ओभरलोड,प्रेसर हर्नपछि काभ्रे प्रहरीलाई चुनौती ‘लापसे’


पनौती÷४० जना चालकको लागू पदार्थ सेवनको अवस्था चेकजाँच गर्दा आठ जना सार्वजनिक सवारी चलाउने चालकले लागू पदार्थको सेवन गरेर सवारी हाक्ने गरेको पाइएको छ । चेकजाँचका क्रममा करिब २० प्रतिशत चालकले लागू पदार्थ सेवन (गाँजा) गरेर सार्वजनिक सवारी चलाउने गरेको पाइएको हो । यो काभ्रेमा ओभरलोड, प्रेसर हर्नपछिको तेस्रो ठुलो समस्याको रुपमा देखिएको छ । प्रहरीले बिहीबार आकस्मिक रुपमा यात्रुबाहक बस, ट्रिपरसहित अन्य साधनका चालकको लागू पदार्थ सेवन चेकजाँच गर्दा लागू पदार्थ प्रयोग गरेर सवारी चलाएको पाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
प्रहरीले सडक सुशासन तथा बढ्दो सवारी दुर्घटना न्युनिकरण गर्ने अभियानका साथ जिल्ला जनस्वास्थ्य कार्यालय धुलिखेलसँगको सहकार्यमा लापसेको चेकजाँच गरेको हो । इलाका प्रहरी कार्यालय बनेपा र जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाले सयुक्त रूपमा बनेपा–पनौती सडकको धनेश्वर क्षेत्रमा लापसे तथा लाइसेन्सको चेकिङ गरेको थियो ।
सार्वजनिक, मालवाहक तथा निजी सवारी साधनका ४० जना चालकको लागू पदार्थ सेवन चेकजाँच गर्दा आठ जनाले लागू पदार्थ प्रयोग गरेर सवारी चलाएको पाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख सुनिल धाजुले उल्लेख गर्नुभयो । आठ जनामध्ये छ जना पनौती–काठमाण्डौ चल्ने बसका चालक रहेका छन् भने ट्रिपर चालक र सुमो चालक एक–एक जना रहेको उहाँले बताउनुभयो । लापसे गरेका सबै चालकलाई नियन्त्रणमा लिएर आवश्यम कानुनी कार्बाहीका लागि इलाका प्रहरी कार्यालय बनेपा पठाइएको छ । उनीहरुलाई एक महिनासम्म कैद वा दुई हजारसम्म जरीवाना हुने प्रहरीले उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया