ट्रम्पको चीन भ्रमण लगत्तै पुटिन पनि बेइजिङ जाने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको महत्वपूर्ण चीन भ्रमण लगत्तै रूसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि चीन भ्रमणमा जाने भएका छन्। पुटिनको आगामी बेइजिङ यात्राको तयारी लगभग अन्तिम चरणमा पुगेको र भ्रमणको आधिकारिक मिति चाँडै घोषणा गरिने रूसी समाचार एजेन्सी ‘तास’ले क्रेमलिनलाई उद्यृत गर्दै जनाएको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरूसँग कुरा गर्दै भ्रमणको रूपरेखालाई अन्तिम रूप दिने काम भइरहेको पुष्टि गरे पनि यसको विस्तृत एजेन्डा र रणनीति भने अहिल्यै सार्वजनिक गरिएको छैन।

यसअघि, मे ९ मा रूसी राष्ट्रपति पुटिनले दोस्रो विश्वयुद्धको स्मरणका क्रममा युक्रेन द्वन्द्वलाई लिएर भारत, चीन र अमेरिका समक्ष परिस्थिति जन्य सूचना प्रस्तुत गरेका थिए। उनले किएभसँग तीन दिने युद्धविरामका लागि मार्ग प्रशस्त गर्दै क्षेत्रीय शान्तिको पहल समेत गरेका थिए। पुटिनको यो आसन्न चीन भ्रमणलाई विश्वकै ध्यान खिचिरहेको अमेरिकी राष्ट्रपति ट्रम्पको चीन भ्रमणपछिको अर्को रणनीतिक कदमका रूपमा हेरिएको छ।

यसैबीच, बेइजिङमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार फक्स न्यूजसँगको अन्तर्वार्तामा चीनले ‘स्ट्रेट अफ होर्मुज’ खुला भएको हेर्न चाहेको उल्लेख गरे। ट्रम्पका अनुसार चिनियाँ राष्ट्रपति सी चिनपिङ यस मामिलामा सम्झौता भएको हेर्न र आवश्यक परेको खण्डमा जुनसुकै सहयोग गर्न तयार छन्। ट्रम्पले अमेरिकी र चिनियाँ जनताबीचको समृद्धि र स्थायी सम्बन्धका लागि हालैका अवसर तथा सम्झौताहरू निकै विशेष रहेको दाबी गर्दै राष्ट्रपति सीलाई आगामी सेप्टेम्बर २४ मा ह्वाइट हाउस भ्रमणको औपचारिक निमन्त्रणा समेत दिइसकेका छन्।

बेइजिङमा अमेरिकी राष्ट्रपति ट्रम्पको सम्मानमा आयोजित राजकीय भोजका क्रममा चिनियाँ राष्ट्रपति सी चिनपिङले मेलमिलाप र समन्वयका माध्यमबाट दुवै देश सँगै अगाडि बढ्नुपर्ने प्रस्ताव राखे। विश्वका दुई ठूला अर्थतन्त्रहरूबीचको सम्बन्धलाई आधुनिक युगकै सबैभन्दा महत्त्वपूर्ण द्विपक्षीय सम्बन्धको रूपमा वर्णन गर्दै सीले यो सम्बन्धमा कहिल्यै गडबडी आउन दिन नहुने चेतावनी दिए। उनले चीन र अमेरिकाले एक-अर्कालाई सफल हुन र सम्पूर्ण विश्वको कल्याणलाई अगाडि बढाउन मद्दत गर्न सक्ने विश्वास समेत व्यक्त गरे।

तपाईको प्रतिक्रिया