नीति तथा कार्यक्रम नौटंकी मात्र छ : खनाल

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले निर्वाचन नै पार्टीको लक्ष्य नहुने बताएका छन् । शनिबार (वैशाख २०) काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

आफ्नो पार्टीको लक्ष्य निर्वाचन मात्र नरहेको उनले स्पष्ट पारे । तर, निर्वाचनमा बढी सिट आफ्नो दलका प्रतिनिधिले जिते संसद्‌मा गएर नौटंकी सरकारको भन्डाफोर गर्न सकिने उनले बताए ।

“चुनाव आऊलान्, ती कार्यनीति लक्ष्यहरू हुन् । चुनाव नै हाम्रो लक्ष्य हुँदैन,” उनले भने, “तर, चुनावमा बढीभन्दा बढी हाम्रा प्रतिनिधिहरूलाई जिताउन सक्यौँ भने त्यो संसद्‌मा गएर पनि हामी यो नौटंकी सरकारको भन्डाफोर गर्न सक्छौँ ।”

बहुमत ल्याएको खण्डमा भने जनतको हितमा नीति र कार्यक्रम ल्याएर लागु गर्ने उनले उल्लेख गरे ।

सरकारले आउँदो आर्थिक वर्ष २०८२/०८३ का निम्ति प्रस्तुत गरेको नीति तथा कार्यक्रम नौटंकी मात्र भएको उनले टिप्पणी गरे । नीति तथा कार्यक्रममा बोलिने विषय बढी र गरिने कार्य कम रहेको उनको भनाइ थियो ।

“हिजो नीति र कार्यक्रम आयो, नौटंकी मात्रै छ । खालि बोलिने कुरा मात्रै छन् त्यहाँ । तर, गरिने कुराहरू बहुतै कम छन्,” उनले भने, “त्यसो हुनाले हामीले बोलिने पनि र गरिने पनि काम गर्नको लागि हामीले बहुमत ल्याउने प्रयत्न पनि गर्नुपर्छ ।”

वर्तमान संविधान पुँजीवादी भएको भन्दै उनले आँखा चिम्लिएर यसलाई समर्थन गर्न नसकिने पनि बताए । “यो संविधान पुँजीवादी संविधान हो । यो पुँजीवादलाई सम्पूर्ण कुरा आँखा चिम्लिएर समर्थन गर्न सक्दै सक्दैनौँ । यसलाई हामी आलोचनात्मक रूपमा हेर्छौैं,” उनले भने ।

पूर्वप्रधानमन्त्री खनालले राष्ट्रलाई एकताबद्ध गर्न जरुरी रहेको औँल्याए । उनले वैज्ञानिक समाजवादले मात्र नेपालमा वर्तमान समस्या समाधान गर्ने जिकिर गरे ।

तपाईको प्रतिक्रिया