स्रोत नखुलेको २५ लाख नगदसहित दुई युवक पक्राउ

काभ्रेको साँगा चोकमा चेकजाँचका क्रममा स्रोत नखुलेको २५ लाख रुपैयाँ नगदसहित दुई जना युवक नियन्त्रणमा परेका छन्।
प्रहरी निरीक्षक भगवान अधिकारीको कमाण्डमा ट्राफिक प्रहरी सहितको संयुक्त टोलीले २०८२ जेठ ६ गते अपराह्न ४:३० बजे साँगा चोकमा नियमित चेकजाँचको क्रममा पनौतीबाट काठमाडौंतर्फ जाँदै गरेको बा ३ ख २४१६ नम्बरको यात्रुबाहक बस रोकेर जाँच गरेको थियो। जाँचको क्रममा जिल्ला सिन्धुपाल्चोक, इन्द्रावती गाउँपालिका–१ का २१ वर्षीय राजन धमालाले बोकेको रातो जेब्रा झोलाबाट स्रोत खुल्न नसकेको पच्चिस लाख रुपैयाँ नगद फेला परेको प्रहरीले जनाएको छ। नगद बोकेका धमालासँगै यात्रामा रहेका उनका साथी जिल्ला सप्तरी, छिन्नमस्ता गाउँपालिका–६ निवासी ३८ वर्षीय संजय कुमार साहालाई समेत प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ। दुवै जनालाई तत्कालै नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय काभ्रेमा ल्याइएको र नगदको श्रोत खुलाउने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।घटना बारे प्रहरी भन्छ पच्चिस लाख रुपैयाँ नगद लिएर सार्वजनिक सवारीमा यात्रा गर्नु र स्रोत खुलाउन नसक्नु प्रहरीका लागि शंका पैदा गर्ने खालको घटना बनेको छ। प्रारम्भिक सोधपुछमा रकमको सम्बन्धमा स्पष्ट जानकारी दिन नसकेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया