१२ मिनेट बर्षाहुँदा १२ घन्टासम्म रोकिन्छ बिपी राजमार्ग

१२ मिनेट मज्जाले बर्षाहुँदा बिपी राजमार्ग १२ घन्टा रोकिन थालेको छ । नेपालकै नमुना र व्यवस्थित सडक परियोजनाको मानिएको बिपी राजमार्गको मंगलटार सडकखण्डमा गेग्य्रानसहितको लेदो बाढीको समस्याले झनै दुख दिन थालेको हो । हल्का मात्रै वर्षा हुन थालेपछि माथिल्लो भेगबाट आउने लेदो बाढीले सडक अवरुद्ध पार्ने गरेको हो । यस वर्षको पहिलो झरमै परेको पानीले रोसी गाउँपालिकाको पाँच स्थानमा एकै पटक सडक अवरुद्ध बनायो ।

त्यतीमात्रै हैन धुलिखेल पातलेखेत, भकुण्डेवेशी र मंगलटार क्षेत्रमा सडक अबरुद्ध हुँदै आएको छ ।
‘‘त्यस्तो बाढीमा फसेपछि निस्कन गाह्रो हुनेरहेछ’’ नौ घण्टा गाडीमै परिवारसहित बस्नुपर्दाको तनाव आफूले भोगेको भक्तपुरका सुरेन्द्र बस्नेतले सुनाउनुभयो । उहाँ जस्ता सयौँ गाडीका हजारौँ यात्रुले त्यस्तै दुःख पाएका छन् । अझ असोजमा आएको बाढीले खण्डहर बनेको बिपी राजमार्गको यात्रा गर्न असुरिक्षत मात्रै छैन कतिबेला के हुन्छ भन्ने त्रासमा सुरक्षा निकाय बस्ने गरेको छ । पानी पर्न थालेपछि सुत्न पाईदेन, काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले भन्नुभयो ।


मानिस फसेको फोन आँउछ सुरक्षा निकायलाई परिचालन गर्दा रातभर सुत्न पाईदैन । राजमार्ग निर्माणकै व्रmममा भएको प्राविधिक त्रुटिका कारण बर्सेनि यस्ता घटना भइरहन्छन् । वर्षामा मात्रै नभई हिउँदमा पनि बाढी आएर यात्रु अलपत्र पर्ने गरेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रे र सिन्धुलीले सडक खुलाउन निकै ठुलो जनशक्ति परिचालन गर्नुपर्ने बाध्यता छ । नेपाली सेना र सशस्त्र प्रहरीको टोलि पनि उद्धारका लागि तयारी अवस्थामा राखिएको छ ।


बनेपा, धुलिखेल, पनौतीमा पानी परेपछि रोसी खोलामा आउने बाढीले राजमार्गलाई अवरोध पार्ने गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीले काभ्रेमा पानी परेपछि आउने बाढीले सिंगो बिपी राजमार्गलाई नै अस्तव्यस्त पार्ने बताउनुभयो । राजमार्ग अबरुद्धहुँदा एम्बुलेन्स पनि रोकिने गरेका छन् । जसको कारण केही साताअघि मस्तिष्कघात भएका एक बिरामीले एम्बुलेन्समै ज्यान गुमाएका थिए ।

घन्टौ जामहुँदा सडकमै बच्चा जन्मने र बिरामीले सास्ती व्यहोरी रहेका छन् । सडक विभागले बिपी राजमार्गमा खटाएका साइट इन्चार्ज चन्द्र लामाले भ्याकुरे, फेदी र चिउरीबासमा खोलामा गेग्य्रानसहितको लेदो बाढीले एम्बुलेन्ससमेत रोकिने गरी सडक अवरुद्ध पार्ने गरेको उल्लेख गर्नुभयो । उहाँले अवरुद्ध सडक खोल्न डोजर, स्काभेटर तयारी अवस्थामा राखेको उहाँले बताउनुभयो ।


अहिले कतिबेला बन्द हुन्छ भन्ने कुराको जानकारी नै नहुने र पानी पर्नथालेपछि सडक रोकिने जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाका प्रमुख सुनिल धाँजुले बताउनुभयो ।
एक वर्षमा ५० पटकसम्म लेदो बाढी आएर सवारीसाधन जाममा परेका छन् । त्यसरी आएको लेदोमा यात्रुको उद्धार सजिलै गर्न सकिन्छ, तर गाडी भने निकाल्न सकिँदैन । दलदलमा फसेका जनावरको जस्तै हालत गाडीको हुने गरेको धाँजुले स्पष्ट पार्नुभयो ।
बाढीसँगै आएको गेग्य्रानसहितको लेदोले गाडीका टायर ‘लक’ हुने गरेको त्यसपछि बिस्तारै त्यसको सतह बढ्ने बिस्तारै ढुङ्गा, माटो र लेदोको मिश्रण ढलान गर्न तयार पारिएको बालुवा, गिट्टी र सिमेन्टको मिश्रण जस्तै भएर गाडी हलचल गर्न सक्दैनन् । असोजमा आएको बाढीले सडक नै बगाएपछि यो समस्या झनै बढेको छ । असोजमा १४ दिनपछि मात्रै एकतर्फी रुपमा बिपी राजमार्ग खुलेको थियो ।

सडकभन्दा माथिल्लो भागमा अन्धाधुन्ध डोजर प्रयोग गरेर सडक खन्दा माटो खुकुलो बनाएको र त्यसकै असरका रूपमा गेग्य्रानसहितको बाढी आएको रोसी गाउँपालिकाका पूर्वअध्यक्ष डिबी लामाले बताउनुभयो । असोजको पानीपछि त अवस्था झनै जटिल भएको र समस्याको दीर्घकालीन समाधान खोज्न ढिला भएको उहाँले उल्लेख गर्नुभयो ।

बिपी राजमार्गमा पुनः निर्माणका लागि फरक फरक स्थानमा ठेक्का लागेको छ । तर लेदोले राजमार्ग निरन्तर अवरोध पार्दा यात्रुले भने घन्टौं रोकिनु पर्ने समस्या झेल्दै आएका छन् ।

तपाईको प्रतिक्रिया