बनेपा÷काभ्रेपलाञ्चोक जिल्लाको उत्कृष्ट शैक्षिक संस्थाको रुपमा विकास भएको नाइटिङ्गेल एकेडेमीले हरेक बर्ष फरक र पृथक कार्यहरु गर्दै आएको छ । सोही अनुसार परियोजना आधारित सिकाइ (प्रोजेक्ट बेस लर्निङ) को प्रदर्शनी विद्यार्थीहरुले गरेका छन् । सुरु प्रदर्शनीमा कक्षा ८ र ९ का विद्यार्थीहरूले तयार पारेका विविध शैक्षिक परियोजनाहरू प्रस्तुत गरिएको छ । यस अवसरमा विद्यार्थीका अभिभावकहरूलाई पनि आमन्त्रण गरिएको थियो ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक उमा बस्नेतले पीबीएल पद्धतिले विद्यार्थीमा सृजनशीलता, समालोचनात्मक सोच, सहकार्य र आत्मविश्वास विकास गर्ने बताउनुभयो । “विद्यार्थीहरूले कक्षाकोठामा सिकेको ज्ञानलाई व्यवहारमा उतार्ने यो उत्कृष्ट माध्यम हो,” उहाँले भन्नुभयो । प्रदर्शनीमा विद्यार्थीहरूले विज्ञान, वातावरण संरक्षण, प्रविधि, सामाजिक समस्या, नवप्रवर्तन र जीवनोपयोगी सीप सम्बन्धी परियोजनाहरू प्रस्तुत गरेका छन्। विद्यार्थीहरूले आफ्ना परियोजनाबारे अभिभावक तथा आगन्तुकहरूसँग प्रत्यक्ष संवाद गर्दै व्याख्या गरेका थिए ।
कार्यक्रम अवलोकन गरेका अभिभावकहरूले आफ्ना छोराछोरीको प्रस्तुति, प्रस्तुतीकरण शैली र आत्मविश्वास देखेर खुसी व्यक्त गरे। शिक्षकहरूले पनि विद्यार्थीहरूको मेहनत, अनुसन्धान क्षमता र टोलीकार्यको प्रशंसा गरेका थिए ।
विद्यालय प्रशासनका अनुसार पीबीएल प्रदर्शनी आजदेखि कक्षा–कक्षागत रूपमा केही दिनसम्म निरन्तर सञ्चालन हुने छ। प्रत्येक दिन फरक–फरक कक्षाका विद्यार्थीहरूले आफ्ना परियोजनाहरू प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । यस प्रकारको शैक्षिक गतिविधिबाट विद्यार्थीहरूमा व्यवहारिक ज्ञान, नेतृत्व क्षमता र समस्या समाधान गर्ने सीप विकास हुने विश्वास विद्यालयले लिएको छ ।
कक्षा कोठामा सिकेको ज्ञानलाई व्यवहारमा उर्तादै नाइटिङ्गेल
2026-02-07T18:21:32+05:45

तपाईको प्रतिक्रिया