
काठमाडौँको एक अन्तर्राष्ट्रिय सम्मेलन हलमा विभिन्न देशका कृषि विज्ञ, उद्योगी र नीतिनिर्माताहरू भेला थिए। कृषि व्यवसायको भविष्य, युवा र महिलाको भूमिका तथा दिगो विकासका विषयमा छलफल चलिरहँदा नेपालको नाम उच्चारण भयो—‘बेस्ट एग्रो–इन्डस्ट्री अवार्ड’का लागि। पुरस्कार प्राप्त गर्ने संस्थाको नाम थियो, नवप्रभात डेरी उद्योग।
भारतको सोसाइटी फर कम्युनिटी मोबिलाइजेसन फर सस्टेनेबल डेभलपमेन्ट र नेपालको नेपाल फार्मर्स एड्भाइजरी काउन्सिल (एनएफएसी) को संयुक्त आयोजनामा सम्पन्न “महिला तथा युवामार्फत कृषि व्यवसाय पारिस्थितिक प्रणालीको रूपान्तरण” विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा नवप्रभात डेरी उद्योगलाई नेपालको तर्फबाट ‘उत्कृष्ट कृषि उद्योग पुरस्कार’ प्रदान गरियो।
यो पुरस्कार केवल एउटा उद्योगको उपलब्धि मात्र होइन, गाउँका किसान, दुग्ध उत्पादक र स्वदेशी कृषि उद्यमको अन्तर्राष्ट्रिय पहिचानको प्रतीक पनि बनेको छ।
किसानसँग जोडिएको उद्योग
ललितपुरको पाटन औद्योगिक क्षेत्रमा अवस्थित नवप्रभात डेरी उद्योग दैनिक करिब २५ हजार लिटर दूध प्रशोधन गर्छ। उद्योगले सङ्कलन गरेको दूधको मूल्य गाउँका किसानसम्म पुग्दा दैनिक करिब १७ लाख रुपैयाँ आर्थिक गतिविधि गाउँतर्फ प्रवाह हुने गरेको तथ्याङ्क छ।
दूध उत्पादन गर्ने किसानका लागि बजार सुनिश्चित गर्नु, उचित मूल्य दिलाउनु र स्वदेशी उत्पादनलाई उपभोक्तासम्म पुर्याउनु उद्योगको प्रमुख योगदान मानिन्छ। यही योगदानलाई आधार बनाएर अन्तर्राष्ट्रिय सम्मेलनले नवप्रभातलाई सम्मान गरेको हो।
नेपाल फार्मर्स एड्भाइजरी काउन्सिलका अध्यक्ष डा. योगेन्द्र कार्कीका अनुसार कृषि तथा दुग्ध क्षेत्रको विकास, किसानको आर्थिक उन्नति र स्वदेशी उत्पादन प्रवर्द्धनमा उद्योगले पुर्याएको निरन्तर योगदानको मूल्याङ्कन गर्दै सम्मान प्रदान गरिएको हो।
सम्मानसँगै बढेको जिम्मेवारी
पुरस्कार उद्योगका तर्फबाट प्रल्हाद दाहालले ग्रहण गर्नुभयो। सम्मानपछि उद्योगका कार्यकारी निर्देशक सुरेश तिमल्सिनाले प्राप्त उपलब्धिलाई सम्पूर्ण नेपाली किसान, दुग्ध उत्पादक, उद्यमी तथा शुभेच्छुकमा समर्पित गर्नुभयो।
उहाँका अनुसार यो सम्मानले उद्योगलाई अझ जिम्मेवार र प्रतिबद्ध भएर काम गर्न प्रेरणा दिएको छ। “कृषि र दुग्ध क्षेत्रको विकासमा हामीले विगतदेखि गर्दै आएको प्रयासको अन्तर्राष्ट्रिय मूल्याङ्कन भएको महसुस गरेका छौँ,” उहाँले भन्नुभयो।
उद्योगका अध्यक्ष खुलप्रसाद हुमागाईंका अनुसार ‘प्रभात’ ब्रान्डमार्फत दूध तथा विभिन्न दुग्धजन्य उत्पादनहरू काठमाडौं उपत्यकासहित देशका विभिन्न बजारमा पुगिरहेका छन्। यसले स्थानीय उत्पादनलाई राष्ट्रिय बजारसँग जोड्ने महत्वपूर्ण काम गरिरहेको छ।
स्वदेशी उद्योगको अन्तर्राष्ट्रिय पहिचान
अन्तर्राष्ट्रिय गुणस्तर मान्यता (आईएसओ) प्राप्त नवप्रभात डेरी उद्योगले विगतमा पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान हासिल गरिसकेको छ। पछिल्लो सम्मानले भने नेपालको दुग्ध उद्योगलाई विश्व मञ्चमा चिनाउने अवसर दिएको छ।
नेपालमा कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादनको बजारीकरण र किसानको आयवृद्धिबारे बहस भइरहेका बेला यस्तो सम्मानले स्वदेशी उद्योगलाई थप हौसला दिएको छ। गाउँमा उत्पादन भएको दूधलाई मूल्य श्रृंखलामार्फत उपभोक्तासम्म पुर्याउँदै किसानको आयसँग प्रत्यक्ष जोडिएको उद्योगले प्राप्त गरेको यो सम्मानलाई कृषि उद्यमशीलताको सफल उदाहरणका रूपमा समेत हेरिएको छ।
कृषिमा युवाको आकर्षण घट्दै गएको र वैदेशिक रोजगारीको प्रभाव बढिरहेको वर्तमान अवस्थामा नवप्रभात डेरी उद्योगको यो उपलब्धिले स्वदेशमै सम्भावना खोज्ने कृषि उद्यमी र किसानलाई नयाँ उत्साह दिएको छ। अन्तर्राष्ट्रिय मञ्चबाट प्राप्त सम्मानले नेपाली कृषि तथा दुग्ध क्षेत्रको क्षमता र सम्भावनालाई थप उजागर गरेको विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया