रङ्गीन टेलिभिजनमा प्रसारण भएको पहिलो विश्वकप

विश्वको सर्वाधिक ठुलो खेलकुद ओलम्पिक आयोजना मेक्सिको सिटीमा सफलतापूर्वक सम्पन्न भएको दुई वर्षपछि मेक्सिकोले सन् १९७० को विश्वकप फुटबल प्रतियोगिता पनि आयोजना ग¥यो । विश्वकप फुटबल पहिलो पटक दक्षिण अमेरिका र युरोप बाहिर विश्वकप आयोजना भयो । साथै रङ्गीन टेलिभिजनमा पहिलो पटक विश्वकपका खेल प्रसारण गरिए । नवाैँ विश्वकपदेखि खेलमा स्थानापन्न खेलाडीको व्यवस्था गरियो र प्रत्येक टिमले एक खेलमा दुई÷दुई जना खेलाडी परिवर्तन गर्न पाए । यसै प्रतियोगितादेखि खेलमा रातो र पहेँलो कार्ड देखाउने नियम लागु गरियो तर प्रतियोगितामा कुनै पनि खेलाडीले यी कार्ड देख्नु परेन ।

यस विश्वकपमा समेत रक्षात्मक शैली हाबी हुन्छ कि भन्ने डर थियो तर त्यो मनको बाघ मात्र भयो । प्रतियोगितामा सहभागी टिमले आकर्षक आक्रामक फुटबल खेल प्रदर्शन गरे । पछिल्लो विश्वकपमा ब्राजिलका अभागी खेलाडी पेले आफ्नो उत्कृष्ट फर्ममा फर्किसकेका थिए । यस प्रतियोगितामा ब्राजिलले सानदार खेल देखायो । समूह चरणमै ब्राजिलले गत विजेता इङ्ग्ल्यान्डलाई १–० ले हरायो । सो खेलमा इङ्ग्ल्यान्डका गोलरक्षक गार्डन बैक्सको प्रदर्शन प्रशंसनीय थियो । उहाँले ब्राजिलको कैयौँ शृङ्खलाबद्ध आक्रमण विफल पार्नुभएको थियो ।

तर पेले र जर्जिन्होको लगातार उत्कृष्ट प्रदर्शनले ब्राजिललाई नकआउट चरणमा पुग्नबाट कसैले रोक्न सकेन । यस प्रतियोगितामा फ्रेन्ज बेकेनबाउर र गर्ड मुलर उत्कृष्ट फर्ममा रहेकाले पश्चिम जर्मनीमाथि बाजी लगाउने पनि उत्तिकै थिए । पश्चिम जर्मनीले उपाधि रक्षा गर्ने प्रयासमा रहेको इङ्ग्ल्यान्डलाई ३–२ ले हराएर पछिल्लो विश्वकपको फाइनलमा बेहोरेको हारको बदला लियो । इङ्ग्ल्यान्डले सुरुमा पश्चिम जर्मनीविरुद्ध २–० ले अग्रता बनाएको थियो तर उच्च मनोबलमा रहेको जर्मनीले अतिरिक्त समयमा खेल जित्यो । पश्चिम जर्मनी र इटालीबिचको सेमिफाइनल खेल पनि उत्तिकै नाटकीय थियो । त्यस रोमाञ्चक खेलमा इटालीले अतिरिक्त समयमा ४–३ ले जित हात पार्दै फाइनलमा प्रवेश ग¥यो ।

ब्राजिल भने क्वाटरफाइनलमा पेरु र सेमिफाइनलमा उरुग्वेलाई सहजै हराएर फाइनलमा पुगेको थियो । ब्राजिलले फाइनलमा उत्कृष्ट फुटबल प्रदर्शन गर्दा इटाली पूरै समय दबाबमा रह्यो । पेले, गार्सन, जर्जिन्हो र कार्लोस अलबर्टोले गोल गरेपछि ब्राजिल ४–१ ले सजिलै विजेता बनेको थियो । यस जितसँगै ब्राजिलले जुलेस रिमेट ट्रफी तेस्रो पटक जितेर कब्जा ग¥यो । एजेन्सी

तपाईको प्रतिक्रिया