारमा नलाग्दा विद्यालयको यो उपलब्धि धेरैको नजरमा पर्न सकेको छैन।

चौंरीदेउराली गाउँपालिका–३, माझीफेदामा रहेको उक्त विद्यालयबाट एसईईमा सहभागी १२ जना विद्यार्थी सबै उत्तीर्ण भएका छन्। विद्यालयले सतप्रतिशत नतिजा मात्रै होइन, जिल्लाका सामुदायिक विद्यालयमध्ये सर्वोत्कृष्ट मानिने नतिजासमेत हासिल गरेको दाबी गरिएको छ। यस वर्ष विद्यालयका विद्यार्थीहरूले ३.०९ देखि ३.८७ जीपीएसम्म प्राप्त गरेका छन्।

विद्यालय प्रशासनका अनुसार उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूको सफलता आगामी पुस्ताका लागि प्रेरणाको स्रोत बनेको छ। कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई पनि यसले थप मेहनत र अनुशासनका साथ अध्ययन गर्न उत्प्रेरित गरेको विद्यालयको भनाइ छ।

यसै सफलतालाई सम्मान गर्न विद्यालयले जेठ ३१ गते अभिभावक भेलाको आयोजना गर्दै उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र शिक्षकलाई नगदसहित सम्मान गर्ने कार्यक्रम तय गरेको छ। ए प्लस प्राप्त गर्ने विद्यार्थीलाई १० हजार रुपैयाँ तथा अन्य उत्तीर्ण विद्यार्थीलाई ५ हजार रुपैयाँका दरले प्रोत्साहनस्वरूप पुरस्कार प्रदान गरिने भएको छ।

विद्यालयका प्रधानाध्यापक राजु चौलागाईंका अनुसार सम्मान कार्यक्रम विद्यालयमा स्थापना गरिएको अक्षय कोषबाट सञ्चालन गरिनेछ। “यो ठूलो रकम होइन, तर विद्यार्थी र शिक्षकलाई थप राम्रो गर्न प्रेरित गर्ने प्रयास हो,” उहाँले भन्नुभयो।

बुद्ध हिमालय माविको अर्को विशेषता भनेको समुदायको सक्रिय सहभागिता हो। विद्यालयमा स्थापना गरिएको अक्षय कोषमा सयौं अभिभावकको योगदान रहेको छ। स्थानीय समुदायले लाखौं रुपैयाँको कोष निर्माण गरी शिक्षामा लगानी गर्ने संस्कार विकास गरेका छन्। यही कोषबाट हरेक वर्ष विद्यार्थीलाई विभिन्न किसिमका प्रोत्साहन कार्यक्रम सञ्चालन गरिँदै आएको छ।

अक्षय कोषका अध्यक्ष प्रकाश लामा जिम्बाका अनुसार शिक्षामा गरिएको लगानीले विद्यालयको शैक्षिक गुणस्तर सुधार्न महत्वपूर्ण भूमिका खेलेको छ। विद्यालयको प्रगतिमा अभिभावक, शिक्षक र समुदायको साझा प्रयास रहेको उहाँको भनाइ छ।

त्यस्तै वडा नम्बर ३ का वडाध्यक्ष चित्रप्रसाद चौलागाईंले स्थानीय तहले शिक्षालाई प्राथमिकतामा राख्दै आवश्यक सहयोग र सकारात्मक पहल गर्दै आएको बताउनुभयो। उहाँका अनुसार गुणस्तरीय शिक्षा विकासका लागि पालिका र वडा सदैव प्रतिबद्ध छन्।

सुविधा र स्रोतसाधनका हिसाबले विकट मानिने क्षेत्रको यो विद्यालयले प्राप्त गरेको सफलता एउटा महत्वपूर्ण सन्देश हो—उत्कृष्ट नतिजाका लागि भौतिक पूर्वाधारभन्दा पनि दृढ इच्छाशक्ति, समुदायको साथ र निरन्तर मेहनत आवश्यक हुन्छ। प्रचारभन्दा परिणाममा विश्वास गर्ने बुद्ध हिमालय मावि आज साँच्चिकै गाउँभित्र लुकेको हिराका रूपमा स्थापित भएको छ।

तपाईको प्रतिक्रिया