कुशादेवीमा तेक्वान्दो प्रतियोगिता

बनेपा÷खेलकुदको क्षेत्रमा अब्बल रहेको विहावर क्षेत्रमा जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । विहावर क्षेत्रका पनौती नगरपालिका वडा नम्वर १, २ र ३ साविक रयाले र कुशादेवीकमा आगामी पौष ४ देखि ६ गतेसम्म तेक्वान्दोका विभिन्न उमेर समुहका खेलाडीबीच प्रतिस्पर्धा हुन लागेको हो । प्रतियोगितामा क्याप्टेन रामेश्वर थापा र समाजसेवी जङ्गबहादुर जङ्गमको सहयोग रहनेछ ।
कुशादेवी तेक्वान्दो डोजाङ्गको सह आयोजनामा हुने प्रतियोगितामा जिल्लाका १७ मध्ये १३ डोजाङ्गका ४ सय खेलाडी सहभागि हुने पत्रकार सम्मेलन गरि वडा कार्यालयले जनाएको छ ।
पनौती नगरपालिका वडा नम्वर ३ का अध्यक्ष विष्णुप्रसाद सापकोटाले पत्रकार सम्मेलनको सभापतित्व गर्दै प्रतियोगिताले विहावर क्षेत्रको खेल विकासमा सहयोग गर्ने बताउनुभयो ।
पनौती नगरपालिकाको उपप्रमुख गिता बञ्जाराले नगरपालिकाले खेल क्षेत्रलाई प्राथमिकता दिदै आएको बताउनुभयो । उहाँले नगर कार्यपालिकाको बैठकले तेक्वान्दोका लागि २ लाख बजेट विनियोजन गरेको बताउँदै बञ्जाराले खेल र खेलाडी उत्पादन, खेल क्षेत्रको मनोबल उकास्न र खेलाडीहरुलाई ब्यवसायीक रुपमा सक्षम बनाउन स्थानीय स्तरमा प्रशिक्षण केन्द्रहरु तयार गर्नु पर्नेमा जोड दिनुभयो ।
पनौती नगरपापलिका वडा नम्वर २ का अध्यक्ष पुरुषोत्तम अधिकारीले प्रतियोगिताका बारेमा जानकारी गराउँदै वडा स्तरीय बजेट र विभिन्न संघ संस्थाको सहयोगमा प्रतियोगिता सम्पन्न गर्ने बताउनुभयो ।
२०५२ सालमा पनौती ७ स्थायी भएका तेक्वान्दो प्रशिक्षक रामचन्द्र कर्माचार्यले प्रशिक्षण दिई शुरु भएको उक्त खेलबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीहरु तयार भएको उल्लेख गर्नुभयो ।
पनौती नगरपालिकाबाट अन्तराष्ट्रिय खेलमा संजीव प्रधान, रामहरी महत, दिपेन्द्र थापा, विनोद थापा, सुरज घिमिरे लगायतका खेलाडीहरुले स्वर्ण पदक जितेका छन् ।
पछिल्ला दिनमा तेक्वान्दो संघका अध्यक्ष केशव थापाको नेतृत्वमा श्रीलंकामा आयोजित प्रथम दक्षिण एशियाली तेक्वान्दो च्याम्पियनसिमा पनौती नगरपालिका वडा नम्वर २ का कुशल हुमागाई र विवेक तामाङ, जापानमा विरेन्द्र हुमागाई, मलेसियामा केशव थापा, थाईल्याण्डमा केशव थापा, राष्ट्रिय खेलमा प्रकृति थापा र दिपिका सापकोटा सहभागी भएर पदक जित्न सफल भएका छन् ।
अध्यक्ष केशव थापाले विभिन्न २० वटा इभेन्टमा प्रतिस्पर्धा हुने बताउनुभयोे । महिला तर्फ २० देखि केजी ५८ केजीसम्म र पुरुष तर्फ २२ केजीदेखि ६० केजीसम्मको तौल समुमा प्रतिस्पर्धा हुने छ । २० स्वर्ण, २० रजत र ४० कास्य पदक सहित प्रथम ट्रफि, दोश्रो ट्रफि र नगद पुरस्कार समेत उपलब्ध हुनेछ । प्रतियोगिताका लागि १० लाख रुपैया भन्दा धेरै खर्च हुने अनुमान गरिएको छ । कुशादेवी माविको प्राङ्गणमा हुने प्रतियोगिताले खेल पर्यटनलाई टेवा पुग्ने विश्वास लिइएको छ । पत्रकार सम्मेलनमा वडा सदस्यहरु, स्थानीय संघ संस्थाका प्रतिनिधिहरु तथा खेलसँग सम्वन्धित ब्यक्तिहरुको सहभािगता रहेको थियो ।

तपाईको प्रतिक्रिया