काठमाडौ, १६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालीको आकाङ्क्षा पुरा गर्ने बाटोमा सरकार अघि बढिरहेको बताउनुभएको छ ।
शुक्रबार भक्तपुरमा आयोजित वाग्मती प्रदेश पूर्ण खोप घोषणा तथा डिजिटल हेल्थ प्रणालीको शुभारम्भ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले समृद्धि भनेको आधुनिक नेपाल भएको बताउनुभयो । ‘हामी यहाँका जनतालाई सुखी बनाउन चाहन्छौँ, यो भन्दा ठुलो र पवित्र अर्को उद्देश्य हुन सक्दैन’, उहाँले भन्नुभयो ।
स्वास्थ्य क्षेत्रमा निरोगी नेपाल बनाउने लक्ष सरकारले लिएको उहाँले बताउनुभयो । ‘जहाँ कुनै प्रकारको विषादी कसैले खानु नपरोस्, पौष्टिक चिज नेपाली जनताले खान पाउन्, कसैलाई पनि रोग नलागोस्, निरोगी नेपाल बनोस्’, उहाँले भन्नुभयो ।
नेपाललाई स्वच्छ र स्वास्थ्य राख्न सकिने उहाँले बताउनुभयो । ढल खोलामा मिसाएर सफाइ अभियान चलाएर सार्थक नहुने उहाँको भनाइ छ ।
बिरामी भएपछि अस्पताल जाने भन्दा अस्पताल नै जानु नपर्ने निरोगी नेपाल बनाउने अभियान चलाउनु पर्ने उहाँले बताउनुभयो । तथापि रोग लाग्यो भने अस्पताल र डाक्टर चाहिने भन्दै उहाँले सरकारले त्यसको पनि तयारी गरिरहेको बताउनुभयो ।
ओलीले माथिल्लो वहदामा बस्नेहरू तलबको लागि लड्ने भए पनि स्वयंसेवीहरू सेवामा समर्पित हुने बताउनुभयो । सामुदायिक स्वास्थ्य स्वयम्सेवीकाको योगदानको ओलीले खुलेर प्रशंसा गर्नुभयो ।
उहाँले स्वास्थ्य रहन पाउनु नेपाली नागरिकको मौलिक हक भएको बताउनुभयो । त्यसैले यसमा राज्यका सबै निकाय जिम्मेवार हुनु पर्नेमा ओलीले जोड दिनुभयो ।
नेपाल अर्को वर्ष विकासशील राष्ट्रमा स्तरोन्नति हुन लागेको बताउँदै ओलीले यस्तै कामले देशलाई स्तरोन्नतिमा सहयोग गर्ने बताउनुभयो । दिगो विकास गन्तव्यको लागि पनि यस्ता कामले सहयोग गर्ने ओलीको धारणा छ ।

तपाईको प्रतिक्रिया