मानवसँगै पशुको पनि उद्धार र उपचार सँगसँगै

यसअघिका बाढी पहिरोजस्ता विपद्को घटनामा मानवीय उद्धार र उपचार पहिलो प्राथमिकतामा परेपनि यो ईलाममा भने मानवसँगै पशुको पनि उद्धार र उपचार सँगसँगै गरिएको छ । सरकारका तीन वटा नै तहको समन्वयमा मानवसँगै पशुको पनि उद्धार र उपचार सँगसँगै गरिएको हो । । घाइते पशुहरुको उपचार र मरेका पशुहरुबाट रोग फैलन नदिन ईलाममा पशु डाक्टरहरु सहितको टोली टोलटोलमा पुगेका छन् ।
ईलाममा रहेको पशु भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले स्थानीय तहका पशु सेवा शाखाको समन्वयमा घुम्ति सेवा दिइरहेको छ । त्यससँगै घुम्ती सेवामा उपचार सेवा, क्षतिग्रस्त पशुहरुको गोठ व्यवस्थापनका लागि त्रिपाल, आहाराका लागि दाना र मरेका पशुरुहरुबाट रोग फैलन नदिन औषधिहरु प्रदान गरिँदै आएको छ । असोज १७ गतेदेखि १९ गतेको अविरल वर्षापछि आएको बाढी र पहिरोले इलाममा मात्रै ३९ जनाको ज्यान गयो । पशुधनमा पनि ठुलो क्षति भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ईलामले उल्लेख गरेको छ । बाढीले सडक, पुल, विद्युत्, खानेपानीजस्ता भौतिक संरचनामा पनि क्षति पु¥यायो । ईलामको माटोको सतहले थेग्नै नसक्ने गरी अति भारी वर्षा भएकाले पहिरो आएको जलवायु विज्ञले उल्लेख गरेका छन् ।
भिरालो जमिनमा घरभन्दा पर गोठ बनाउने परिपाटीले ईलाममा पशुधनको पनि ठूलो क्षति पुगेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ईलामका प्रमुख डा. राघवेन्द्र तिवारीका अनुसार विपद्मा परेर कम्तिमा १२५ वटा गाई, बाच्छा १७ वटा, भैसी ३ वटा, पाडी दुई वटा, रागाँ चार वटा मरेका छन् । बाख्रा २४८ वटा, बंगुर १४९ वटा र दुईवटा घोडा पहिरोले पुरिएर मरेका छन् । कुखुरा ५९३ वटा मरेको ईलाममा पोखरीमा बाढीले बगाएर ९१० किलो माछा मरेका छन् ।
यसअघिका विपद्मा संघीय, प्रदेश र स्थानीय तहका पशु र कृषि प्राविधिकबीचको समन्वय अभाव हुने गरेकोमा ईलाममा भने नयाँ उदाहरण प्रस्तुत भएको छ । मरेका पशुको सिनो व्यवस्थापनसँगै उपचारमा सहजीकरण भएको देखिएको नेपाल पशु चिकित्सा परिषद्का उपाध्यक्ष डा.मनोजकुमार शाहीले उल्लेख गर्नुभयो । सुरक्षा निकायले पनि मानवीय उद्धारपछि पशुको उद्धारमा पहिलो प्राथमिकता राखेको थियो । विपद्मा सुरुवातदेखि नै कृयाशिल सशस्त्र प्रहरी बलका प्रहरी नायव निरीक्षक सुरेन्द्र डोटेलले मानवीयसँगै पशुको उद्धारमा प्राथमिकता दिएको बताउनुभयो ।
विपद्को समयमा पशुपन्छीले सबैभन्दा बढी पीडा भोग्ने गरेका उदाहरण छन् । २०८१ असोजको बाढी पहिरोले सबैभन्दा ठूलो क्षति पारेको काभ्रेपलाञ्चोकको पनौती नगरपालिका र रोशी गाउँपालिकामा खाना र पानी नपाएर गाई भैसीले पाएको पिडा सार्वजनिक भएको थियो । त्यस्तै ईलाममा बाढी पहिरोले मानवीय क्षतिसँगै पशुधनमा ठूलो क्षति गराएपनि पशुधनको सुरक्षामा समन्वयकारी भुमिका देखिएको डा.शाहीले उल्लेख गर्नुभयो ।
यतीबेला ईलाममा पशु सेवा विभागबाट डा .प्रवेश शर्माको टोली पुगेर पशुको उपचार, हुन सक्ने संम्भावित जोखिमको क्षेत्रमा काम गरिरहेको छ । कोशी प्रदेशको पशु अन्वेषण प्रयोगशाला विराटनगरबाट डा.अमित घिमिरेको नेतृत्वको टोलिले ईलाममै बसेर गाउँबस्तीमा पुगेर पशुको उपचारमा काम गरिरहेको छ ।
स्थानीय तहले मानवीयसँगै भौतिक र पशुधनमा भएको क्षतिको विवरण संकलन गरेर काम गरिरहेका छन् । यतिबेला पशु सेवा विज्ञ केन्द्र ईलामसँग त्यहाँका दश वटा नै स्थानीय तहका पशु तथा कृषि शाखाले समन्वय गरेर काम गरेको डा. तिवारीले बताउनुभयो । विपद्को समयमा पशुहरू बाँधिएका, खोरमा थुनिने भएकाले यो समयमा पशुको उद्धारमा विशेष ध्यान पु¥याईएको उहाँले दाबी गर्नुभयो ।
पीडाको समयमा मानिस आफ्नै सुरक्षाको व्यवस्थामा लागेको अवस्थामा पशुहरूप्रति पर्याप्त ध्यान जान सक्दैन जसकारण विपद्को बेला ठूलो संख्यामा पशु, पन्छी र माछाहरू मर्ने गरेकाले त्यसमा विशेष ध्यान पु¥याउन आवश्यक हुने पशु प्राविधिक उद्धवप्रसाद सापकोटाले उल्लेख गर्नुभयो ।
पशुपालन व्यवसायले राष्ट्रिय अर्थतन्त्रमा पु¥याएको योगदान, बहुसंख्यक जनताको जीविकोपार्जनको आधार तथा मानवीयताको आधारमा पनि विपद्को समयमा पशुपन्छीको सुरक्षा गर्नु हाम्रो कर्तव्य हुने सापकोटाले बताउनुभयो । विपद्को समयमा सबै कुराको पालना गर्न र गराउन कठिन हुने भए पनि उच्चतम तहमा प्रयास भने गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
ईलाममा स्वयमसेवक पशु चिकित्सक (विशेष गरी अर्थोपेडिक सर्जन, गाईनेकोलोजिष्ट) पनि परिचालन भएको पशु सेवा विज्ञ केन्द्र ईलामका प्रमुख डा. राघवेन्द्र तिवारीले बताउनुभयो । उहाँले जनरल मेडिसिनका पशु चिकित्सक र पशु स्वास्थ्य प्राविधिकहरु सो कार्यमा खटिएको बताउनुभयो । भेटेरिनरी औषधि, निसंक्रमण गर्न प्रयोगहुने सेनिटाईजर तथा डिसईनफेक्टेन्टस, पशु दाना तथा आहारा पशु गोठको अस्थाई व्यवस्थापनका लागि त्रिपाल समेत वितरण भएको उहाँले दाबी गर्नुभयो ।
पशु अधिकारकर्मी दुर्गानाथ दाहालले विपद् जुनसुकै समयमा पनि आउन सक्ने हुँदा सबै सरोकारवाला पूर्वतयारीको अवस्थामा रहनुपर्ने विपद्को समयमा पशुधनको क्षति कम गराउन र पशु कल्याणको सक्दो पालना गर्न पर्याप्त पूर्वतयारी तथा स्रोतको व्यवस्थापनमा सरकारले ध्यान दिन आवश्यक हुने बताउनुभयो ।

तपाईको प्रतिक्रिया