उद्योग वाणिज्य संघको भुमिकाले पुलबजारको विवाद सल्टियो, अब धमाधम काम हुने

काभ्रे उद्योग वाणिज्य संघले एक बर्षदेखि खेलेको सकारात्मक पहलकदमीले अबरुद्ध रहेको अरनिको राजमार्गको बनेपा तीनदोबाटोदेखि पुलबजारसम्मको सडकमा देखिएको विवाद समाधान भएको छ ।
स्थानीय नागरिकसँगको परामर्श बिना एकलौटी रुपमा डिपिआर बनाएर जबरजस्ती लाद्न खोजेपछि काभ्रे उद्योग वाणिज्य संघले सडक निर्माणमा सुधार गर्न पटक–पटक सुझाव दिएको थियो । सुझावलाई कार्यान्वयन नगरि एकलौटी रुपमा आयोजनाले पेल्न खोजेपछि तीनदोबाटोदेखि पुलबजारसम्मको सडक विस्तार रोकिएको थियो ।
उद्योग वाणिज्य संघका अध्यक्ष प्रताप वैद्यले आयोजनाले प्रत्यक्ष रुपमा धेरै कुरा सुधार गरि पुनः डिपिआर तयारपारेको र त्यसले सो क्षेत्रका नागरिकलाई सुविधा पुग्ने विश्वास व्यक्त गर्नुभयो । डुबानको बहनामा पुलबजारमा निर्माण हुन लागेको ३.५ मिटर अग्लो पुल अब २.६८ मिटरमै सम्पन्न हुने आयोजनाले बनेपा नगरपालिकामा भएको छलफलमा जानकारी दिएको छ । तीनदोबाटोदेखि पुलबजारसम्मको सडकमा केन्द्र भाग कायम गरेर सोही अनुसार सडक निर्माणको सहमति भएको छ । स्थानीयले सुरुदेखि नै सडकको केन्द्र भाग पहिचानको माग गर्दै आएका थिए । यसअघि आयोजनाले सो क्षेत्रमा ५.५ मिटरको सर्भिस लेन बनाउने डिपिआर तयार पारेकोमा अब बन्ने सडक ६÷६ मिटरको सर्भिस लेन बन्ने भएको छ । त्यसभन्दा उता फुटपाथ निर्माण हुनेछ ।
उद्योग वाणिज्य संघले २०८० जेठ २४ गतेदेखि निरन्तर पुण्यमातामा बन्ने पुल र केन्द्र भाग सर्भिस लेनको बारेमा आवाज उठाएको थियोे । त्यस्तै सडक विस्तारका क्रममा असहज हुने खानेपानी,बिलुली र ढल व्यवस्थापनका लागि पुलबजारमा अर्डरपासको व्यवस्था सहितको मोडल सडक डिभिजन कार्यालयले तयार पारेर सार्वजनिक गरेसँगै काभ्रे उद्योग वाणिज्य संघको दुरदर्शिता अहिले आएर पुष्टि भएको हो ।
आगामी बर्षामा हुन सक्ने डुबानको निराकरणको लागि अहिले नै माटो खोल्ने, करिडोरका लागि खोलाको नक्सा कायम गरेर सोही अनुसार योजना बनाउन उपयुक्त हुने सुझाव उद्योग बाणिज्य संघले दिएको छ ।
आईतबार बनेपा नगरपालिकामा विवाद समाधान भएको घोषणा मेयर शान्तिरत्न शाक्यले गर्नुभयो । उहाँले भन्नुभयो, तीनदोबाटोदेखि पुलबजारसम्मको सडकमा देखिएको विवाद सडकको साईज नघट्ने गरि निर्माण गर्ने सहमति भएको बताउनुभयो । उहाँले सुर्यविनायक धुलिखेल सडक अन्तरगतको साँगा धुलिखेल सडकको डिजिटल नापी नक्सा कायम भैसकेकाले सोही नक्सालाई आधारमानि सडक सिमा क्षेत्र कायम गरि रेङ्गाकन गरि सडक सुचारु गर्ने निर्णय गरेको बताउनुभयो ।
त्यस्तै, सडक सिमाभित्र डिजाईन स्टटान्डर नघट्ने गरि निर्माण कार्य अघि बढाउने निर्णय गरेको उहाँले स्पष्ट पार्नुभयो । उहाँले सडकको डिजाईनमा न्युनतम एकातिर साढे ८ मिटर सडक आवश्यक पर्ने र सोभन्दा नघट्ने गरि सडक निर्माण गर्ने बताउनुभयो । त्यसमा थप ६ मिटरको सर्भिस लेन र दुई मिटरको फुटपाथ बनाउने उल्लेख गर्नुभयो ।
कार्यक्रममा सूर्यविनायक धुलिखेल सडक आयोजनाका आयोजना प्रमुख विजयकुमार महतो, बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख विमला सापकोटा दाहाल, प्रमुख प्रशासकीय अधिकृत पोषण लामिछानेलगायत विभिन्न वडाका वडाध्यक्षहरु, सरोकारवाला स्थानीयवासीहरु, काभ्रे उद्योग वाणिज्य संघका पदाधिकारी, नापी कार्यालय काभ्रेका जयराम तामाङ, निर्माण कम्पनी र नगरपालिकाका इञ्जिनियरहरु लगायतको उपस्थिती थियो ।
स्थानीयवासीहरुले नगरपालिकामा अरनिको राजमार्गले छुनेजति सबै ठाउँमा एकरुपता कायम गरि काम अघि बढाउनु पर्ने माग राख्दै आएका थिए ।

तपाईको प्रतिक्रिया