
महाभारत गाउँपालिकामा नसर्ने रोगहरूको पहिचान तथा उपचार विस्तार गर्ने उद्देश्यले ‘बा–आमालाई सन्चै छ?’ भन्ने मूल नारासहित समुदायस्तरीय स्वास्थ्य परीक्षण तथा स्वास्थ्य शिक्षा परामर्श सेवा अभियान सुरु गरिएको छ।
माघ २२ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने यस अभियानअन्तर्गत गाउँपालिकाभित्रका ४१ वटा समुदाय स्तरमा स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिनेछ। कार्यक्रमको आज औपचारिक उद्घाटन महाभारत गाउँपालिका अध्यक्ष कान्छा लाल जिम्बाले गर्नुभएको हो।
अध्यक्ष जिम्बाका अनुसार हालसम्म गाउँपालिकाभित्र उच्च रक्तचापका १४१ जना बिरामी नियमित चेकजाँच तथा औषधि सेवन गरिरहेका छन् भने १६ जना मधुमेह (सुगर) का बिरामी उपचारको दायरामा रहेका छन्। तर अझै पनि समुदायमा लुकेर रहेका वा स्वास्थ्य संस्थाको पहुँचमा नआएका उच्च रक्तचाप र मधुमेहका बिरामीहरूको पहिचान गर्न आवश्यक रहेको बताउँदै उहाँले यस अभियानमार्फत त्यस्ता नागरिकलाई उपचारको दायरामा ल्याइने जानकारी दिनुभयो।

उहाँले मृगौला सम्बन्धी समस्याहरू समयमै पहिचान गरी आवश्यक उपचारका लागि प्रेषण गर्ने, साथै स्वस्थकर खानपान र नसर्ने रोगबारे जनचेतना फैलाउने उद्देश्यले यो कार्यक्रम ल्याइएको स्पष्ट पार्नुभयो।
अभियानअन्तर्गत उच्च रक्तचाप (ब्लड प्रेसर), मधुमेह (सुगर), मृगौलाको कार्य परीक्षण (प्रोटिन, सुगर, pH), शरीरको उचाइअनुसार तौल अनुपात (BMI) मापन तथा स्वास्थ्य परामर्श सेवा प्रदान गरिनेछ।
नसर्ने रोगका कारण व्यक्ति, परिवार, समाज र राज्यलाई ठूलो आर्थिक भार परिरहेको, अपाङ्गता भई जीवनभर अरूको सहयोगमा निर्भर रहनुपर्ने अवस्था सिर्जना हुने र अल्पायुमै मृत्यु हुने जोखिम बढिरहेको उल्लेख गर्दै अध्यक्ष जिम्बाले समय–समयमा स्वास्थ्य परीक्षण गराउन सबै नागरिकलाई आग्रह गर्नुभयो।
गाउँपालिकाले ३० वर्ष माथिका सम्पूर्ण नागरिकहरूलाई आफूलाई पायक पर्ने सेवा केन्द्रमा गई कम्तीमा एकपटक स्वास्थ्य परीक्षण गराउन अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया