
साहित्यकार विष्णुप्रसाद शर्मा पराजुलीको नवीनतम् कथासङ्ग्रह ‘हिमलुङमा पलाएको माया’ शुक्रबार काठमाडौंको ठमेलस्थित चिबहालमा आयोजित एक समारोहबीच लोकार्पण गरिएको छ।
सुनकोशी वाङ्मय प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रममा वरिष्ठ समालोचक प्रमोद प्रधान, डा. हरिप्रसाद सिलवाल, श्रीरामसिंह बस्नेत, केशव पराजुली, छविरमण सिलवाल, शंकर भारती तथा स्रष्टा विष्णुप्रसाद शर्मा पराजुलीलगायतले संयुक्त रूपमा कृतिको लोकार्पण गरेका हुन्।
कार्यक्रममा कृतिमाथि समीक्षा गर्दै वरिष्ठ समालोचक प्रमोद प्रधानले पराजुलीका कथाले नेपाली समाज, हिमाली भूगोल र त्यहाँको जनजीवनलाई गहिराइका साथ प्रस्तुत गरेको बताए। उनका अनुसार पराजुलीका कथाहरू केवल साहित्यिक सिर्जना मात्र नभई हिमाली क्षेत्रका मानिसहरूको दुःख, संघर्ष र जीवनशैली बुझ्न सकिने सामाजिक दस्तावेजका रूपमा पनि महत्वपूर्ण छन्।
“नेपालमा हिमाली भूगोललाई यति निकटबाट नियालेर कथा लेख्ने कथाकार विरलै भेटिन्छन्,” उनले भने, “पराजुलीका कथामा मानवशास्त्र, समाजशास्त्र र पर्यावरणीय चेतनाको गहिरो उपस्थिति छ। कथा पढ्दा म अत्यन्त भावुक भएको छु।”
अर्का समीक्षक डा. हरिप्रसाद सिलवालले नियात्रा विधामा स्थापित पराजुली कथालेखनमा समेत सशक्त रूपमा प्रस्तुत भएको बताए। कथासङ्ग्रहले पराजुलीमा बहुविध साहित्यिक क्षमता रहेको पुष्टि गरेको उनको भनाइ थियो।
“सबै स्रष्टा सबै विधामा सफल हुँदैनन्, तर पराजुलीमा त्यो क्षमता देखिएको छ,” उनले भने, “कथासिद्धान्तका आधारमा मूल्याङ्कन गर्दा पनि संग्रहका कथाहरू दमदार र प्रभावशाली छन्।”
सञ्चारकर्मी तथा लेखक श्रीरामसिंह बस्नेतले पराजुलीका कथाको मूल आधार यात्रा रहेको उल्लेख गर्दै उनका सिर्जनामा आञ्चलिकता र स्थानीय जीवनको सजीव चित्रण पाइने बताए। उनले आफू पराजुलीका कथाहरूको पहिलो पाठकसमेत रहेको स्मरण गरे।
कथाकार पराजुलीले कार्यक्रममा कथा लेखनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। कथा साहित्यप्रति आफ्नो दृष्टिकोण स्पष्ट गर्दै उनले कथा कुनै निश्चित परिभाषामा सीमित नहुने धारणा राखे। कथा पढ्दा पाठकले भूगोल, परिवेश, संस्कृति र जनजीवनलाई अनुभूत गर्न सक्नुपर्नेमा उनले जोड दिए।
दुई चरणमा सम्पन्न कार्यक्रममा सञ्चारकर्मी राजेश खनालले लेखक तथा प्रकाशकसँग अन्तरसंवाद सञ्चालन गरेका थिए। सो क्रममा भुँडीपुराण प्रकाशनका केशव पराजुलीले प्रकाशन क्षेत्रका चुनौती, घट्दो पठन संस्कार तथा भाषा–साहित्यप्रति राज्यको उदासीनताबारे आफ्ना धारणा राखेका थिए।
सुनकोशी वाङ्मय प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तारा केसीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने प्रतिष्ठानका महासचिव प्रदीप सापकोटाले कार्यक्रम सञ्चालन गरेका थिए।
नियात्राकारका रूपमा परिचित विष्णुप्रसाद शर्मा पराजुलीको यो कथासङ्ग्रहले उनलाई कथाकारका रूपमा समेत स्थापित गर्ने विश्वास कार्यक्रममा सहभागी साहित्यकारहरूले व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया