
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) को अध्यक्षमा करूणा कटुवाल नियुक्त भएकी छिन्। पार्टी सभापति गगन थापाले धनकुटाकी कटुवाललाई नेविसंघको अध्यक्षमा नियुक्त गरेका हुन्।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको वैशाख २१ गतेको निर्णय तथा पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम उक्त नियुक्ति गरिएको हो। म्याद समाप्त भई स्वतः विघटन भएको नेविसंघको नयाँ नेतृत्वमा आएकी कटुवाललाई तोकिएको समयभित्र महाधिवेशन सम्पन्न गर्ने गरी ११ बुँदे कार्यादेश र कार्यविवरणसहित जिम्मेवारी प्रदान गरिएको छ।
नेविसंघको लामो इतिहासमा महिलाले नेतृत्व सम्हालेको यो पहिलो पटक हो। यसअघि नेविसंघ केन्द्रीय सदस्य र कांग्रेस महाधिवेशन प्रतिनिधिको रूपमा क्रियाशील रहकी कटुवालले तदर्थ समितिको भरमा सञ्चालित नेविसंघलाई गति दिने जिम्मेवारी पाएकी छिन्।
यसअघि तत्कालीन सभापति शेरबहादुर देउवाद्वारा नियुक्त अध्यक्ष दुजाङ शेर्पाको कार्यकालमा महाधिवेशन हुन नसकेपछि नेविसंघलगायतका भ्रातृ संस्थाहरू स्वतः विघटन भएका थिए। हाल पार्टीले नेविसंघसहित नेपाल महिला संघ र नेपाल तरुण दलमा नयाँ नेतृत्व चयन प्रक्रिया अगाडि बढाएको छ।

तपाईको प्रतिक्रिया