काभ्रेमा एकै महिना ७४ अपराध दर्ता, ७६ अभियुक्त पक्राउ


धुलिखेल/जिल्ला प्रहरी कार्यालय काभ्रेपालञ्चोकले साउन महिनाभर भएका प्रमुख प्रहरी कारबाही, अपराध अनुसन्धान र शान्ति सुरक्षाको समग्र अवस्थाबारे समीक्षात्मक प्रतिवेदन सामाजिक संञ्जाल मार्फत सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालयको फेसबुक पेजमा सार्वजनिक विवरण अनुसार साउन महिनाभित्रै जिल्लामा ७४ वटा साना–ठूला अपराधका मुद्दाहरू दर्ता भएका छन्, जसमा प्रहरीको सक्रियताले ४१ वटा मुद्दाको फछ्र्यौट भइसकेको छ भने बाँकी ३३ वटा मुद्दा अनुसन्धानकै दायरामा रहेका छन् । यसै अवधिमा प्रहरीले विभिन्न अपराधमा संलग्न चालु मुद्दाका ७६ जना प्रतिवादीहरूलाई पक्राउ गर्न सफलता हात पारेको छ ।
तथ्याङ्कलाई सुक्ष्म रूपमा नियाल्दा काभ्रेमा आर्थिक र वित्तीय अपराधको ग्राफ निकै उच्च देखिएको छ । कुल दर्ता मुद्दामध्ये सबैभन्दा धेरै १८ वटा बैंकिङ कसुरका रहेका छन् । यसबाहेक साधारण चोरी, नकबजनी, मोटरसाइकल तथा चौपायाँ चोरीका १२ वटा र डलर ठगीसहितका ठगी मुद्दाहरू ६ वटा दर्ता भई वित्तीय सुरक्षामा ठूलो चुनौती खडा गरेका छन् ।
अर्कोतर्फ, सामाजिक र शारीरिक अपराधका क्षेत्रमा पनि प्रहरी उत्तिकै व्यस्त रह्योÙ जहाँ सवारी ज्यान, ज्यान मार्ने उद्योग, बहुविवाह र बोक्सीको आरोप सम्बन्धी मुद्दाका साथै जबरजस्ती करणी तथा करणी उद्योगका ५ वटा गम्भीर मुद्दाहरू दर्ता भएका छन् ।
अपराध नियन्त्रणसँगै पुराना र अदालतबाट सजाय ठहर भई फरार रहेका अपराधीहरूलाई कानुनको कठघरामा उभ्याउन प्रहरी सफल देखिएको छ । विगतमा सवारी ज्यान मुद्दामा फरार रहेका अमर बहादुर श्रेष्ठसहित २० जना फरार अभियुक्तहरूलाई साउन महिनामा पक्राउ गरिएको छ । यस कारबाहीबाट १ वर्ष ४ महिना १५ दिनको कैद सजाय कार्यान्वयन हुनुका साथै रु. २९,६९,९१४/– जरिवाना असुल भएको छ । साथै, सडक सुरक्षा र अवैध धन्दा रोक्न प्रहरीले ६५९ वटा सवारी साधनलाई कारबाही गरी रु. ६,०१,५००/– राजस्व संकलन गरेको छ भने नदीजन्य पदार्थको अवैध उत्खननमा संलग्न टिपर नियन्त्रणबाट रु. ३,१७,०००/– राजस्व दाखिला गराएको छ।
शान्ति सुरक्षा कायम गर्ने क्रममा प्रहरीले जिल्लाका विभिन्न स्थानमा सञ्चालित १०७ वटा भट्टी नष्ट गर्दै १,३९८ लिटर अवैध घरेलु मदिरा र ३,०३५ लिटर कच्चा पदार्थ जफत गरेको छ । तर, अर्कोतिर आत्महत्या र दुर्घटनाको स्थिति भने चिन्ताजनक छ । साउन महिनामा मात्रै झुण्डिएर र विष सेवन गरी ६ जना -३ महिला, १ पुरुष, १ बालक र १ बालिका) ले ज्यान गुमाएका छन् भने ५ वटा सवारी दुर्घटना र भवितव्य घटनामा परी अन्य मानिसहरूको ज्यान गएको छ ।

अपराध घटेपछि अनुसन्धान गर्नुभन्दा अपराध हुनै नदिनु बुद्धिमानी हुन्छ भन्ने सिद्धान्तलाई आत्मसात् गर्दै काभ्रे प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई पनि तीव्रता दिएको छ । महिनाभरिमा साइबर अपराध, यौन दुव्र्यवहार, मानव बेचबिखन र लागूऔषध विरुद्ध ९८ वटा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएका छन्, जसबाट १९,९१३ जना नागरिक प्रत्यक्ष रूपमा सचेत बनेका छन् ।
प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रबिन बिष्टका अनुसार काभ्रेली नागरिकको धनजनको रक्षाका लागि गस्ती, सरप्राइज चेकिङ र प्रविधिको प्रयोगलाई अझ कडाइका साथ अघि बढाइनेछ ।

तपाईको प्रतिक्रिया