
बनेपा÷काभ्रे सेवा समाजले बुद्ध जयन्तीको अवसर पारेर आगामी बैशाख २९ गते पनौतीदेखि नमोबुद्धसम्म शान्ति पदयात्रा गर्ने भएको छ । अघिल्लो बर्षजस्तै यो बर्षपनि पदयात्रा गर्ने कार्यक्रम रहेको बनेपामा पत्रकार सम्मेलन गरि आयोजकले जानकारी दिएको छ ।
काभ्रेपलाञ्चोकको ऐतिहासिक एवं पुरातात्विक नगर पनौतीबाट ऐतिहासिक तथा पर्यटकीयस्थल नमोबुद्धसम्म बृहत् विश्व शान्ति पदयात्रा गरिने भएको छ । विश्वभर शान्ति र सद्भाव फैलाउने उद्देश्यले वैशाख २९ गते पदयात्राको आयोजना गरिने भएको हो।
काभ्रे सेवा समाज,स्थानीय तह, नागरिक समाज एवं सामाजिक संस्थाको आयोजनामा पनौती र नमोबुद्धमा आन्तरिक तथा बाह्य पर्यटकको प्रवद्र्धन, हिन्दू र बौद्ध धर्मावलम्बीबीच आपसी सद्भाव विकास, स्थानीय कला–संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले विश्व सांस्कृतिक शान्ति पदयात्रा आयोजना गरिएको समाजका अध्यक्ष पुरुषोत्तम नेपालले जानकारी दिनुभयो ।
सुन्दर र प्राकृतिक सौन्दर्यले भरिएको काभ्रेको विभिन्न धार्मिक, सांस्कृतिक र ऐतिहासिक धरोहरको संरक्षण, प्रवद्र्धन गर्दै विश्वभर चिनाउन पदयात्रा महत्वपूर्ण हुने विश्वास गरिएको छ ।
काभ्रेमा जन्मिएर अन्यत्र पेसा–व्यवसाय गरेकालाई जिल्लासँग जोड्ने, तीन तहकै सरकारलाई पनौती र नमोबुद्धको विकासका लागि सहकार्य गर्ने वातावरण निर्माण गर्ने, पनौती र नमोबुद्ध दुवै क्षेत्रलाई विश्व सम्पदामा सूचीकृत गर्न पहल गर्ने, धार्मिक सर्किटका रूपमा विकास, पनौती–नमोबुद्ध ट्रेकिङ रुट निर्माणका लागि पहल गर्न शान्ति पदयात्राको आयोजना गरिएको नेपालले बताउनुभयो ।
पदयात्रा पनौतीस्थित राजकुमार महासत्वको दरबार हुँदै पनौती बजार, त्रिवेणीघाट, सुन्थान, इँट्टे, शंखुबाट ऐतिहासिक एवं पर्यटकीय नमोबुद्ध पुग्नेछ । नौ दशमलव आठ किमी दूरीको पदयात्रा साढे तीन घन्टामा पार गरिने जनाइएको छ । नमोबुद्ध शान्तिका प्रतीक गौतम बुद्धको पूर्वजन्ममा ‘राजकुमार’ले देहत्याग गरी बघिनीलाई जीवन प्रदान गरेको स्थल हो । बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछि पूर्वजन्ममा जीवन त्याग गरेको भूमिमा ‘नमोबुद्धाय नमः’बाट नमोबुद्ध नामकरण भएको पाइन्छ । किंवदन्तीअनुसार द्वापर युगका उनै राजकुमारको अस्थिपञ्जर गाडी बनाइएको चैत्य र जीवन त्याग गरेको स्थानमा विशाल गुम्बा, मन्दिर, गुम्बा र चैत्य छन्।गुम्बामा बुद्ध पाठशालासमेत रहेको छ । साथै पनौतीबाट शङ्खु उपत्यका हुँदै र पर्यटकीय नगरी धुलिखेलबाट हाइकिङ गर्दै पुग्न सकिने नमोबुद्धबाट मनोरम हिमशृङ्खलाहरू देख्न सकिन्छ।
काभ्रेपलाञ्चोक जिल्लाको समग्र विकासको लागि “काभ्रेको लागि केही गरौं” भन्ने मुल नाराका साथ २०६९ सालमा स्थापना भएको समाजले विश्व सम्पदा सुचीमा प्रस्तावित र मन्दिरहरुको सहरको रुपमा परिचित काभ्रेको पनौतीदेखि गौतमबुद्धले पाईला टेकेकोे नमोबुद्धसम्म सांस्कृतिक शान्ति पदयात्रा कार्यक्रम आयोजना गर्न लागेको हो । समाजले गत वर्ष २०८० साल असोज ६ गते
समाजका अनुसार, पदयात्रामा विभिन्न संघसंस्था, सरकारी निकाय, व्यापार व्यवसाय, नागरिक समाज, पत्रकार लगायतका क्षेत्रका प्रतिनीधिहरुसहित करिब एक हजार जना सहभागी हुने लक्ष्य राखिएको छ ।

तपाईको प्रतिक्रिया