सजियो गोदाबरी, शुक्रबार एमालेको विधान महाधिवेशन सुरुहुँदै

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशनले झकीझकाउँ बनेको छ ललितपुरको गोदावरी । सातदोबाटोदेखिको १० किलोमिटर गोदावरी जाने बाटोदेखि १८ वटा स्वागतद्वार राखिएका छन् । दायाँबाँया बिजुलीका खम्बामा नेकपा (एमाले)को हँसिया हथौडा र चुनाव चिन्ह सूर्य ध्वजावाहक झन्डाले सिङ्गारिएका छन् । जसले गोदवारीको आकर्षण थप गरिदिएको छ ।
यो झकिझकाउको तयारी शुक्रबारदेखि तीन दिनसम्म चल्ने नेकपा (एमाले) दोस्रो विधान महाधिवेशनमा सहभागी प्रतिनिधि, पर्यवेक्षक र पाहुनाहरुका लागि नयाँ शैलीका स्वागतद्वार तयार पारिएका हन् । नेकपा (एमाले)ले आयोजना गर्ने सम्मेलन, महाधिवेशन लगायत जुनसुकै आयोजनाका मञ्च, स्वागत द्वार, लोगो आफैमा सधैं चर्चाको विषय बन्छन् ।
‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित सुरु हुने नेकपा (एमाले) दोस्रो विधान महाधिवेशन स्थल गोदावरी सनराइज सभाहललाई पुरै बेहुली झैँ सिङ्गारिएको छ । हलतिर जाने बाटोदेखि कलात्मक स्वागतद्वार निर्माण गरिएका छन् ।
सातदोबाटोदेखि तपाईं जति गोदावरीतिर जाँदै हुनुहुन्छ भने छुट्टै अनुभव गर्नु हुनेछ । तपाईं महाधिवेशन सभाहलसम्म पुग्दा नविन प्रकारको ‘माक्र्ससिजम् डिजिटल वल्र्ड’मा छिरेको अनुभव गर्नुहुनेछ । पार्टीको पाँचौ महाधिवेशनदेखि बाँस, काठ, हस्तलिखित व्यानरबाट मञ्च, स्वागतद्वार निर्माण गर्दै आएका पार्टी स्थायी कमिटी सदस्य विनोद श्रेष्ठ यतिखेर सनराइज सभा हललाई पुरै डिजिटल सिस्टममा जोड्दै छन् । ‘पाँचौ महाधिवेशनमा बजाएको सिठ्ठी अझै छ । त्यही सिठ्ठी फुकेर मञ्च बनाइरहेको छु’, मञ्च व्यवस्थापन संयोजक विनोद श्रेष्ठले भन्नुभयो ।
सभा हलको सिट संख्या २८ सय ४० रहेको छ । हलभित्र छिर्ने ४ वटा प्रवेश द्वार छन् । पहिलो द्वारबाट पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको मात्रै प्रवेश गर्नुहुनेछ । अन्य पदाधिकारी, मन्त्री, मुख्यमन्त्री सबै दोस्रो र तेस्रो प्रवेशद्वारबाट प्रतिनिधिसँगै प्रवेश गर्ने छन् । त्यहीँदेखि तपाईं ‘माक्र्ससिजम डिजिटल’ वल्र्डमा प्रवेश गर्नुहुने छ । तपाईंसँग भएको महाधिवेशन प्रतिनिधि, पर्यवेक्षकको पचियपत्रलाई कम्प्युटरले पढेपछि अर्थात् स्क्यान गरेर मात्रै भित्र छिर्न पाउनु हुनेछ । त्यहीँबाट तपाईं ‘एमाले डिजिटल वल्र्ड’मा प्रवेश गर्नुहुनेछ ।
परिचय स्क्यान गर्ने ६ वटा कम्प्युटरका बुथ छन् । त्यही बुथबाट प्रतिनिधि, पर्यवेक्षक, स्वयंसेवकहरुले प्रवेश पाउने छन् । मूल प्रवेश द्वारबाट प्रवेश गर्दा साथ हलको छतबाट पार्टी र चुनाव चिन्ह सूर्य अंकित झण्डा लहरै फहराएका छन् ।
अन्तिम प्रवेश द्वारबाट क्याटरिङ्गका लागि खाद्यन्न, खाने पानी ढुवानीका लागि खुला गरिएको छ । दोस्रो र तेस्रो प्रवेश द्वारबाट महाधिवेशन हल छिर्दासाथ दाँयातिर प्रधानमन्त्री ओलीको पूर्ण कदसहित हात उठाएको तस्विर, दोस्रो विधान महाधिवेशनको लोगो राखिएको छ । हलको भित्तामा महाधिवेशनको लोगो, नेकपा (एमाले) र अंग्रेजीमा ‘सीपीएन यूएमल’ले स्वागत गरिएको छ । पानी फोहोराका साना पोखरीमा सेता हाँसका जोडि खेलेको देख्नुहुनेछ ।
बाँयातिर नेकपाका संस्थापक महासचिव पुष्पलाल, पूर्वमहासचिव मदन भण्डारी र पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको पूर्णकदको तस्विर राखिएको छ । पश्चिमतिर कार्लमाक्र्स, एङ्ेल्स र लेनिनको पूर्ण कदसहित तस्विर राखिएको छ । हलभित्र २२ सय स्क्वार फिट डिजिटल बोर्ड राखिएको छ ।
सभा हलको पर्खालसँगै मिडिया सेन्टरको व्यवस्था गरिएको छ । पूर्ण वाइफाई जोनसहितको मिडिया सेन्टरमा डिजिटल बोर्डको व्यवस्था गरिएको छ । प्रतिनिधि, पर्यवेक्षकको परिचयपत्र मूल गेटमा मात्रै होइन हलभित्र पस्दा पुनः स्क्यान गरिन्छ । त्यहीँबाट स्वयं सेवकले कसलाई कुन द्वार र कुन सिटमा बस्ने भनेर व्यवस्था मिलाउने छन् । हलको बाहिर ६ वटा कार्डस्कान बुथको व्यवस्था गरिएको छ । डिजिटल वोर्डमा महाधिवेशनको व्यानर हुनेछ । मञ्चमा १८ जना पदाधिकारीहरु मात्रै बस्ने छन् । मञ्चमा दुई खण्ड बनाइएको छ । अघिल्लो खण्डमा अध्यक्ष ओली बस्नु हुनेछ अन्य पदाधिकारीहरु पछिल्लो खण्डमा मर्यादा अनुसार बस्ने व्यवस्था मिलाइएको छ ।
उद्घाटन कसरी गर्ने ? त्यसको डिजिटल कन्सेप्ट अझै टुंगो लागेको छैन । नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली कार्यक्रम उद्घाटन गर्नुहुनेछ । तर परम्परागत उद्घाटन, स्वागत, शुभकामना मन्तव्य जस्ता कार्यक्रम रहने छैन । उद्घाटनको काम १२ मिनेटभित्र सक्किने छ । उद्घाटन समारोहमा मंगल धुन, सहिदको सम्झनामा शोक धुन, राष्ट्रिय धुन, अन्तर्राष्ट्रिय कम्युनिस्ट गीतको धुन बज्ने छ । उद्घाटन समारोहमा सभा हलभित्र धुन बजिरहँदा बहिर मिडिया सेन्टरमा कलाकारहरुले आर्ट बनाउने छन् । जसको लाइभ भित्र हलमा पनि गरिने छ । झाँकीहरु हल बाहिर नै प्रर्दशनको व्यवस्था गरिएको छ ।
१२ मिनेटको धुन सक्किए पछि अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेश गर्नु हुनेछ । त्यस लगत्तै पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा विधान संशोधन सम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलद्वारा संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नु हुनेछ । त्यसैगरी केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव वडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा. पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा. विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषदका अध्यक्ष अमृतकुमार बोहोराले आ–आफ्ना निकायको प्रतिवेदन प्रस्तुत गर्नु हुनेछ । उद्घाटनसँगै बन्दसत्र एकै साथ सुरु हुने भएकाले दिउँसो १ बजेतिर चिया÷खाजाका लागि १ घन्टा ब्रेक हुने छ ।
दोस्रो विधान महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी कुल २३ सय ४१ जनाको सहभागी रहने छन् । स्वयं सेवक, सुरक्षा निकायसहित ३५ सय जनालाई खानाको व्यवस्था गरिएको छ । आवासको व्यवस्था नगरिएकाले साँझा साढे ५ बजेभित्र प्रतिवेदन वाचन गरेर पहिलो दिनको कार्यक्रम सक्किने छ ।
२१ गते सबै प्रतिवेदन माथिको छलफलका लागि १० समूहमा विभाजन गरी छलफल गराइने छ । त्यसका लागि माथि छतमा ४, हल प्रवेश छेउँमा २, हलभित्र २ र बाहिर क्याटरिङ स्थलमा २ वटा समूह छलफलको लागि व्यवस्था मिलाइएको छ । सातदोबाटो चोकबाट महाधिवेशन स्थलसम्म यातायातको व्यवस्था र सातदोबाटोदेखि महाधिवेशन स्थलसम्म विभिन्न पार्टी कमिटी र जनसंगठनहरुका तर्फबाट स्वागतद्वारका अतिरिक्त उपत्यकाका विभिन्न स्थानहरुमा स्वागत गेटहरु निर्माण लगायत आवश्यक सबै काम पूरा भएको ललितपुर जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम आचार्यले बताउनु भयो

तपाईको प्रतिक्रिया