नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले केही समयभित्र देशको राजनीतिक रंगमञ्चलाई फेरि माओवादीमय बनाउन सकिने बताएका छन् । पार्टी निकट तामाङ राष्ट्रिय मुक्ति मोर्चा बागमती प्रदेशको अधिवेशनलाई सम्बोधन गर्दै उनले अहिले कांग्रेस र एमाले मिलेर आफूहरुलाई जनतामा जाने वातावरण बनाइदिएको बताए ।
प्रचण्डले भने, ‘म अहिले खुसी छु, अहिले देशैभरि सक्रियता बढेको छ । सोसल मिडियामा हाम्रो हालत दुई चार महिनासम्म करिब करिब गएगुज्रेको थियो । अहिले हेर्दाहेर्दै साथीहरुले के के गर्नुभएको छ, मलाई सबै टेक्निकल त थाहा छैन, तर हामी एक नम्बरतिर उकालो लाग्दैछौँ । त्यसले जनमतलाई आकर्षित गर्दै पनि छ ।’
उनले पार्टीप्रति आकर्षण बढेको पछिल्लो सबै परिस्थितिलाई हेरेर २०८४ मा एक नम्बरको पार्टी भएरै छाड्ने दाबी गरे ।
प्रचण्डले थपे, ‘समाजवादी क्रान्तिको आधार तयार पारेरै छाड्ने हो । त्यसकै निम्ति म चाहिँ रातदिन यो पटक जसरी पनि अगाडि जाने भनेर हिँडेको छु । मलाई आशा र विश्वास छ । अहिले पनि बिहानदेखि रातिसम्म लागेको छु ।’
तपाईको प्रतिक्रिया