नेफ्स्कुनको खराब कर्जा असुली ३० प्रतिशतले सुधार

नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कुन)ले खराब कर्जा असुलीमा अघिल्ला वर्षको तुलनामा सुधार गरेको छ ।

सहकारी क्षेत्रमा वित्तीय सुशासनमा प्रश्न उठिरहेका बेला बचत तथा ऋण सहकारीहरूबाट बचत संकलन तथा ऋण लगानी गरिरहेको बचत तथा ऋण सहकारीको केन्द्रीय छाता संघ नेफ्स्कुनको यस तथ्यांकले आशा जगाएको सहकारीकर्मीहरू बताउँछन् ।

आर्थिक वर्ष २०८०–०८१ मा नेफ्स्कुनको खराब कर्जा ५० प्रतिशतभन्दा माथि रहेकामा आव २०८१–०८२ को अन्तिममा २० प्रतिशतभन्दा तल झारेको प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले बताए । ‘यस अवस्थामा आइपुग्न १ वर्ष नेफ्स्कुनका कर्मचारीको टिम बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म घट्न तयार भयो, यसले सहकारीप्रतिको इमेजमा सुधार ल्याएको छ,’ राजधानीसँग सापकोटाले भने ।

शाखाहरूका कर्मचारीलाई असुलीमा प्रभावकारी परिचालन गरेर अवस्थामा सुधार ल्याएको बताउँदै आफूहरू नाफा वितरणमा भन्दा संस्थागत हिसाबले बलियो रहनेमा केन्द्रित रहेको सीईओ सापकोटाले बताए । नेफ्स्कुनले देशभरका ४ हजार ४ सय ९ बचत तथा ऋण सहकारी संस्थासँग कारोबार गरिरहेको छ भने ६ सय २५ सहकारीमा कर्जा लगानी गरेको छ ।

‘सहकारी संस्थाहरूलाई तालिम, सचेतना र जागरणका हिसाबले सहकारीप्रति संवेदनशील र इमानदार बनाएको बताउँदै तालिम अधिकृत वल्लभ तिमल्सिनाले भने, ‘यसले कानुनी प्रक्रिया र निरन्तर फलोअपमार्फत कर्जा असुलीमा सुधार गर्न सकियो ।’

नेफ्स्कुनले नगद असुली र प्रक्रियामार्फत गैरबैकिङ सम्पत्ति बिक्रीबाट असुलीमा सुधार गरेको सीईओ सापकोटा बताउँछन् । कानुनी प्रक्रिया र अनुगमनलार्ई यही गतिमा लैजाँदा आगामी पुससम्ममा खराब कर्जा १० प्रतिशतमा झर्ने सापकोटा बताउँछन् ।

बचत तथा ऋण सहकारीमा भाखा नाघेको ऋणको अवस्थामा सुधार भनेको मानव स्वास्थ्यको क्यान्सर निको भएजस्तो बताउँदै नेफ्स्कुनका तालिम अधिकृत तिमल्सिनाले भने, ‘खराब कर्जाको सूचक सुधार भएपछि सिंगै फाइनान्सियल सूचकमा एकैपटक सुधार हुन्छ ।’

यस वर्ष नेफ्स्कुनको पुँजीकोष सकारात्मक छ । गत आवमा साढे ५ अर्ब रुपैयाँ खराब कर्जा हुँदा त्यसका लागि ऋण जोखिम कोष व्यवस्थापन गर्दा पर्याप्त पुँजीकोष नभएको अवस्था सम्झँदै तिमल्सिनाले भने खराब कर्जा बढ्दा यस वर्ष पुँजीकोष सकारात्मक भएको छ ।

चुनौती बन्यो गैरबैंकिङ सम्पत्ति बिक्री
सहकारी क्षेत्रबाट असुली सकारात्मक भएको सन्देशसँगै नेफ्स्कुनलाई एउटा चुनौती थपिएको छ, गैरबैंकिङ सम्पत्तिको । सिंगो बैंकिङ क्षेत्रमा ५५ अर्ब रुपैयाँ अर्थात् १ देखि २ प्रतिशतको हाराहारीमा गैरबैंकिङ सम्पत्ति रहँदा नेफ्स्कुनमा झन्डै २५ प्रतिशतजस्तो गैरबैंकिङ सम्पत्ति थुप्रिएको छ । असार मसान्तमा खाताबन्दी गर्दा ऋण लगानी ८ अर्ब र कुल सम्पत्ति २५ अर्ब रुपैयाँ रहेको नेफ्स्कुनले जनाएको छ ।

नेफ्स्कुनको ८ अर्ब लगानीमा २ अर्बको गैरबैंकिङ सम्पत्ति थुप्रिनु चुनौती भएको स्विकार्दै सापकोटा भन्छन्, ‘यस्तो संकटको समयमा ऋणीबाट असुलेर नेफ्स्कुनको नाममा ल्याउन सक्यौं भने अब संस्थाले आफ्नो नाममा भएको सम्पत्ति त जसरी पनि बिक्री गर्न सकिन्छ भन्ने विश्वास छ ।’

तपाईको प्रतिक्रिया