
ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान बनेपाले पाँचौं ज्ञानकुञ्ज रोड रेस शनिबार सम्पन्न भएको छ । बनेपाको तीनदोबाटोबाट शुरु भएको छात्रा तर्फको रोड रेस प्रतियोगिताको उद्घाटन ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान सञ्चालक समितिका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष सुरकृष्ण वैद्यको सभापतित्वमा नेपाली महिला क्रिकेट टोलीका कप्तान ईन्दु बर्माले उद्घाटन गर्नुभयो । तिनदोबाटोबाट सुरु भएको रोड रेस चण्डेश्वरी मन्दिर परिक्रममा गरी प्रतिष्ठानमा आएर सम्पन्न भयो । सो रेसमा श्रीकृष्ण मा.वि. भक्तपुरकी छात्रा अस्मिता गोले प्रथम भईन् । दोस्रो चरणको कार्यक्रम ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान सञ्चालक समितिका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष सुरकृष्ण वैद्यले उद्घाटन गरेका थिए । छात्रहरुको रोड रेस पनौती बसपार्कबाट शुरु भएको थियो । सोहि प्रतियोगिता पनौतीबाट बनेपा आएर समापन भएको थियो । प्रतियोगितामा छात्र तर्फ श्रीकृष्ण मा.वि.भक्तपुरबाट सन्तोष कार्कीले प्रथम स्थान हासिल गरे । श्रीकृष्ण मा.वि. भक्तपुरबाट दीपा थापा छात्रा र लालिगुराँस एकेडेमी, तारकेश्वरबाट सुभाष रावत द्धितीय र जेसिस मा.वि.भक्तपुरबाट ब्रिटिसा सिल्पकार छात्रा र श्रीकृष्ण मा.वि.भक्तपुरबाट प्रविन कार्की तेस्रो भएका थिए । प्रतियोगितामा प्रथम हुनेलाई नगद ३० हजार, प्रमाणपत्र तथा मेडल, दोस्रो हुनेलाई २० हजार प्रमाणपत्र तथा मेडल र तेस्रो हुनेलाई नगद १० हजार, प्रमाणपत्र तथा मेडल प्रदान गरिएको थियो ।

बनेपाका मेयर शान्तिरत्न शाक्य लगायतले पुरस्कार वितरण गरेका थिए । प्रतिष्ठानका प्रबन्ध निर्देशक प्रताप वैद्यले स्वागत मन्तव्य राखेको कार्यक्रममा राष्ट्रिय महिला क्रिकेटका कप्तान ईन्दु वर्मा, विद्यालय संचालक आत्माराम थापा, कलेजका सहायक कलेज प्रमुख नवराज चौलागाई, विद्यालयका सहायक प्रिन्सिपल नमराज दाहाल, ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुख रामेश्वर त्वाँति, जिल्ला ट्राफिक कार्यालयका प्रमुख सन्तोष धजु , ए.पि.एफका खेल संयोजक बिजय कुमार के.सी. तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा २ सय २० जना भन्दा बढी विद्यार्थीहरुले सहभागिता जनाएका थिए । काभ्रे, काठमाण्डौ, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक तथा सुदुरपश्चिमका विद्यार्थीहरूले समेत प्रतियोगितामा सहभागिता जनाएका थिए ।

तपाईको प्रतिक्रिया