
काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं ११ मा रहेको आर्दश विद्या मन्दिरको प्राङ्गण सोमबार भरिभराउ थियो । कालो गाउन, कालो टोपीमा चिटिक्क परेका बालबालिका आफ्ना बुबा आमासँग रमाईरहेका थिए ।
केही बालबालिका मञ्चमा पुगेर आफू आफ्नो बुबा आमा र हजुरबुबा हजुरआमाको परिचय गराउँदै थिए । उनीहरुका प्रस्तुती दर्जनौ संचारकर्मीले आफ्नो क्यामेरामा कैद गरिरहेका थिए । कार्यक्रममा प्रमुख अतिथी तेजगंगा क्याम्पसको संस्थापक डा.अम्बुभवानी कार्की आफ्नो मोबाईलमा कैद गर्न व्यस्त हुनुहुन्थ्यो । कसैलाई हतारो थिएन, कहिले घाम र कहिले पानीले वातावरण नै रोमाञ्चक बनिरहेको थियो ।

आफ्ना छोराछोरीको प्रतिभा हेर्ने दिक्षान्तमा सँगै गएर फोटो खिच्ने र सेल्फी खिच्ने अलग्लै ठाउँ बनाईएको थियो । हरेक बिषयमा राम्रो बनाउने अथक प्रयास सो विद्यालयले गरेको देखिन्थ्यो अनि अभिभावक पनि उत्कृष्ट शैक्षिक संस्थामा आफ्ना छोराछोरीलाई अध्ययन गराउन पाएकोमा खुसी हुनुहुन्थ्यो ।
प्रमुख अतिथी कार्कीले बालबालिकालाई हसाउँदै बुझाउँदै पढाउने उदेश्य एबिएम स्कुलले गरेको पाएको बताउनुभयो । उहाँले अभिभावकको मुहारमा हासो, विद्यालय संचालकले गरेको उत्कृष्ट टिमवर्कले एबिएमले सफलता हात पारेको बताउनुभयो ।

विद्यालयका प्रिन्सिपल रामप्रसाद तिमल्सिनाले अभिभावकको सहयोगले मात्रै विद्यालयले सफलता हात पारेको बताउँदै शिक्षकशिक्षिकाको मेहनत, कर्मचारीको लगनशिलता, अभिभावकको सहयोगले विद्यार्थीमा मेहनत गर्नूपर्छ भन्ने भावनाको विकास भएको बताउनुभयो । विद्यालयको प्रगति विवरण प्रस्तुत गर्दै आगामी दिनमा विद्यालयले गर्ने कामहरुको योजनाका बारेमा जानकारी दिनुभयो । उहाँले विद्यार्थीका लागि किताबी ज्ञानले मात्र नभइ अन्य सीपमुलक र व्यवहारिक ज्ञान पनि उतिकै महत्वपूर्ण रहेकाले यस्ता कार्यक्रम गरिएको र आगामी दिनमा पनि निरन्तर रहने बताउनुभयो । ०८० सालदेखि विद्यालयले विद्यार्थीहरुलाई दीक्षितको कार्यक्रम शुरु गरिएको उहाँको भनाइ थियो । उहाँले दिनुभएको जानकारी अनुसार हाल विद्यालयमा १ हजार १२५ विद्यार्थी अध्ययनरत छन् भने यो वर्षको एसइइमा २५ जनाले सहभागीता जनाएका छन् ।

विद्यालय व्यवस्थापन समितिको सदस्य सिता नेपालीले उत्कृष्ट शैक्षिक संस्था रोजेर आफूहरुले सही निर्णय लिएको बताउनुभयो ।
कार्यक्रम रामकृष्ण आचार्यको सभापतित्वमा सम्पन्न भएको थियो । सहायक प्रधानाध्यापक ललिता बञ्जाराले स्वागत गर्दै सबैको सहयोगले विद्यालय अघि बढीरहेको र आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्नुभयो ।

आदर्श विद्या मन्दिर –एबिएम स्कुल) बनेपाले काभ्रे जिल्लामै पहिलो पटक आईएसओ प्रमाणपत्र पाउने विद्यालयको रुपमा आफूलाई चिनाएको छ ।
यो विद्यालयले जिल्लामा निजीतर्फका धेरै विद्यालयको तुलनामा आफूलाई अब्बल र सक्षम बनाउँदै लगेको छ । विसं २०६१ सालमा स्थापना भएको आदर्श विद्या मन्दिरले ०६८ सालदेखि एसएलसीमा सहभागिता जनाएको हो । त्यसयता एसएलसी र एसइइमा उत्कृष्ट नतिजा ल्याउन विद्यालय सफल भएको छ । विगत नौ वर्षयता यहाँ कक्षा ११ र १२ मा पढाई शुरु भएको संस्थापक प्रिन्सिपल रामप्रसाद तिमल्सिनाले बताउनुभयो ।

आफ्ना नानीबाबुहरुलाई असल नागरिक बनाउने एउटा भरपर्दो गन्तव्य हुन सक्ने यस विद्यालयमा आएर भर्ना गराउन उहाँले सम्पूर्ण अभिभावकहरुलाई अनुरोध गर्नुभएको छ । गत वर्षको एसइइमा यहाँबाट ३१ जना विद्यार्थी सहभागी भएकोमा सबैलाई उत्कृष्ट नतिजासहित उत्तीर्ण गराउन विद्यालय सफल भएको थियो । यहाँ कक्षा १२ को नतिजा पनि उत्कृष्ट नै रहेको पाइएको छ । एबिएम बनेपाको मात्र नभएर काभ्रे जिल्लाकै एक भरपर्दो शैक्षिक गन्तव्य भएकोमा कुनै शंका नभएको त्यहाँ सहभागि अभिभावकले उल्लेख गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया