नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नाराका साथ भदौ २०–२२ गते ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने महाधिवेशनको तयारी पुरा भएको केन्द्रीय कार्यालयले जनाएको छ ।
प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले महाधिवेशनमा २ हजार ३४ जना प्रतिनिधिसहित २३ सय ४९ जना सहभागी हुने उल्लेख गर्नुभयो ।
‘दशौं राष्ट्रिय महाधिवेशनका प्रतिनिधि नै अहिलेको विधान महाधिवेशनका प्रतिनिधि हुन् । त्यसमा मृत्यु हुनुभएका, पार्टी छाडेका र कारबाहीमा परेकाको सूची हटाइएको छ । तर, ती रिक्त ठाउँमा नयाँ प्रतिनिधी छनौटको व्यवस्था छैन’ गौतमले स्पष्ट पार्नुभयो ।
दशौं महाधिवेशनपछि मनोनीत भएका वा अन्य पार्टीबाट समायोजन भएर केन्द्रीय सदस्य भएकालाई पनि प्रतिनिधित्व गराउन नमिल्ने भएकोले उनीहरू आयोजकको हैसियतमा रहने उहाँले बताउनुभयो ।
केन्द्रीय कार्यलयले आईतबार नै सबै प्रतिनिधिलाई एसएमएसमार्फत महाधिवेशनको निम्तो पठाएको छ । केही प्रतिनिधीको मोवाइल नम्बर अद्यावधिक नभएकोले सम्बिन्धत जिल्ला कमिटीमार्फत् निमन्त्रणा गरिएको छ ।
केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीका अनुसार महाधिवेशनमा प्रस्तुत हुने मुख्य तीन वटा प्रतिवेदन राजनीतिक, सांगठनिक र विधान छपाइको काम भइरहेको छ । निर्वाचन, अनुशासन, लेखा आयोग र सल्लाहकार परिषदको प्रतिवेदन पनि छपाइ भइरहेको छ ।
प्रतिनिधि परिचय पत्र छपाइ भइसकेको छ । पार्टी केन्द्रीय सचिवालयको बैठक बसेर सबै प्रतिवेदन महाधिवेशनमा पठाउने निर्णयलगायत अन्य प्राविधिक विषयमा निर्णय हुने अधिकारीले उल्लेख गर्नुभयो ।
भदौ १८ गते प्रचार तथा प्रकाशन विभागका तर्फबाट पत्रकार सम्मेलनमार्फत महाधिवेशनको अन्तिम तयारीको जानकारी गराइने छ । परिचय पत्र अनलाइनमार्फत पनि लिन सकिने व्यवस्था गरिएको छ । डा. अधिकारीका हलमा छिर्न प्रतिनिधिलाई चारवटा डिजिटल ढोकाको व्यवस्था गरिएको छ । ढोकामा आफ्नो परिचय पत्रमा रहेको क्यूआर कोड स्क्यान गरेर मात्र प्रवेश गर्न पाइनेछ ।
खाना र खाजाका लागि ब्यांक्वेटलाई जिम्मा दिइएको साथै महाधिवेशनको तयारीका लागि हल सजाउने र मञ्च व्यवस्थापन गर्ने काम भइरहेको बताइएको छ । विभिन्न जनवर्गीय संगठन र स्थानीय कमिटी सातदोबाटोदेखि गोदावरीसम्म स्वागत द्वार निर्माण र झण्डा राख्ने तयारीमा जुटेका छन् ।
ललितपुर जिल्ला कमिटीले सडकमा झण्डा राख्ने र भक्तपुरले जडिबुटीदेखि सूर्यविनायकसम्मका १० वटा आकाशे पुलमा महाधिवेशनको नारा र लोगो अंकित व्यानर र चोकचोकमा झण्डा राख्ने तयारी थालेको एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाले जानकारी दिनुभयो ।
एमालेको विधान महाधिवेशन, प्रतिनिधिलाई एसएमएसबाट निमन्त्रणा
2025-09-02T06:50:05+05:45

तपाईको प्रतिक्रिया