पाँचखालमा लागुऔषधको कारोबार बढेपछि प्रहरी एक्सनमा

पाँचखाल÷पाँचखाल र मण्डनदेउपुरसँगै भुम्लु गाउँपालिकामा पछिल्लो समय लागुऔषध प्रयोगकर्ताको संञ्जाल फैलिएसँगै प्रहरीले नियन्त्रणमा सकृयता देखाएको छ । पाँचखाल नगरपालिका क्षेत्रमा लागुऔषध ओसार–पसार तथा बिक्री वितरणमा संलग्न रहेको दुई जनालाई पक्राउ गरेसँगै पाँचखालमा लागुऔषधको जालो फैलिएको पुष्टि गरेको छ ।
प्रहरीले पाँचखाल नगरपालिका–५ स्थित अरनिको राजमार्गमा धुलिखेलबाट पाँचखालतर्फ आउँदै गरेका एक व्यक्तिलाई लागुऔषधसहित र पाँचखाल नगरपालिका–९ पलाञ्चोकबाट अर्का एकजनालाई गाँजासहित पक्राउ गरेको हो ।
पाँचखाल प्रहरी चौकीका इञ्चार्ज प्रहरी निरीक्षक प्रशान्त तामाङका अनुसार पक्राउ पर्नेहरूमा पाँचखाल–६ बस्ने ‘माटे’ उपनामले चिनिने समिर पराजुली, पाँचखाल–९ पलाञ्चोक बस्ने ज्ञानबहादुर खत्री छन् । माटेको गतिविधि शंकास्पदहुँदै रहेको थियो । माटेको साथबाट ट्रामाडोल १९ फाइल, नाइट्रोमोल लगायतका लागुऔषध बरामद गरेको हो । खत्रीलाई पलाञ्चोकबाट तीन किलो गाँजासहित नियन्त्रणमा लिईएको हो । प्रहरी निरीक्षक तामाङले पाँचखाल र आसपासका क्षेत्रमा केही दिनयता लागुऔषधको कारोबार बढिरहेको सूचना पाएपछि विशेष खोजी अभियान सञ्चालन गरेको उल्लेख गर्नुभयो ।
लागुऔषध सेवन तथा ओसारप्रसारले समाजमा त्रासदी वातावरण सिर्जना गर्ने स्थानीयवासीले त्रासमुक्त वातावरणमा बस्न पाउने अधिकार सुरक्षित राख्नु हाम्रो कर्तव्य भएको प्रहरीले उल्लेख गरेको छ । प्रहरीले पाँचखाल तथा नजिकका क्षेत्रलाई लागुऔषध मुक्त क्षेत्र बनाउने लक्ष्यसँगै निगरानी र नियन्त्रण अभियानलाई अझ कडा बनाइएको उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया