सामाजिक बहिष्कारलाई चुनौती बुबाको किरिया गर्दै रयालेका चेली

शिक्षित, सुसँस्कृत र नमूना गाउँको रुपमा मानिदै आएको ठाउँ हो रयाले गाउँ । पनौती नगरपालिका–१ रयालेका कम्युनिस्ट अगुवा र सेल्टरदाता हरिप्रसाद सापकोटाको ९१ वर्षको उमेरमा हिजो आइतबार निधन भयो । उहाँका छोरा थिएनन् । तर छोरीको उहाँको उपचार र हालसम्मको पालनपोषणमा कुनैपनि कमी राखेनन् ।
अस्पतालमा नियमित स्याहारसुरार गरे,नियमित औषधि उपचारमा संम्लग्नभए । आईतबार उहाँको निधनपछि त्यहाँ धेरै अड्कलबाजीहरु हुन थाले । छोरा नभएका र छोरीहरुमात्रै रहेका सापकोटालाई दागवत्ती कसले देला र काजकिरिया कसले गर्ला भन्ने चर्चा चुलियो ।
आफ्नो बुबालाई दागबत्ति दिन पाउने छोरीहरुको नैसस्र्गिक अधिकार नै हो । उनै छोरीहरुले दागवत्ती दिएर दाहसंस्कार गरे । दाहसंस्कारमै नैतिक र सामाजिक अवरोधको अनेकौ प्रयास भए । त्यसलाई उनीहरुले वास्ता नै गरेनन् । जब काजकिरिया गर्न छोरीहरु नै अग्रसर भए तब समाजले त्यसलाई स्वीकार्न चाहेन । सिंगो काभ्रेले उन्नत गाउँ मानेको रयाले एकाएक बाधक बन्ने अवस्थामा पुग्यो । तर, आफ्नो खुट्टामा उभिएका प्रगतिशिल छोरीहरु किन पछि हट्थे र ! चट्टानी अडानले र समाजको बहिष्कारको चेतावनीबिच उनीहरु बाबुको किरियामा बसिरहेका छन् । उनीहरुका श्रीमान्सँगै छोराछोरीले साथ दिएका छन् ।
बनेपा नगरपालिकाकी उपप्रमुखसमेत रहनु भएको स्वर्गीय हरिप्रसादकी छोरी बिमला सापकोटा र उहाँका बहिनीहरु निर्मला सापकोटा तथा राधिका सापकोटा आफ्ना बाबुको किरियामा बसेका छन् । समाजको चेतावनीको बाबजुद विमला, निर्मला र राधिका बुबाको काजक्रियामा बसेका छन् । विरामी भएका कारण दुई छोरी सुन्तली र कमला भने काजक्रियामा बसेका छैनन् । सामाजिक संस्कार देखाएर स्थानीयले छोरीहरू काजक्रिया बस्न नहुने भन्दै विरोध गरेका थिए । उनीहरूले छोरीहरू काजक्रियामा बसे बहिस्कारसम्मको धम्की दिएका थिए । आफूहरु किरियामा बस्दै गर्दा बहिस्कार गर्ने मिटिङ बसिरहेको थाहा पाएपछि बिमलाले सामाजिक सञ्जालबाटै आक्रोशसमेत व्यक्त गर्नुभयो ।

महिला माथिको बिभेद कहिले अन्त्य हुन्छ आफ्नु बाउको काजकृया गर्दा सामाजिक बहिष्कारको मिट्ङ हुदै छ । यो समाज र दाजुभाइ भन्नेहरुले हामीलाई पिडा माथि पिडा थप्ने बहस र बैठक तुरुन्त रोक्न अनुरोध छ । हामीले अरु कसैको बंशमा दखल गरेका छैनौ हामी अब थप पिडा सहन सक्ने अवस्था मा छैनौ ।’
आफूहरु बहिस्कार हुन तयार रहेको भन्दै कानुन र संविधानविपरितको काम नगर्न चेतावनीसमेत दिनुभयो । आफूहरुले गरेको यो कार्यले हजारौं छोरीहरुमाथि न्याय हुने बिमलाले उल्लेख गर्नुभएको छ । ’ख्याल गर तिमीहरूले चलाएको बहस कानुन र सबिधानको पनि बर्खिलाब छ । हामीले गरेको यो कामले हजारौं छोरि माथि न्याय हुनेछ ।खबरदार यो छ्लफल र बहस रोकि हाल हामि बहिसकार हुन तयार छौ । १३ दिन हाम्रो बुवाको घरमा बसेर काजकिरिया गर्न देउ पिडा नदेउ १३ दिन पछि सदाको लागि माइतीको ढोका बन्द गरेर कर्म घर फर्कने छौ । समाजको डर लाग्ने हरु कृपया हामीलाइ साथ दिनु पर्ने बाध्यता नसमझनु होला तपाईं स्वतन्त्र हुनुहुन्छ ।’

सापकोटा दिदिबहिनीहरु किरियामा बसेको र उनीहरुलाई सामाजिक बहिस्कारको प्रयास भएकोप्रति धेरैले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका छन् । सापकोटा दिदिबहिनीको कदमलाई समर्थन गर्दै सामाजिक सञ्जालमा हजारौं पोष्टहरु शेयर भएका छन् । छोरीहरुको काजकिरिया गर्न सुरुमा सापकोटा परिवारका पुरोहितले अनुमति दिएका थिए । तर, समाजले पुरोहितलाई पनि बहिस्कार गर्ने खालको धम्की दिएपछि उनी पनि पछि हटेको र अर्का पुरोहितबाट काजकिरियाको काम भइरहेको छ । अहिले पुरोहित दिपक सुवेदीले काजकिरिया गरारइरेका छन् । उनीहरुले तिहारमा समेत एक अर्कालाई टिका र माला लगाउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया