स्वर्णबिन्दु प्राशन बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ

‘राष्ट्रिय स्वर्णबिन्दु प्राशन’ कार्यक्रमको शुभारम्भ भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सुदूरपश्चिम प्रदेशको धनगढीबाट ‘राष्ट्रिय स्वर्णबिन्दु प्राशन’ कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।

बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै बौद्धिक र शारीरिक विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले यो राष्ट्रिय अभियान सुरु गरिएको मन्त्री पौडेलको भनाइ छ ।

प्रादेशिक आयुर्वेद चिकित्सालय, धनगढीमा आयोजित विशेष समारोहमा मन्त्री पौडेलले बालबालिकालाई स्वर्णबिन्दु प्राशन खुवाएर कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।

यस कार्यक्रमलाई नेपालको प्राचीन आयुर्वेदिक चिकित्सा पद्धतिको पुनर्जागरण गर्दै यसलाई वैज्ञानिक रुपमा विकास गरी आधुनिक जनस्वास्थ्य प्रणालीसँग जोड्न सकिने मन्त्री पौडेलको भनाइ छ ।

के हो स्वर्णबिन्दु प्राशन?

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा.श्यामबाबु यादवका अनुसार स्वर्ण भष्मलाई घ्यू र महमा मिसाएर बनाइएको थोपा नै स्वर्णविन्दु प्राशन हो।

‘स्वर्णविन्दु प्राशन’ करिब पाँच हजार वर्ष पुरानो आयुर्वेदिक ग्रन्थ ‘काश्यप संहिता’ मा वर्णन गरिएको एक परम्परागत विधि हो।

यो केवल विभिन्न वस्तुको मिश्रण मात्र नभई यसको आफ्नै वैज्ञानिक आधार रहेको उहाँले प्रष्ट पार्नुभयो । उहाँका अनुसार यसमा प्रयोग हुने प्रशोधित स्वर्ण भष्मले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई सन्तुलन र नियमन गर्न मद्दत गर्छ।

स्वर्णबिन्दु प्राशनको प्रयोगले बालबालिकाको शारीरिक तथा मानसिक विकासका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । ६ महिनादेखि ५ वर्षसम्म वर्षसम्मका बालबालिकालाई स्वर्णबिन्दु प्राशन खुवाइन्छ । ज्वरो, झाडापखाला, आउँ, रुघा खोकी लागेका बालबालिकालाई खुवाइँदैन।

यसअघि तीन जिल्लामा परीक्षणको रूपमा खुवाइसकिएको र उक्त कार्यक्रम सफल भएपछि देशव्यापी रूपमा खुवाउने अभियान सञ्चालन गरिएको हो ।

राष्ट्रिय स्वर्णबिन्दु प्राशन कार्यक्रमलाई देशव्यापी रूपमा व्यवस्थित, सुरक्षित र एकरूपताका साथ सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयले ‘राष्ट्रिय स्वर्ण बिन्दु प्राशन कार्यक्रम सञ्चालन निर्देशिका, २०८२’ स्वीकृत गरेको छ ।

आजबाट २५ वटा आयुर्वेदिक स्वास्थ्य संस्थामार्फत यो कार्यक्रम सञ्चालन गरेको छ । आगामी वर्षमा क्रमिक रूपमा आयुर्वेद स्वास्थ्य संस्था रहेका सबै स्थानीय तहमा विस्तार गर्दै लैजाने योजना रहेको डा.यादवले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया