धुलिखेलमा डि डाउन बाँस्केटबल


धुलिखेलमा D-Town Basketball Academy को वार्षिक बास्केटबल प्रशिक्षण कार्यक्रमको भव्य शुभारम्भ धुलिखेल नगरपालिकाका नगर प्रमुख श्री अशोक ब्याञ्जुज्यूको प्रमुख आतिथ्यतामा तथा काभ्रे बास्केटबल संघका अध्यक्ष श्री शिव थापा मगरको अध्यक्षतामा D-Town Basketball Academy ले आयोजना गरेको वार्षिक बास्केटबल प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोह आज धुलिखेलमा भव्य र उत्साहपूर्ण वातावरणका बीच सम्पन्न भएको छ। काभ्रे जिल्लामा बास्केटबल खेलको प्रवर्द्धन, नव–प्रतिभाको पहिचान तथा युवाहरूको शारीरिक, मानसिक र नैतिक सशक्तीकरण गर्ने उद्देश्यका साथ आयोजना गरिएको यस कार्यक्रम काभ्रे बास्केटबल संघको सल्लाह र सहकार्यमा सञ्चालन गरिएको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख श्री अशोक ब्याञ्जुज्यूले धुलिखेल नगरपालिकाले बास्केटबलजस्ता खेलकुदको विकासका लागि आवश्यक सहयोग गर्न सदैव तत्पर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा धुलिखेलमै व्यवस्थित बास्केटबल कोर्ट निर्माण गर्ने र खेलकुद पूर्वाधार विकासमा नगरपालिकाले सक्दो सहयोग गर्ने स्पष्ट धारणा राख्नुभयो। उद्घाटन समारोहमा नेपाल बास्केटबल संघका उपाध्यक्ष श्री पवन थापा, काभ्रे पत्रकार महासंघका अध्यक्ष श्री विनोद न्यौपाने, पूर्व अध्यक्ष श्री मोतीराम तिमल्सिना लगायत विभिन्न जिल्लाबाट उपस्थित बास्केटबल खेलप्रेमी, प्रशिक्षक, खेलाडी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। उपस्थित वक्ताहरूले बास्केटबल खेलले युवालाई अनुशासन, नेतृत्व र सकारात्मक जीवन दृष्टिकोण प्रदान गर्ने माध्यम बनेको भन्दै यस्ता प्रशिक्षण कार्यक्रमहरू अत्यन्तै आवश्यक रहेको धारणा राखे। कार्यक्रममा काभ्रे बास्केटबल संघका अध्यक्ष श्री शिव थापा मगरले खेलकुदलाई केवल प्रतिस्पर्धाको माध्यम नभई जीवन निर्माणको विद्यालयका रूपमा अगाडि बढाउने लक्ष्यसहित यो अभियान सुरु गरिएको बताउनुभयो। उहाँले स्थानीय तह, संघ–संस्था र खेलप्रेमीहरूको साथले काभ्रेलाई बास्केटबलको महत्वपूर्ण केन्द्र बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रमका संयोजक बैभव कुँवरका अनुसार, प्रशिक्षण सत्रहरू छिट्टै बनेपा स्थित ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा सञ्चालन हुनेछन्, जहाँ अनुभवी प्रशिक्षकहरूको नेतृत्वमा नियमित र व्यवस्थित प्रशिक्षण प्रदान गरिनेछ। विभिन्न जिल्ला र क्षेत्रबाट आएका खेलप्रेमीहरूको उल्लेखनीय उपस्थितिका बीच उत्साह, आशा र सकारात्मक ऊर्जा बोकेको यो उद्घाटन समारोह सफलतापूर्वक सम्पन्न भएको छ। D-Town Basketball Academy परिवारले बास्केटबलमार्फत युवाको भविष्य उज्यालो बनाउने यात्रामा सबैको निरन्तर साथ र सहयोगको अपेक्षा गरेको छ।

तपाईको प्रतिक्रिया