साहित्यकार ध्रुवकृष्ण ताम्राकारको दह नामक उपन्यासको लोकार्पण हालै एक कार्यक्रमकाविच गरिएको छ। सो उपन्यासको लोकार्पण उपन्यासकार तथा कार्यक्रमका प्रमुख अतिथि प्रा डा बिष्णु एस राई, साहित्यकार सूर्य लाकोजू , समालोचक डा हरिप्रसाद सिलवाल, समालोचक ध्रुब मधिकर्मी र उपन्यासकार ध्रुव ताम्राकारले संयुक्त रूपमा विमोचन गरेका हुन्।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिष्णु राईले दह एक पठनीय कृति भएको बताए। एक प्रसंगमा उनले पुस्तक समाजका लागि लेखिने भएकाले कथाले समाजमा घट्ने घटनाहरूलाई सजीव ढंगले प्रस्तुत गर्नुपर्ने विचार व्यक्त गरे।
त्यस्तै साहित्यकार सूर्य लाकोजूले उपन्यास पठनीय रहेको बताए। उनले उपन्यास समाजमा भएका वास्तविक घटनाहरूमा आधारित रहेकाले पढ्दै जाँदा तपाईहामीले देखेभोगेका कुराहरू रहेको आभास मिल्ने बताए। त्यस्तै प्रमुख वक्ता समालोचक हरिप्रसाद सिलवालले कृति सरल भएर पनि सरस र गहन भएको विचार व्यक्त गरे । अर्का वक्ता ध्रुब मधिकर्मीले उपन्यास गहन र पठनीय रहेको विचार पोखे ।
सर्जक ताम्राकारको यसअघि ‘प्रारम्भ’ र ‘हृदयका उद्गार’ गरी दुइटा कविता संग्रह, भावनाका उत्सर्ग गीत संग्रह, स्पन्दन मुक्तक संग्रह र आँसुको कथा एवं मिराज कथा संग्रह प्रकाशित छन्।
अक्षरमार्गद्वारा आयोजित सो कार्यक्रमको सञ्चालन शम्भुलाल श्रेष्ठले गरेका थिए ।

तपाईको प्रतिक्रिया