एमाले विधान महाधिवेशनको तयारी पुरा

नेपाल कम्युनिस्ट पार्टी एमाले को दोस्रो विधान महाधिवेशनको तयारी पुरा भएको छ । पार्टी मुख्यालय च्यासलमा बुधबार पत्रकार सम्मेलनमा विधान महाधिवेशनको तयारी पुरा भएको उल्लेख गरेको छ ।
पत्रकार सम्मेलनमा एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिव योगेश भट्टराई, स्थायी कमिटीका सदस्य लालबाबु पण्डित र केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमलगायतका नेताहरू सहभागीमा महाधिवेशनको तयारी पुरा भएको जानकारी दिइएको छ ।
भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने महाधिवेशनको पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २० गते विशेष समारोहका बिच महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको हो । महाधिवेशनमा दुई हजार २६ जना प्रतिनिधि र आयोजक समितिका ३१५ जना गरी कुल दुई हजार ३४१ जना सहभागी हुनेछन् ।
महाधिवेशनको लागि ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल, सुखी नेपाली हाम्रो गन्तव्य’ भन्ने मूल नाराका तय गरिएको छ । महाधिवेशनलाई भव्य र सभ्य बनाउन आवश्यक तयारी पूरा भएको पार्टीको केन्द्रीय प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले बताउनुभयो ।
महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका छ ।
केन्द्रीय अनुशासन आयोगका तर्फबाट केशव बडाल, लेखा आयोगको तर्फबाट डा।पुष्प कँडेल, निर्वाचन आयोगका तर्फबाट डा।विजय सुब्बा, सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले आ–आफ्ना प्रतिवेदन पेस गर्नुहुनेछ ।
विधान संशोधन प्रस्तावमा ७० वर्षे उमेरहद हटाउने, जिल्ला कमिटीलाई कार्यकारी बनाउने, २५१ सदस्यीय केन्द्रीय कमिटी, त्यसको एकतिहाइ पोलिटब्यूरो र १५ सदस्यीय स्थायी कमिटी रहने व्यवस्था प्रस्ताव गरिएको छ । पदाधिकारीमा कम्तीमा एक जना महिला अनिवार्य हुने प्रावधानसमेत प्रस्ताव गरिएको छ ।
अधिवेशनमा संगठनात्मक प्रतिवेदनमार्फत पार्टी निर्माणका चुनौती, समाधानका उपाय र निर्णायक राष्ट्रिय शक्ति निर्माणको मार्गचित्र प्रस्तुत गरिने छ । राजनीतिक प्रतिवेदनमा भने राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थिति विश्लेषण गर्दै पार्टीको आगामी कार्यदिशा र समाजवाद स्थापनाको रोडम्याप प्रस्तुत गरिने पार्टीले जनाएको छ ।
पार्टी महासचिव शंकर पोखरेलद्वारा प्रस्तुत संगठनात्मक प्रस्तावमा पार्टी निर्माणका क्षेत्रमा देखापरेका समस्या र समाधानका उपायहरु, पार्टी निर्माणका क्षेत्रमा आजसम्मका विकसित सर्वस्वीकार्य मान्यताका आधारमा निर्णायक राष्ट्रिय शक्ति निर्माणको मार्गचित्र प्रस्तुत गरिने भएको छ । पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न समाजका हरक्षेत्रले हाम्रो पार्टीको देशभक्तिपूर्ण भावना, विकास र समृद्धिको योजना र सामाजिक न्यायसहितको लोककल्याणकारी राज्य व्यवस्थाप्रति विश्वास र भरोसा गर्ने स्थिति सिर्जना गर्ने नीति स्पष्ट गरिएको एमालेको दाबी छ ।
केन्द्रीय सम्पर्क समन्वय कमिटी इन्चार्ज लालबाबु पण्डितको नेतृत्वमा आवास व्यवस्थापन, जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालको नेतृत्वमा स्वयंसेवक परिचालन, स्वास्थ्य विभाग प्रमुख कृष्णगोपाल श्रेष्ठको नेतृत्वमा स्वास्थ्य व्यवस्थापन, प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमको नेतृत्वमा प्रचार व्यवस्थापन, मजदुर फाँट प्रमुख विनोद श्रेष्ठको नेतृत्वमा मञ्च तथा साजसज्जाको व्यवस्थापन भएको छ ।
जनसाँस्कृतिक फाँट प्रमुख हेमराज राईको नेतृत्वमा साँस्कृतिक कार्यक्रम र झाँकी व्यवस्थापन, केन्द्रीय कार्यालय सचिव डा। भीष्म अधिकारीको नेतृत्वमा खाद्य र सचिवालय व्यवस्थापन र बागमती प्रदेश कमिटी, ललितपुर, भक्तपुर र काठमाडौं जिल्ला कमिटी र जनसंगठनहरुको पहल र अगुवाईमा स्वागत गेट व्यवस्थापन गरिएको छ ।
विधान महाधिवेशनमा प्रवेश गर्न प्रतिनिधिलाई चारवटा डिजिटल ढोकाको व्यवस्था गरिएको छ । ढोकामा आफ्नो परिचय पत्रमा रहेको क्यूआर कोड स्क्यान गरेर मात्र प्रवेश गर्न पाइने केन्द्रीय कार्यालय सचिव डा। भिष्म अधिकारीले जानकारी दिनुभयो ।
केन्द्रीय कमिटीसँगै बागमती प्रदेश कमिटी र ललितपुर जिल्ला कमिटीले सातदोबाटोदेखि गोदाबरीसम्मको सडकमा आकर्षक स्वागत गेट राखेका छन् । एमालेका जनवर्गिय संगठन र स्थानीय कमिटीहरुले राखिएका स्वागत गेटले सो क्षेत्र निक्कै आकर्षित देखिएको छ ।
ललितपुर जिल्ला कमिटीले सडकमा झण्डा राख्ने र भक्तपुरले जडिबुटीदेखि सूर्यविनायकसम्मका १० वटा आकाशे पुलमा महाधिवेशनको नारा र लोगो अंकित व्यानर र चोकचोकमा झण्डा राखिएको एमाले भक्तपुरका अध्यक्ष बचन देउजाले जानकारी दिनुभयो ।
महाधिवेशनस्थल सनराइज हलको प्राङ्गणमा पुष्पलाल, मदन भण्डारी, मनमोहन, केपी ओली साथै माक्र्स, एंगल्स र लेनिनको कटआउट राखिएको छ । जसले सो क्षेत्र निक्कै आकर्षित देखिएको छ ।
एमाले बागमती प्रदेश कमिटीको प्रचार विभाग प्रमुख भक्तकुमारी लामाले उपत्यकाका तीन जिल्लासँग समन्वय गरेर आवश्यक काम गरिरहेको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया