नेपाल चलचित्र कलाकार संघको नयाँ नेतृत्वलाई पनौतीको थुम्की रिर्साेटमा


पनौती । नेपाल चलचित्र कलाकार संघको नवनिर्वाचित कार्यसमितिलाई सम्मान तथा शुभकामना दिने क्रम जारी रहेको छ। यसैक्रममा नेपाल फिल्म सोसाइटीले काभ्रेपलाञ्चोकको पनौतीस्थित थुम्की रिसोर्टमा विशेष कार्यक्रम आयोजना गरी नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गरेको छ।

नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, उपाध्यक्षहरू शिवहरि नेपाल वैरागी र पूजना गुरुङ प्रधान, महासचिव सुनिल कटुवाल, सचिव गोपाल ढकाल, कोषाध्यक्ष तेजुला खतिवडा, सहकोषाध्यक्ष पवन केसीसहित कार्यसमितिका सदस्यहरूलाई सम्मान गरिएको थियो।

सम्मानित सदस्यहरूमा इन्द्र दोडा खम्बे, चन्द्रकला राई, लभली संगम, श्रीदेव भट्टराई, मोनिका दाहाल, चन्द्रकुमारी, दमन रुपाखेती, नवीन श्रेष्ठ, सुलेमान शंकर ‘इकु’, छुल्टिम गुरुङ, रस्मी भट्टलगायत रहेका थिए।

कार्यक्रमका वक्ताहरूले नवगठित कार्यसमितिले नेपाली चलचित्र क्षेत्रको व्यावसायिक विकास, कलाकारहरूको हकहित संरक्षण तथा चलचित्र उद्योगको समग्र उन्नयनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री मधुकुमार श्रेष्ठले कलाकारहरू राष्ट्रको सांस्कृतिक पहिचानका संवाहक भएको उल्लेख गर्दै चलचित्र क्षेत्रको विकासका लागि राज्यको तर्फबाट थप प्रभावकारी नीति र सहयोग आवश्यक रहेको बताउनुभयो।

विशेष अतिथिका रूपमा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी, नेपाल चलचित्र कलाकार संघका संरक्षक बसुन्धरा भुसाल, निवर्तमान अध्यक्ष मोहन निरौला तथा संस्थापक एवं प्रथम निर्वाचित अध्यक्ष रवीन्द्र खड्का सहभागी थिए।

सो अवसरमा पनौती नगरपालिकाले पनि नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गर्दै चलचित्र क्षेत्र र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको औँल्याएको थियो।

कार्यक्रममा नेपाल चलचित्र तथा सांस्कृतिक क्षेत्रसँग सम्बन्धित विभिन्न व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, कानुनी सल्लाहकार अधिवक्ता कृष्ण ढुंगाना, चलचित्र संघका उपाध्यक्ष गोपालकाजी कायस्थ, कलाकार शर्मिला मल्ल, रेजिना उप्रेती, विमला केसी, आरपी पन्त, चेतनारायण भुसाललगायतको सहभागिता रहेको थियो।

नवनिर्वाचित अध्यक्ष उत्तम केसीले कलाकारहरूको पेशागत सुरक्षा, सामाजिक सम्मान, क्षमता अभिवृद्धि तथा चलचित्र उद्योगको संस्थागत विकासका लागि ठोस पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले कलाकार, निर्माता, निर्देशक, प्राविधिक तथा सरकारी निकायबीचको समन्वय र सहकार्यलाई अझ मजबुत बनाउने बताउनुभयो।

यसैबीच, नयाँ कार्यसमितिलाई सम्मान गर्ने क्रम अन्य स्थानीय तहहरूमा पनि जारी रहेको छ। तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जन तथा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले पनि आ–आफ्ना नगरपालिकामा विशेष कार्यक्रम आयोजना गरी नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सम्मान ज्ञापन गर्नुभएको छ।

हालै सम्पन्न निर्वाचनबाट चयन भएको नयाँ नेतृत्वलाई सरकारी निकाय, स्थानीय तह, चलचित्रसम्बद्ध संस्था तथा कलाकार समुदायबाट प्राप्त भइरहेको सम्मानलाई नेपाली चलचित्र क्षेत्रप्रतिको बढ्दो विश्वास र अपेक्षाको संकेतका रूपमा हेरिएको छ।

तपाईको प्रतिक्रिया