विकटबाट सुशासनको नमुना बन्दै महाभारत

काभ्रेपलाञ्चोकको दुर्गम पहाडी क्षेत्रमा पर्ने महाभारत गाउँपालिका अहिले सुशासन र वित्तीय अनुशासनको उदाहरणीय स्थानीय तहका रूपमा परिचित बन्दै गएको छ । लगातार तीन आर्थिक वर्षसम्म शून्य बेरुजु कायम गर्दै गाउँपालिकाले देशभरका ७५३ स्थानीय तहमध्ये उत्कृष्ट तीन स्थानीय सरकारभित्र स्थान बनाउन सफल भएपछि स्थानीयवासी उत्साहित बनेका छन् ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३औँ वार्षिक प्रतिवेदनमा महाभारत गाउँपालिका लगातार तीन वर्ष शून्य बेरुजु कायम गर्ने एकमात्र पालिका बनेको उल्लेख छ । गाउँपालिकाको यो उपलब्धिलाई स्थानीयले नेतृत्वको प्रतिबद्धता, पारदर्शी प्रशासन र निरन्तरको मेहनतको परिणामका रूपमा लिएका छन् ।

स्थानीयवासीका अनुसार गाउँपालिका अध्यक्ष कान्छाराज जिम्बा को अथक मेहनत र सक्रिय नेतृत्वले गाउँपालिकालाई नयाँ पहिचान दिलाएको हो । पहिलोपटक अध्यक्ष निर्वाचित हुँदा उनी नेपालकै कान्छा जनप्रतिनिधिमध्ये एक थिए । युवा नेतृत्वका रूपमा उदाएका जिम्बाले महाभारतलाई “विकट” को परिचयबाट “सुगम र व्यवस्थित” स्थानीय तहमा रूपान्तरण गर्ने अभियान अघि बढाएको स्थानीयको भनाइ छ ।

पहाडी भौगोलिक कठिनाइ, सीमित स्रोतसाधन र पहुँचको समस्याबीच पनि गाउँपालिकाले सडक, शिक्षा, स्वास्थ्य, खानेपानी र प्रशासनिक सेवामा सुधार गर्दै आएको छ । वित्तीय अनुशासन कायम गर्दै विकासलाई प्राथमिकतामा राखेकाले महाभारतले निरन्तर सफलता हासिल गरिरहेको स्थानीय बताउँछन् ।

गाउँपालिकाले सार्वजनिक गरेको सन्देशमा जनताको विश्वासलाई कहिल्यै गुम्न नदिने प्रतिबद्धता व्यक्त गरिएको छ । शून्य बेरुजु कायम गर्न सहयोग पुर्‍याउने जनप्रतिनिधि, कर्मचारी, सेवाग्राही तथा सरोकारवाला सबैप्रति गाउँपालिकाले धन्यवाद ज्ञापन गरेको छ ।

स्थानीय तहमा सुशासन, पारदर्शिता र जिम्मेवार खर्च व्यवस्थापनको अभ्यास कमजोर भइरहेको बेला महाभारत गाउँपालिकाको उपलब्धिलाई धेरैले उदाहरणीय अभ्यासका रूपमा हेर्न थालेका छन् ।

तपाईको प्रतिक्रिया