पोखरामा हुने ११ औं महाधिवेशनबाट नेतृत्व छान्ने निर्णय

नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकले ११ औं राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा आयोजना गर्ने निर्णय गरेको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै केन्द्रीय कमिटीको बैठकले नयाँ नेतृत्वको व्यवस्थापन राष्ट्रिय ११ औं महाधिवेशनमार्फत गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “आगामी दिनमा समग्र नेतृत्वको पुनर्गठन, नयाँ नेतृत्व छनोट गर्ने आदि विषयको सन्दर्भमा मंसिर २७, २८ र २९ गते पोखरामा ११ औं महाधिवेशन गरेर पार्टी नेतृत्वलाई व्यवस्थित गर्नेगरी अगाडि बढ्ने निर्णय गरेको छ ।” उहाँले बैठकमा २२ वटा प्रस्ताव पारित भएको जानकारी दिनुभयो । बैठकले वर्तमान सरकार निर्वाचन गराउने बाटोतर्फ नभएको निस्कर्ष निकालेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “निर्वाचनको कार्यदेश प्राप्त गरेको सरकार निर्वाचनको बाटोतिर होइन, अनिर्वाचित सत्ता लम्ब्याउने दिशामा उद्धत देखिन्छ । निर्वाचनको मूख्य पक्षका रुपमा दलहरुसँग परामर्श, सहकार्य गर्नुपर्नेमा सम्पर्क समेत गर्न चाहिरहेको छैन ।” उहाँका अनुसार बैठकले मुलुकलाई लोकतन्त्रको बाटोमा फर्काउन प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्ने निर्णय गरेको छ ।

उहाँले भन्नुभयो, “निर्वाचन पनि हुन नसक्ने, प्रतिनिधि सभा पनि कायम नरहने वर्तमान अवस्थाले राजनीतिक अस्थिरता र रिक्तताको भाव सिर्जना हुनाले नै नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकले असंवैधानिक ढङ्गले विघटन गरिएको प्रतिनिधि सभा पुनस्र्थापना हुनुपर्छ माग गर्छ । यसले मात्र मुलुकलाई लोकतन्त्रको बाटोमा फर्काउन सक्छ भन्ने स्पष्ट मान्यता राख्छ ।”

उहाँले बैठकमा उपाध्यक्ष युवराज ज्ञवालीले प्रतिनिधि सभाको पुनस्र्थापनाको विषयलाई प्रचारात्मक बनाउनु पर्ने विषयमा राय राख्नुभयो । त्यसमा अर्का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले समर्थन गर्नुभएको उहाँले जानकारी दिनुभयो । एमाले बैठक असोज २९ देखि ३१ गतेसम्म ललितपुरमा आयोजना भएको थियो ।

‘पार्टीभित्रको अनुशासन कायम गर्न नसकेकोमा आत्मालोचना गर्छु’
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अनुशासन कायम गर्न नसकेको भन्दै खुलेर आत्मालोचना गर्नुभएको छ। शुक्रबार सम्पन्न पार्टीको दशौँ केन्द्रीय कमिटी बैठकमा उहाँले आफ्ना धारणा राख्नुहुँदै पार्टीमा देखिएका कमीकमजोरीबारे स्वीकार गर्नुभएको हो।

अध्यक्ष ओलीले भन्नुभयो, “पार्टीमा अनुशासन कायम गर्न सकिएन, नेताले पनि अनुशासन तोड्ने काम गरे, त्यसलाई नियन्त्रण गर्न सकिएन । अध्यक्षको रूपमा त्यो काम गर्न नसकेकोमा म खुलेर आत्मालोचना गर्छु।’ उहाँका अनुसार पार्टीभित्र अनुशासनात्मक व्यवहारमा कमजोरी देखिँदा संगठनको सुदृढीकरणमा असर परेको छ। उहाँले अब त्यसलाई सुधार्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अध्यक्ष ओलीले भन्नुभयो, “कमी कमजोरी छन्, त्यसलाई करेक्सन गरौँ, आलोचना पनि गरौँ, तर दुस्मनी देखिनेगरी गालीगलौज चाहिँ कसैले नगरौँ।”

अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै पार्टीभित्र आन्तरिक आलोचना–आत्मआलोचनाको संस्कृतिलाई सुदृढ बनाउने आवश्यकता औँल्याउनुभयो। उहाँले पार्टीमा विचार र दृष्टिकोणका फरक मतलाई स्वाभाविक भन्दै त्यसलाई संगठनात्मक सिष्टताभित्र राख्न सकिए पार्टी अझ सबल हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “पार्टीभित्र विचारमा मतभेद हुन सक्छ, तर व्यवहारमा अनुशासन र संगठनको सुदृढीकरण सबैको साझा जिम्मेवारी हो।’

बैठकमा अध्यक्ष ओलीले सरकारमाथि पनि टिप्पणी गर्दै आफूविरुद्ध पछिल्ला दिनहरूमा कानुनी र राजनीतिक षड्यन्त्र भइरहेका आरोप लगाउनुभयो। उहाँले भन्नुभयो, “यो सरकारले मलाई पटक पटक थुन्ने प्रयास गरिरहेको छ, त्यसका लागि मिटिङ र छलफल भइरहेको छ।” अध्यक्ष ओलीले पार्टी नेतृत्वका रूपमा उत्पन्न आन्तरिक असन्तुष्टिलाई सम्बोधन गर्दै एकता, अनुशासन र विचारको स्पष्टतामार्फत पार्टीलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले बैठकमा उठेका विविध प्रश्नहरूको जवाफ दिँदै आगामी दिनमा संगठनलाई जनमुखी र जिम्मेवार बनाउने लक्ष्यसमेत राख्नुभयो। अध्यक्ष ओलीले राष्ट्रवाद, सुशासन र विकासलाई पार्टीको मूल लक्ष्यका रूपमा अघि बढाउने संकल्प गर्नुभयो ।

तपाईको प्रतिक्रिया