बनेपा÷जिल्ला सहकारी संघ काभ्रेले स्थापनाको ५८ औं स्थापना दिवस तथा संस्थाको ४४ औ बार्षिकोत्सव शनिबार बनेपामा भव्य रुपमा मनाएको छ ।
सहकारीका संघका अध्यक्ष अमन पोटे श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विविध विधामा उत्कृष्ट अभियान्तलाई सम्मान गरिएको थियो ।
स्थापना दिवसको अवसरमा संस्थामा निरन्तर आवद्ध भई उत्कृष्ट आयआर्जनमुखी कार्य गरिरहेको जिल्लाकै नमूना पाँचखाल नगरपालिका वडा नं १० मा रहेको आत्मनिर्भर बहुउद्देश्यीय सहकारी संस्थालाई नगद सहित सम्मान गरिएको छ ।
सहकारी क्षेत्रमा कलम चलाउने काभ्रे टाईम्स साप्ताहिकका कार्यकारी सम्पादक तथा रेडियो एबिसीका अध्यक्ष रमेश न्यौपाने र जिल्लामा रहेका सहकारीमध्येबाट संस्थामा आवद्ध सहकारीका उत्कृष्ट ब्यवस्थापकहरु मध्ये नवदुर्गा सहकारी पनौतीका प्रमुख कार्यकारी अधिकृत दिपक तिमल्सिनालाई सम्मान गरिएको हो ।
संस्थाका अध्यक्ष अमन पोटे, पुर्व अध्यक्षहरु विनोद पराजुली, शुभप्रसाद अधिकारी, मुकुन्दप्रसाद दाहाल, सोमप्रसाद हुमागाई, निर्वाचन समितिका संयोजक इन्द्रप्रसाद अधिकारी, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष उदयराम कायस्थ, लेखा समिति संयोजक डिल्लीप्रसाद आचार्य, व्यवस्थापकहरुको छाता संगठन म्यानेजर्स क्लव एसोसिएसनका अध्यक्ष गोपाल दाहाल, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, पुर्व अध्यक्ष मोतीराम तिमल्सिना लगायतले स्थापना दिवसको शुभकामना राखेका थिए ।
कार्यक्रममा संस्थाका पदाधिकारीहरु, सदस्यहरु तथा विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गरेका ब्यत्तिहरुको सहभागिता रहेको थियो । संघको बरिष्ठ उपाध्यक्ष शान्ति लामा तामाङको स्वागत रहेको कार्यक्रम सचिव प्रकाश बञ्जाराले संचालन गरेका थिए ।
साधारण सभामा अध्यक्ष अमन पोटे श्रेष्ठले संस्थाको बार्षिक नीति तथा कार्यक्रम र आगामी योजना प्रस्तुत गर्नुभयो । संघका सचिव प्रकाश बञ्जाराले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
संघका कोषाध्यक्ष अर्जुनप्रसाद सापकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । संघका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठका अनुसार संस्थाको आर्थिक वर्षको अन्त्यसम्ममा १ अर्ब ४१ करोड ६९ लाख १ हजार ९ सय ४२ रुपैयाको वासलात तयार भएको छ । त्यस्तै ३ करोड ५३ लाख ५९ हजार १ सय शेयर पुँजी, १ अर्ब २२ करोड ५८ लाख ४४ हजार ३ सय ८५ रुपैया निक्षेप रहेको छ । ६३ करोड ८ लाख ७० हजार १ सय ९५ रुपैया कर्जा रहेको उक्त संस्थाको खुद मुनाफा ६ लाख ३६ हजार ६ सय १४ रुपैया रहेको छ । संस्थाले एक आर्थिक वर्षमा ९८ लाख २ हजार कर बुझाएको छ । संस्थाको कोषमा ११ करोड ८१ लाख ४८ हजार ४ सय ९ र जोखिम कोषमा २ करोड ४७ लाख २४ हजार ३६ रुपैया रहेको छ ।
साधारण सभाले रिक्त रहेको लेखा सुपरीवेक्षण समितिको सदस्यमा ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्थाको उपाध्यक्ष श्री कान्छी मैया थापा निर्विरोध निर्वाचित हुनुभएको छ ।
५८ बर्षमा पुग्यो जिल्ला संघ १ अर्ब ४१ करोड वासलात
2025-09-20T21:18:47+05:45
तपाईको प्रतिक्रिया