
बनेपा÷ शनिबार दिउँसो विद्यालयको सभाहल असाध्यै चहलपहलपूर्ण थियो । अभिभावक, शिक्षक र विद्यार्थीको बाक्लो उपस्थितिबीच मञ्चमा बालबालिकाको आत्मविश्वास झल्किने तयारी चलिरहेको थियो । कार्यक्रमको औपचारिक उद्घोषसँगै सुरु भएको सांस्कृतिक प्रस्तुति क्रमशः भावनात्मक उचाइमा पुग्दै गयो ।
सबैको ध्यान तान्ने प्रस्तुति थियो—‘आमा’ शीर्षक नाटक । मञ्चमा देखिएको आमाको माया, त्याग र संघर्षको कथा केवल अभिनयमा सीमित रहेन, उपस्थित दर्शकको मनमा प्रत्यक्ष अनुभूति बनेर पुगेको थियो । सजीव संवाद, भावनात्मक अभिव्यक्ति र सन्देशमूलक कथावस्तुले सभाहल एकछिन स्तब्ध बनायो । कतिपय अभिभावक आँखा पुछ्दै देखिन्थे । मंञ्चका अतिथीका पनि आँखा रसाए । त्यसपछि प्रमुख अतिथीको उर्जाशिल मतव्यले अभिभावक उचित विद्यालयमा आफ्ना छोराछोरी पढाउन पाएकोमा खुसी देखिन्थे ।
सिर्जनशीलताले भरिएको मञ्च कार्यक्रम केवल नाटकमा सीमित थिएन । विद्यार्थीले गीत र नृत्य प्रस्तुत गर्दै आफ्नो प्रतिभा उजागर गरे । परम्परागत र आधुनिक भाकामा प्रस्तुत गीत–नृत्यले सभाहलमा उत्साह थपेको थियो ।

यसबाहेक, लाईभ पेन्टिङले कार्यक्रमलाई अझ विशेष बनायो । सेतो क्यानभासमा बिस्तारै आकार लिँदै गएको चित्रले दर्शकलाई सृजनशीलताको यात्रामा डो¥यायो । बालमनको कल्पनाशीलता र अभिव्यक्तिको स्वतन्त्रता क्यानभासमा जीवन्त बनेर देखिएको थियो ।
आत्मविश्वासको पाठ

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतमले विद्यालयको शैक्षिक गुणस्तर र कार्यक्रम व्यवस्थापनको प्रशंसा गर्नुभयो । उहाँले बालबालिकामा सानैदेखि आत्मविश्वास विकास गराउने यस्ता रचनात्मक अभ्यास आवश्यक रहेको बताउनुभयो ।
उहाँका अनुसार, पाठ्यपुस्तकको ज्ञानसँगै जीवनोपयोगी सीप र भावनात्मक सुदृढता पनि उत्तिकै महत्वपूर्ण हुन्छ । यस्ता मञ्चले विद्यार्थीलाई आफ्नो प्रतिभा प्रस्तुत गर्न, विचार अभिव्यक्त गर्न र नेतृत्व क्षमता विकास गर्न अवसर प्रदान गर्छ ।
कार्यक्रममा प्याब्सनका केन्द्रीय उपमहासचिव भीमसेन केसी , प्याब्सन काभ्रेका अध्यक्ष श्यामबहादुर भुजेल, बनेपा नगरपालिका–५ का अध्यक्ष बलराम अधिकारी तथा विद्यालयका संस्थापक रामप्रसाद अधिकारीको उपस्थिति थियो । कार्यक्रमको सभापतित्व पुष्प कोईरालाले गर्नुभएको थियो ।
सम्बन्धको सेतु

कार्यक्रमको अन्त्यतिर निर्देशक चन्द्रप्रसाद ताजपुरियाले धन्यवाद ज्ञापन गर्दै अभिभावकको उत्साहजनक उपस्थितिले विद्यालय परिवारलाई थप ऊर्जा मिलेको उल्लेख गर्नुभयो । उहाँले विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न निरन्तर प्रयास गरिरहेको र अभिभावकको सुझाव तथा साथले संस्थालाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।
यो कार्यक्रम केवल सांस्कृतिक प्रस्तुति मात्र रहेन, विद्यालय र अभिभावकबीचको सम्बन्धलाई अझ नजिक ल्याउने सेतु बन्यो । मञ्चमा प्रस्तुत ‘आमा’ को कथा सकिए पनि त्यसले दिएको सन्देश भने धेरैका मनमा लामो समयसम्म गुञ्जिरहनेछ ।
बनेपाको मुटु चारदोबाटो नजिकै रहेको प्रगति प्रभात एकेडेमी सेकेन्डरी स्कूल बनेपा–७ को ३९ औ अभिभावक दिवसको पहिलो दिन कक्षा नर्सरीदेखि कक्षा युकेजीसम्मका विद्यार्थीले आफनो प्रतिभा देखाएका छन् । उ भन्दा उ अझै उत्कृष्ट । नृत्यमा झनै पोख्त, विद्यार्थीको भव्य तयारीले अभिभावक पनि निक्कै खुसी हुनुभएको थियो । सोही अवसरमा युकेजीबाट कक्षा एकमा स्तरोन्नती भएका विद्यार्थीलाई दिक्षित समेत गरिएको थियो ।

कार्यक्रममा विद्यालयको वार्षिक प्रतिवेदन प्रिन्सिपल सुमित्रा श्रेष्ठले प्रस्तुत गर्नुभयो । उहाँले विद्यालयमा ७ सय जना विद्यार्थीहरुले अध्ययन गरिरहेको जानकारी गराउनुभयो । उहाँका अनुसार कक्षा ८ देखी स्मार्ट वोर्ड मार्फत अध्यापन गराएको, विद्यार्थीहरुलाई प्राविधिक शिक्षालाई जोड दिएको, अतिरिक्त कक्षाहरुलाई विशेष प्राथमिकतामा राखी अध्यापन गराउँदै आएको जानकारी सभामा गराउाुभयो । प्रत्येक विद्यार्थीहरुलाई उहाँहरुको क्षमता अनुसार विभिन्न अतिरिक्त क्रियाकलापमा भाग लिन लगाएको प्रिन्सिपल श्रेष्ठले बताउनुभयो ।

तपाईको प्रतिक्रिया