रातपरेपछि पानी नपरोस् भनेर कामना गर्छन् रोशीबासी

बनेपा÷अघिल्लो सालको बर्साद्मा दिनभर खेतबारीमा काम गरेपछि रातभरी सिमसिम पानी परे मिठो निद्रा लाग्थ्यो,पनौती–१२ रोसी भुमीडाडाँका शेर्पा लामालाई । अहिले ठ्याक्कै उल्टो भएको छ अहिले रातको समयमा पानी नपरोस् भन्ने कामना गर्नहुन्छ । असोजको आरीघोप्टो बर्षापछि आएको बाढीले उहाँहरुको गाउँ नै बगायो । रातको समयमा आएको बाढीले गाउँ नै सोत्तर भएपछि रातको समयमा पानी नपरोस् भन्ने कामना गर्ने गरेको शेर्पाले उल्लेख गर्नुभयो । सानो टिनले बारेको घरमा आश्रय लिनुभएको उहाँको परिवार रातको समयमा बर्साद् नै नहोस् भन्ने कामना गर्नुहुन्छ ।
पानी पर्न थालेपछि बालबालिकाहरु स्कुलको पोशाक,किताबर झोला बोकेर भाग्ने गर्न थालेको स्थानीय माया सुनारले बताउनुभयो । ‘ पानी पर्न थालेपछि किताब र स्कुल ड्रेस बोकेर छोराछोरी उकालो तिर भागीहाल्छन्’ उहाँले भन्नुभयो ।
राती उठेर आकाशमा बादल हेर्दै सुुत्ने बाँध्यता रहेको उहाँले उल्लेख सुनाउनुभयो । खोलाबारी र पारी बसेर रातभर आलोपालो पानी परेको नपरेको हेर्ने बाँध्यता उहाँहरुको छ । पानी पर्न थालेपछि रातभर निद्रा लाग्दैन उहाँले दुखेसो पोख्नुभयो ।
असोजको बाढीले जोगिएको घरमा आश्रय लिएका र नयाँ टिनले बेरबार पारेर बसेका उनीहरू रातको समयमा झनै त्रसित हुने गरेका छन् । सानो पानी परेपनि साना खोल्सामा लेदोसहितको बाढी आउने र असोजकै जस्तो घटना हुने डरले रातभर निदाउन नसक्ने र पानी परेपछि भागाभाग हुने गरेको छ । जेष्ठ नागरिक, बालबालिका र महिलामा एक किसिमको मनोवैज्ञानिक रुपमा त्रास सृजना भएको वडाअध्यक्ष जयराम केसीले बताउनुभयो ।
केसीले तत्कालै गर्न सक्ने काम गरिसकेको बताउनुभयो । उहाँले पुनर्निर्माण र पुनस्र्थापनामा संघीय सरकारले प्राथमिकतामा नपारेको बताउनुभयो । रोसी खोलामा असोज ११ र १२ गते आएको बाढीपहिरोबाट उनीहरूका पक्की घर ध्वस्त भएपछि स्थानीयको उठिबास लागेको दश महिना बितिसक्दा पनि उच्चस्तरीय नेतृत्वबाट अवलोकनबाहेक पुनर्निर्माणका काम हुन नसकेको पनौती नगरपालिका उपप्रमुख गीता बन्जाराले बताउनुभयो । उहाँले सामान्य पानी पर्दा पनि रातभर निदाउन नसकेको उल्लेख गर्नुभयो । पानी पर्न थालेपछि त्यहाँका स्थानीयसँग निरन्तर फोन सम्पर्कमा रहने र जोखिमको बारेमा जानकारी लिईरहने उहाँले बताउनुभयो ।
सामान्य सिमसिम पानीमै कोलाती भूमिडाँडावासीसँगै बाढीपहिरो प्रभावित क्षेत्रमा भागाभाग हुने गरेको र रातको समयमा झन समस्या बढेको छ । काभ्रेपलाञ्चोकमा बाढीले सबैभन्दा धेरै असर पारेको पनौती नगरपालिका–१२, भूमिडाँडा रोसी बजार खण्डहरमा परिणत भएको थियो भने सोही वडामा रहेको कोलाती बजार उजाडिएको थियो ।
स्थानीय बिन्दा रसाईलीले आफ्नो सारा सम्पत्ति बाढीले बगाएको दश महिनामा देशका ठुला मान्छे आएर हेरेर फर्केर गए पनि उपलब्धि भने शून्य नै भएको उल्लेख गर्नुभयो । उहाँले सामान्य बर्साद्मा नै खोलाको वितण्डाबाट जोगिएका बस्तीका मानिस पोका बोकेर डाँडातिर उक्लन बाँध्य भएको बताउनुभयो । राज्यको निकायले बाढीपीडितका लागि चासो नदिएको उहाँको गुनासो छ ।
पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले आफूहरुले सकेको गरेपनि प्रदेश र संघीय सरकारले पुनः स्थापना र पुनः निर्माणमा प्रभावकारी सहयोग नगरेको स्पष्ट पार्नुभयो ।

तपाईको प्रतिक्रिया