रोशी, कोशी, ईन्द्रावतीमा आजभोलि किरा खोज्जेको भिड लाग्न थालेको छ । समुहमा बस्ने समात्न सजिलो हुने र राम्रो मूल्य आउने भएपछि खोला किनारामा ढुंगामुनी बस्ने पतेरो कीरा खोज्नेको भिड नै लागेको छ । एक परिवारका चार जनाले एक बिहान खोज्दा एक किलोसम्म पतेरो कीरा समाउँदा खोलामै तीन हजार दुई सय रुपियाँँ पाउँछन् । खोलामा नै खरिद गर्ने र नगद पाउने भएपछि धादिङ, काभ्रेपलाञ्चोक,रामेछाप, सिन्धुपाल्चोकका नदी किनारामा बस्ने स्थानीयहरु अहिले बालुवा चाल्न र माछा मार्न छाडेर पतेरो कीरा समाउन थालेका छन् ।
समुहमा बस्ने पतेरो कीरा समाउन स्थानीयको बास खोला किनारामा हुन थालेको छ । साँझ र बिहान समाउन सजिलो हुने र एक किलोकै तीन हजार दुई सय रुपियाँसम्म आउने भएपछि धादिङको त्रिशुली नदी, लमजुङको बोराङखोला र चेपेखोला, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकको ईन्द्रावती र सुनकोशी नदी किनारामा झुण्डमा बस्ने पतेरो प्रजातीको कीरा खोज्न मानिसहरु दिनरात मेहनत गरिरहेका भेटिन्छन् ।
खोला किनारामा सहजै पाईने कीरा एक किलोको तीन हजार दुई सय रुपियाँ पाईने भएपछि खोजिमा लागेको सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिकाका बिर्कमान माझीले भन्नुभयो । ‘हामीलाई कानुनको कुरा थाहा छैन, खोलामा भेटिने कीरा समाएर जिउँदै बेच्ने गरेका छौ, पैसा राम्रो आएको र नुन तेल किन्न सकेको छौं’ उहाँले भन्नुभयो,‘समाउन मिल्दैन भनेर सरकारले भन्यो भने समाउँदैनौ ।’
तेमाल गाउँपालिकाका केपी पाण्डेले नदी किनारामा पतेरो कीरा खोज्नेको भिड लागेको बताउनुभयो । ‘यसले आम्दानी दिनु खुसीको कुरा हो तर स्थानीय सरकार सम्बन्धित निकायले पनि यसका फाईदा र बेफाईदाको बारेमा बुझ्न ढिला गर्नुहुँदैन’ पाण्डेले उल्लेख गर्नुभयो । उहाँले राम्रो मुल्य आउने र वैधानिक हो भने सरकारले यसको उत्पादनमै योजना ल्याउन सक्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
जिल्ला कृषि विकास कार्यालय धुलिखेलका कार्यालय प्रमुख कुलप्रसाद दवाडीले खोला किरानामा पाईने पतेरो किन र के प्रयोजनका लागि संकलन भएकोे हो त्यसबारे आफूलाई जानकारी नभएको उहाँले बताउनुभयो । ‘तस्बीरमा हेर्दा पतेरोजस्तो देखिन्छ, यसको प्रयोग किन र के–का लागि भएको छ त्यसबारे जानकारी छैन’ उहाँले भन्नुभयो ।
प्रहरीले २०८१ चैतमा चार किलो पतेरो कीरा सहित एक जनालाई पक्राउ गरेको थियो । लमजुङको बोराङखोला र चेपेखोलामा सङ्कलन गरिएको चार किलो कीरा सहित लमजुङ प्रहरीले धादिङको रुवी भ्याली गाउँपालिकाका ५१ बर्षिया जिम्पा तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) रेशम बोहोराले उल्लेख गर्नुभयो । उहाँले पक्राउ परेका तामाङले स्थानीय नागरिकसँग किनेको पतेरो कीरा चीनका व्यापारीलाई बेच्ने गरेको बताउनुभयो । चीनका व्यापारी स्थानीय एजेन्ट मार्फत पतेरो कीरा किन्ने गरेका छन् । व्यापारी सिधै स्थानीयसँग सम्पर्कमा भने आउने गरेका छैनन् ।
प्रहरीले पतेरो सहित तामाङलाई डिभिजन वन कार्यालय लमजुङलाई बुझाएको उहाँले बताउनुभयो । खोला किनाराका स्थानीय नागरिकले संकलन गरेको सो कीरा तामाङले चिनियाँ व्यापारीलाई प्रतिकिलो १२ हजार रुपियाँमा बेच्ने बयान वन कार्यालयलाई दिएको डिभिजन वन कार्यालय लमजुङका प्रमुख दीपकप्रसाद पंण्डितले जानकारी दिनुभयो । उहाँको मुद्धाको फैसला भने भएको छैन ।
चीनमा यस्ता किराको प्रयोग छालामा लाग्ने रोगको लेपन बनाउन र औषधिको रुपमा प्रयोग हुने गरेको पाईएको उल्लेख गर्नुभयो । उहाँले यसरी कीरा समाएर बिक्री वितरणमा प्रयोगहुँदा तीन महिनासम्म कैद वा २० हजार रुपियाँसम्म जरिवाना हुने प्रावधान रहेको गोरखापत्रलाई जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले ईन्द्रावती र सुनकोशी किनारामा कीरा खोज्ने क्रम बढेको सूचना पाएलगत्तै वास्तविकता पत्ता लगाउन डिभिजन वन कार्यालयसँग समन्वय गरेर कीराको नमूना संकलन गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएसपी रविन बिष्टले सामाजिक संञ्जालमा कीरा टिपेको देखेपछि सुनकोशी नदी किनारामा वन कार्यालय र प्रहरीको प्रतिनिधि पुगेको उल्लेख गर्नुभयो ।
रोशी र कोशीमा ढुंगा पन्छाउँदै किरा खोज्दै
2025-11-30T06:32:36+05:45

तपाईको प्रतिक्रिया